‘फर्किने अवस्था छैन, गाउँमा व्यवस्था छैन’

6 September, 2020

हरि गौतम, वीरेन्द्र केसी, माधव अर्याल

रोजगारीका लागि भारत तथा तेस्रो मुलुक गएकाहरू बिदामा स्वदेश फर्किंदा घर बसाइ छोटो हुन्थ्यो । यस पटक अवस्था भिन्न छ । कोरोना महामारीले घर बसाइ लम्बिएको छ ।

कोरोना महामारीका कारण रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ मा मात्रै ८० जनाभन्दा बढी भारत तथा तेस्रो मुलुकबाट फर्किए । रोजगारी गुमेपछि जोखिम मोलेर आएका उनीहरू अहिले आर्थिक समस्याले पिरोलिन थालेका छन् । गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ मा कोरोनाका कारण समस्यामा परेका युवालाई २० हजारका दरले आर्थिक सहायता प्रदान गरेको थियो । त्यसमा केही मात्र समेटिए । सहयोग नपाउने युवा विकल्पको खोजीमा छन् । ‘नाकामा लकडाउन छ, नत्र भारत फर्किन हुन्थ्यो,’ स्थानीय बलबहादुर विकले भने ।

स्थानीय सरकारबाट सहयोगको आशा भए पनि काम नपाएपछि विदेशिनुको विकल्प नरहेको बताउँछन् भुमे गाउँपालिका–८ का रामबहादुर रोका । ‘भारत फर्किने अवस्था छैन, गाउँघरमै बसूँ व्यवस्था छैन ।’ भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले सबै बेरोजगारको दिगो व्यवस्थापन गर्ने गरी नीति र कार्यक्रम बनाइएको बताए । केही रकमले मात्रै स्वरोजगार नहुने भएकाले व्यवसायमा सहयोग पुग्ने गरी कृषिमा जोड दिइएको उनको भनाइ छ । स्थानीय तहको विवरणअनुसार रुकुम पूर्वमा ५ सय २४ जना भारत तथा तेस्रो मुलुकबाट फर्किएका छन् ।

अर्घाखाँचीको मालारानी–५ का सन्जु खड्का भारतको दिल्लीस्थित एक कम्पनीमा काम गर्थे । कमाइ घरमा पठाइदिएपछि मात्रै परिवारको गुजारा चल्थ्यो । कोरोनाकै कारण गत चैतमा काम बन्द भयो । एक महिना पर्खिंदा पनि काम सुरु नभएपछि उनी घर आए । ‘यति लामो समय काम बन्द हुन्छ भन्ने लागेको थिएन,’ उनले भने, ‘कमाएको पैसा सकियो । घरमा रासनपानी पनि सकिन लाग्यो ।’

शीतगंगा नगरपालिका–७ जलुकेका ६ सय ४ जना भारतमा रोजगारीमा छन् । कोरोनाका कारण काम ठप्प भएर २ सय ५० जना घर आए । त्यसमध्येका एक हुन् लालबहादुर बराल । भारतको पन्जाबमा ६ वर्षदेखि ठेलामा व्यापार गरेर उनले आमाबाबु र परिवार पाल्दै आएका आएका थिए । चैतमा पसल बन्द भएपछि श्रीमती, छोरालाई लिएर आएका उनी अहिले घरमै खाली बसिरहेका छन् । ‘जताततै ठप्प छ । खाने खर्च सकियो, गाउँघरमा निर्माणको काम भेटिए गर्ने थिएँ,’ उनले भने ।

गत चैतमा जन्मघर फर्केका पाल्पाको पूर्वखोला–१ सिलुवाका २० वर्षीय विजय विक पुनः भारत फर्कने साइत हेर्दै छन् । उनी भारतको मुम्बईमा मःम पसलमा काम गर्थे । उनी घर फर्केको ६ महिना हुन लाग्यो । ‘यहाँ कोही कामका विषयमा केही सोध्न आएको छैन,’ उनले भने, ‘कमाइ केही नभएपछि अब भारत नगई सुखै छैन ।’ सिलुवाका मात्रै २ सय बढी युवा भारतबाट फर्केका छन् । ‘परिवारसँग बसेर केही आम्दानी गर्न पाउने हो भने धेरै खुसी भएर बस्ने थियौं,’ सिलुवाकै टुकबहादुर सारुले भने, ‘अब यतै बसेर सानोतिनो काम गर्न पाए जान मन छैन ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026