पाँच सय किलोमटिर पार गरेर घर पुग्नै लाग्दा फर्काइए मजदुर

23 April, 2020

मनीष दुवाडी 

धादिङ : लामो लकडाउनका कारण खानबस्नकै समस्या आउन थालेपछि उद्योग र स्थानीय तहको समन्वयमा घर पठाइएका मजदुरलाई फेरि उद्योगमै फर्काइएको छ । धादिङको धुनीबेसीबाट दाङ जान पाँच सय किलोमटिर पार गरेर दाङ र बाँकेको सिमानामा पर्ने शिव खोला पुगेका ६२ जना मजदुरलाई स्थानीय प्रशासनले शिव खोलाबाट फेरि धुनीबेसीमै फर्काइदिएको हो । 

लामो लकडाउनका कारण उद्योग बन्द हुँदा खानबस्नकै समस्या भएपछि घर हिडेका मजदुरलाई बाँके प्रशासनले घर छेउबाटै फर्काइदिएपछि अहिले झनै समस्या उत्पन्न भएको छ । लकडाउनपछि धादिङको धुनीबेसीमा रहेको सत्य–सत्य इँट्टा उद्योग बन्द हुँदा त्यहाँ कार्यरत नेपाली र भारतीय मजदुर कामविहीन भएका थिए । लकडाउन दोस्रो साता थपिएपछि हिँड्न सक्ने मजदुरहरु हिँडेरै घर फर्किए पनि बालबच्चा भएका र हिँड्न नसक्ने नेपाली र भारतीय मजदुरहरु उद्योगमै रहेका थिए ।

लकडाउनको अवधि लम्बिँदै जाँदा थप समस्या आउन सक्ने भएको र मजदुरहरुले पनि आफूलाई घरसम्म पुग्ने वातावरण बनाइदिन अनुरोध गरिरहँदा धुनीबेसी नगरपालिकासँगको समन्वयमा उद्योगले नै ट्रक रिजर्भ गरी पठाइएको मजदुरहरुलाई घर पुग्ने बेलामा त्यहाँका स्थानीय प्रशासनले फर्काइदिएको हो ।

सत्य सत्य इँट्टा उद्योगका मालिक रविन भुजेलले भने, ‘२६ दिन उद्योगमै बिताएपछि उनीहरुलाई खानाको समस्या भयो र घर जाने निधो गरे ।  हामीहरुले नै पहल गरेर चामल लिन नेपालगन्ज जान लागेको ट्रकलाई आग्रह गरेर ६२ जना मजदुर सोमबार दाङका लागि पठाइएको हो ।’ 

‘६ जिल्ला पार गरी दाङको सीमा शिव खोलामा पुगेपछि प्रशासनले प्रवेश दिएन । सोमबार रातभर त्यही बसे । पाँच सय किलोमिटर पार गरेर घर छेउमै पुगेका उनीहरुलाई भोलिपल्ट प्रशासनले त्यही ट्रकमा धादिङ फर्काइदियो’, ट्रक चालक विक्रम लामाले भने, ‘शिव खोलामा पुगेपछि एक रात सवैजनालाई यही ट्रकमा राखियो, भोलिपल्ट अघि जान नपाइने भनेपछि यहीँ फर्काएर ल्याइदिएँ ।’  

घर पुग्ने बेलामा त्यहाँको प्रशासनले विनाकारण फिर्ता पठाइदिएपछि अहिले ती मजदुर उद्योगमै रहेका छन् । उनीहरुलाई अहिले उद्योगले नै खानेबस्ने ब्यवस्था मिलाइरहेको छ । ट्रकमा अधिकांश बालबालिका र वृद्धवृद्धा थिए । बाँके प्रशासनले भने गाडीमा अधिकांस भारतीय नागरिक भएको र पहिला समन्वय नगरी आएकाले फिर्ता गरिएको बताएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने, ‘गाडीमा अधिकांश भारतीय नागरिक रहेछन्, धादिङमा रहेका भारतीय मजदुरलाई के कारणले त्यहाँबाट पठाउन पर्‍यो, मसँग कुनै समन्वय भएकै छैन, जिल्ला प्रशासन कार्यलय धादिङले पनि पास जारी गरेको मलाई केही थाहा छैन, बाँके आइपुगेपछि प्रश्न खडा भएकाले उतै फर्काइएको हो ।’ 

जसोतसो आफ्नो घर छेउ पुगिसकेका मजदुरहरुलाइ शंका लागेको खण्डमा क्वारेन्टाइनमा राखेर मात्रै घर पठाउनुपर्नेमा जवरजस्ती उद्योगमै फिर्ता गरिएको प्रति मजदुरहरु आक्रोशित बनेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024