पुनः श्रमस्वीकृति लिन मेडिकल गर्नु नपर्ने

17 September, 2019

होम कार्की

पुनःश्रमस्वीकृति गर्ने कामदारले स्वास्थ्य परीक्षण गर्नु नपर्ने भएको छ । दुई वर्षको करार अवधि सकेर बिदामा आएका कामदार पुनः त्यही रोजगारदातासँग काम गर्न इच्छुक भएमा वैदेशिक रोजगार विभागबाट पुनःश्रमस्वीकृति लिनुपर्ने प्रावधान छ । वैदेशिक रोजगार विभागले पहिलो पटक श्रमस्वीकृतिको लागि मात्रै स्वास्थ्य परीक्षण अनिवार्य चाहिने स्पष्ट पारेको छ ।

बिमा नियमनकारी निकाय बिमा समितिले वैदेशिक रोजगार (म्यादी) जीवन बिमालेखको लागि कामदारको स्वास्थ्य परीक्षण रिपोर्ट पेश गर्नुपर्ने निर्णय गरेको थियो। यो निर्णय तत्कालका लागि आइतबारदेखि स्थगित गरिएको विभागका महानिर्देशक भिष्मकुमार भुसालले जानकारी दिए।

‘हामीले बिमा समितिलाई विभागसँगको छलफल नगरी यो प्रावधान लागू नगर्न अनुरोध गरिसक्यौं,’ महानिर्देशक भुसालले भने,‘विभागको अनुरोध अनुसार यो निर्णय स्थगित भएको छ।’सूर्य लाइफ इन्सुरेन्स, नेशनल लाइफ इन्सुरेन्स, युनियन लाइफ र रिलायबल नेपाल लाइफ इन्सुरेन्सले आइतबार बिमा गर्न पुगेका कामदारसँग मेडिकल रिपोर्ट मागेको थियो। रिपोर्ट नभएपछि पुनः श्रमस्वीकृति लिनका लागि वैदेशिक रोजगार कार्यालयमा पुगेका कामदारहरु फर्किएका थिए।

भुसालले बिमा गर्ने बेलामा मेडिकलको रिपोर्ट माग्ने कार्य स्थगित भइसकेको बताए। वैदेशिक रोजगार ऐन र नियमावलीले पुनः श्रमस्वीकृतिमा जाने कामदारले स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधान उल्लेख गरेको छैन। दुई वर्षे पुनःश्रमस्वीकृतिमा जाने कामदारले एक वर्षको थप बिमा गर्नुपर्ने प्रावधान छ। पुनः श्रमस्वीकृति अवधी भने दुई वर्षको मात्रै हुन्छ। विभिन्न उमेर समूहका कामदारको बिमा शुल्क फरक छ। १८ देखि ३५ वर्ष उमेर समूह कामदारले ३९ सय २४ रुपैयाँ, ३६ देखि ५० वर्षकाले ५ हजार ३ सय ३० र ५१ देखि ६४ वर्षकाले ९ हजार ९ सय ७० रुपैयाँ बिामा शुल्क बुझाउनुपर्छ। स्वास्थ्य परीक्षणका लागि कतार र युएईको ४५ सय, साउदी, बहराइन र कुवेतको ७ हजार ५ सय रुपैयाँ र मलेसियाको ७ हजार रुपैयाँ तोकिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026