बढी रकम लिने म्यानपावरमा विभागको छापा

31 July, 2018

वैदेशिक रोजगार विभागले कुवेत जाँदै गरेका कामदारबाट बढी शुल्क लिने एक म्यानपावर कम्पनीमा सोमबार छापा मारेको छ । कुवेत जाने कामदारबाट १ लाख ८० हजार रुपैयाँ मागेको उजुरीका आधारमा विभागको टोलीले वसुन्धारा स्थित अल स्किल इन्टरनेसनल ह्युमन रिसोर्स नामक म्यानपावर कम्पनीमा छापा मारेको हो ।

 

खाडी मुलुकहरू तथा मलेसिया जाने कामदारबाट म्यानपावरले १० हजार रुपैयाँसम्म सेवा शुल्क लिन पाउने सरकारी व्यवस्था छ । तर, उक्त म्यानपावरबाट मंगलबार बिहान ३५ जना कामदार कुवेत उड्ने कामदारबाट १ लाख ८० हजार रुपैयाँसम्म लिएको पाइएको विभागका प्रवक्ता उद्धव रिजालले जानकारी दिए । ‘कुवेत जाँदै गरेका कामदारमध्ये एकजनाको मात्रै उजुरी प्राप्त भएको छ,’ उनले भने, ‘सबै कामदार मंगलबार नै कुवेत जान पाउनेछन् ।

 

त्यसमध्ये उजुरी गर्ने कामदारलाई बढी लिएको रकम फिर्ता गर्न लगाउँछौँ । र त्यसपछि म्यानपावरको कारोबार रोक्का गरी आवश्यक थप कारबाही अगाडि बढ्छ ।’ म्यानपावरले बढी पैसा लिए पनि सबै कामदारलाई १० हजार रुपैयाँको मात्रै रसिद थमाइएको छ ।

 

विभागका अनुसार म्यानपावरबाट कागजातहरू भने नियन्त्रणमा लिइएको छ । ‘निवेदन नदिएका कामदारको हकमा भने बढी लिएको रकम फिर्ता गर्न समस्या छ,’ उनले भने, ‘पीडितको तर्फबाट निवेदन नआई हामीले कारबाहीसमेत अगाडि बढाउन मिलेन,’ प्रवक्ता रिजालले भने, ‘यद्यपि, सम्बन्धित म्यानपावरले हालसम्म गरेका सम्पूर्ण कारोबारको छानबिन हुन्छ ।’

 

उक्त म्यानपावर कम्पनीले गएको आर्थिक वर्षमा मात्रै २ हजार १ सय ९ जना कामदार वैदेशिक रोजगारीमा पठाएको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026