विदेश जान चाहनेलाई रोक्न मिल्दैन, त्यो व्यक्तिको अधिकार हो । तर, राज्यको जिम्मेवारी हो– स्वदेशमै रहन सक्ने आकर्षक विकल्प सिर्जना गर्नु हो ।
पहिचान दिने थुप्रै सांस्कृतिक र प्राकृतिक सम्पदा भए पनि राष्ट्रको आधार भनेको शिक्षा हो । आज विश्वशक्तिमान अमेरिका आर्थिक, सामरिक हिसाबले मात्रै प्रभुत्वशाली बनेको होइन, ज्ञान उत्पादन, निर्माण र प्रसारमा उसले गरेको प्रगतिले विश्वलाई आकर्षित गर्न सफल भएको हो ।
हामी भने शिक्षा, ज्ञान र प्रज्ञानलाई मतलब नगरी केवल अतीतजीवी भएका छौं र इतिहास तथा प्राकृतिक सम्पदामा गौरव गरेर आत्मरतिमा रमाइरहेका छौं । ती प्राकृतिक सम्पदा हाम्रा गौरव त हुन् तर पौरख होइनन् । देशलाई स्वाभिमान बनाउने मुख्य आधार आत्मनिर्भरता हो । हामी आर्थिक रूपमा मात्रै होइन, शिक्षा र ज्ञानमा पनि आत्मनिर्भर हुन सकेका छैनौं । त्यसैले शिक्षाकै लागि पनि देश छाड्नेहरूको ताँती नै लागिरहेको छ । शिक्षा केवल डिग्रीको विषय होइन, राष्ट्रको भविष्य बनाउने आधार हो । गएका १ दशकमा ७ लाखभन्दा बढी नेपाली विद्यार्थी बिदेसिए । यो केवल एउटा अंक होइन, भविष्यको पलायन हो ।
जसै विद्यार्थी बिदेसिए, तिनीहरूसँगै पुँजीसमेत पलायन भइरहेको छ । ७ लाख विद्यार्थी बाहिरिँदा देशले झन्डै ६ खर्ब २५ अर्ब रुपैयाँ गुमाएको छ । यो केवल आर्थिक घाटा होइन, ‘ब्रेन ड्रेन’ को भयावह संकेत पनि हो । शिक्षा शीर्षकमा बर्सेनि बढ्दो विदेशी मुद्रा खर्च र जनशक्तिको पलायन गम्भीर चिन्ताको विषय हो । स्वदेशका विश्वविद्यालय गतिला नभएर मात्रै विद्यार्थी बिदेसिएका होइनन् । विश्वविद्यालयहरूको विश्वसनीयता कमजोर छ । पढाइ बेलामा नसकिने, परीक्षा बेलामा नहुने र नतिजा पनि समयमा नआउने दीर्घरोगले हाम्रा विश्वविद्यालयहरूलाई गाँजेको छ । पढाइभन्दा ज्यादा राजनीति बढी छ हाम्रा विश्वविद्यालयमा । त्यसका अलावा पढिसकेपछिको अवसरको सम्भावना पनि विद्यार्थीले देखेका छैनन् । यो नै पलायनको मुख्य कारण हो । स्वदेशी शिक्षाले रोजगारीको निश्चितता दिन सकेको छैन ।
राष्ट्र बैंकको तथ्यांकअनुसार शिक्षा शीर्षकमा अहिले वर्षकै १ खर्ब नाघ्न थालिसकेको छ । चालु आवको ११ महिनामै १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी रकम त्यही शीर्षकमा बिदेसिएको छ । शिक्षाका नाममा देशबाट प्रतिभा र पैसा दुवैको अभूतपूर्व पलायन भएको छ । शिक्षाको गुणस्तर उक्साउने, सीपयुक्त जनशक्ति उत्पादन गर्ने र तिनलाई खपत गर्ने उद्योग, व्यापार, सेवा क्षेत्र निर्माण गर्ने हो भने मात्रै युवालाई स्वदेशमै रोक्न सकिन्छ ।
विदेश जान चाहनेलाई रोक्न मिल्दैन, त्यो व्यक्तिको अधिकार हो । तर, राज्यको जिम्मेवारी हो– स्वदेशमै रहन सक्ने आकर्षक विकल्प सिर्जना गर्नु हो । नेपाली शिक्षालाई गुणस्तरीय, व्यावसायिक, रोजगारोन्मुख र प्रतिस्पर्धी बनाउनु जरुरी छ । त्यसैमा मात्रै समृद्ध नेपालको आधार निर्माण हुन्छ । शिक्षा पलायनको यो प्रवृत्ति अब टुलुटुलु हेर्ने होइन, तुरुन्तै नीतिगत क्रान्तिको विषय हो । आशा र अवसरको खोजीमा बिदेसिने युवाको लर्को रोक्न नसके, कुनै दिन यो देश रेमिट्यान्सले चल्ने तर युवाविहीन ‘वृद्धाश्रम’ मा परिणत नहोला भन्न सकिन्न ।