पार्टीको सुझावअनुसार राजदूत शेर्पा स्वदेश फर्किन्

31 Jan, 2019

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा अष्ट्रेलियाबाट फर्किएकी छिन्। उनका चालकले मानव बेचबिखनको आरोप लगायपछि परराष्ट्र मन्त्रालयको आग्रहमा नेपाल आएकी उनी केही समयअघि मात्र अष्ट्रेलिया गएकी थिइन्।

परराष्ट्र मन्त्रालयले उनीमाथि लागेको आरोप छानबिन गर्न मन्त्रालयका सहसचिव मणी भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले रिपोर्ट मन्त्रालयलाई बुझाएपछि उनी अष्ट्रेलिया फर्किएकी थिइन्। उक्त रिपोर्ट नेपाल कम्युनिस्ट पार्टीको शीर्ष नेतृत्वसमक्ष पुगेपछि शेर्पा अष्ट्रेलिया गएकी थिइन्। उनी आफ्ना सर–समान लिन र विदा हुन अष्ट्रेलिया गएको नेकपा स्रोत बताउँछ। ‘उहाँ पार्टी नेतृत्वको सल्लाहअनुसार नै अष्ट्रेलिया जानुभएको हो, फर्किएपछि सम्भवत राजिनामा गर्नुहुन्छ होला,’ स्रोतले भन्यो।

तत्कालीन माओवादी केन्द्रका तर्फबाट राजदुतमा नियुक्त शेर्पा विवादमा तानिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उनलाई राजीनामा दिन सुझाव दिएको स्रोत बताउँछ। ‘मन्त्रिपरिषद्ले उहाँलाई कारबाही गर्दा नराम्रो सन्देश जाने भएकाले आफै राजीनामा दिन पार्टी नेतृत्वले सुझाव दिएकाले उहाँ अष्ट्रेलियाबाट विदा भएर स्वदेश फर्किनु भएको हो,’ स्रोतले भन्यो। राजनीतिक कोटामा राजदूत भएकी शेर्पालाई कारबाही गर्दा त्यसको नकारात्मक प्रभाव पर्ने भन्दै ‘फेस सेभिङ’ को अवसर दिएको स्रोत बताउँछ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024