फस्टाउँदै सामूहिक माछापालन

23 February, 2020

सिराज खान

नेपालगञ्ज, फागुन ११ गते । रोजगारीका लागि विदेश जाने तयारीमा रहेका कोहलपुरका चार जना युवाले मिलेर सुरु गरेको सामूहिक माछापालन फस्टाउँदै गएको छ । माछापालन गरेको पहिलो वर्षमा नै उनीहरूले ३५ क्विन्टल माछा बिक्री गर्ने आशा लिएका छन् । कोहलपुर–३ मैटहवामा झन्डै एक वर्षअघि सुरु गरिएको सो सामूहिक माछापालनबाट उत्पादित माछामध्ये हालसम्म १० क्विन्टल माछा बिक्री गरिसकेको र २५ क्विन्टल माछा पोखरीमै रहेकाले झिकेर बिक्री गर्ने कार्य चलिरहेको छ । मिहिनेत गर्ने हो भने स्वदेशमै प्रशस्त आम्दानी र रोजगारी सिर्जना गर्नुका साथै राम्रो आम्दानीसमेत गर्न सकिन्छ भन्ने राम्रो उदाहरण यो सामूहिक माछापालन बनेको छ ।

साढे पाँच बिघा जग्गा भाडामा लिएर ३५ लाख रुपियाँको लगानीमा सुरु भएको शाही मत्स्यपालन फर्मले राम्रो उत्पादन गर्न सक्ने सम्भावना देखिएको छ । कोहलपुर नगरपालिका–३ मैटहवाका केशव शाहीले अन्य तीन जना स्थानीय युवा कमल बस्नेत, हलिम शाह र गोपाल अधिकारीसँंग मिलेर फर्म स्थापना गर्नुभएको हो ।

एक वर्षअघि रोजगारीका लागि विदेश जाने सोच बनाएर भिसा लिन खोजिरहनुभएका ती युवाले अहिले सामूहिक माछापालनसँंगै पोखरीको छेउमै एक रिसोर्टसमेत स्थापना गर्ने योजना बनाइरहनुभएको छ । ९० हजार भुराबाट माछापालन सुरु गरेकोे जनाउँदै शाही मत्स्यपालन फर्मका अर्का सञ्चालक कमल बस्नेतले एक वर्षमै १० क्विन्टल माछा बिक्री गर्न सफल भएको र पोखरीमा रहेका २५ क्विन्टल माछा पनि निकाल्ने काम भइरहेको बताउनुभयो ।

उहाँले माछा बिक्रीका लागि ग्राहक खोज्न कतै पनि जान नपर्ने जनाउँदै पोखरीबाट निकाल्नेबित्तिकै आफ्नै रिसोर्टमा विभिन्न परिकार बनाएर व्यवसाय चलाउने योजना बनाएका छन् । रोजगारीका लागि विदेश गएर धोका खाने नेपाली युवालाई आफ्नै देशमा कृषि व्यवसायमा लाग्न आग्रह गर्दै सामूहिक माछापालनमा सक्रिय अर्का युवा हलिम शाहले मिहिनेत गर्ने हो भने स्वदेशमै विदेशभन्दा राम्रो आम्दानी रहेको बताउनुभयो ।

विदेशमा रगत पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा कृषि कर्म गर्न सके मनग्य आम्दानी हुने शाहको भनाइ छ । हामीले कृषि पेसाबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेका छौँ, शाहले थप्नुभयोे, रोजगारीको खोजीमा विदेशिन खोज्ने युवालाई नेपालमै धेरै गर्न सकिन्छ भन्ने सुझाव दिन्छौँ ।

उहाँले हालसम्म कुनै पनि सरकारबाट कुनै पनि प्रकारको अनुदान नलिएको जनाउँदै यस वर्ष कोहलपुर नगरपालिका र कृषि ज्ञान केन्द्रमा अनुदानका लागि निवेदन दिइएको बताउनुभयो । अनुदान पाइएपछि पोखरी व्यवस्थित गर्नुका साथै माछापालनका लागि अरू पनि पोखरी थपिने योजना रहेको शाहले बताउनुभयो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024