पहिलो पटक व्यक्तिगत श्रम स्वीकृति लिएका २० जना कामदार मलेसिया पुगे

21 Jan, 2019

कामदार जान ८ महिनाभन्दा बढी बन्द रहेको मलेसियामा पहिलो पटक ब्यक्तिगत श्रम स्वीकृति लिएर २० जना युवा क्वालालाम्पुर पुगेका छन् । मलेसियाको प्रतिष्ठित सुरुङ कम्पनीमा काम गर्न उनीहरु त्यहाँ पुगेका हुन।

कुमार लामा, सन्तबहादुर लामा, श्यामकुमार लामा, कर्णबहादुर स्याङबो, हरिलाल चौधरी थारु, घुरन प्रसाद चौधरी, राजेश कुमार चौधरी, रामनारायण चौधरी, शिव नारायण चौधरी लगायतका २० जना श्रम स्वीकृति लिएर मलेसिया पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ। उनीहरुको भिसा प्रक्रिया भने मलेसिया भिएलएन नेपालबाट नै भएको हो।

मलेसिया भिलएनएन नेपाललाई श्रम मन्त्रालयले खारेज गरेको घोषणा गरेको थियो। तर नेपालस्थित मलेसिया दुतावासले परराष्ट्रलाई पत्र लेख्दै मलेसिया भिलएनएन नेपालबाट नै कामदार पठाउन आग्रह गरेको थियो।

म्यानपावर अर्थात संस्थागत रुपमा जान लागेका कामदारलाई भने वैदेशिक रोजगार विभागले श्रम स्वीकृति अझै दिएको छैन्। वैदेशिक रोजगार विभागले भने नेपालस्थित मलेसियन दुताबासबाट सोझै भिसा लिएकाहरुलाई श्रमस्वीकृति दिएको जनाएको छ।

उनीहरु सबैले मलेसिया भिएलएन नेपालबाट नै प्रक्रिया अघि बढाएर मलेसिया गएका हुन।

सरकारले गत जेठ २ देखि मलेसिया जाने नयाँ श्रमिकको श्रम स्वीकृति रोकेको थियो । गत कार्तिक १२ गते दुई देशबीच द्धिपक्षीय श्रम समझदारी भएपनि श्रमस्वीकृति प्रक्रिया सुचारु भएको थिएन ।

लामो समयदेखि बन्द रहेको मलेसिया खुलाउन नेपाल बैदेशिक रोजगार व्यवसायी संघले माग गर्दे आएको थियो। ‘पहिलो पटक ब्यक्तिगत श्रम स्वीकृतिमा कामदार मलेसियन उडेका छन्, यो इतिहासमा पहिलो पटक हो,’ संघका अध्यक्ष रोहन गुरुङले भने, मलेसियामा व्यक्ति श्रम स्वीकृतिमा कामदार पठाउने नै गरिएको छैन, कि संस्थागत रुपमा पठाइन्छ कि त पुन श्रम स्वीकृति लिएर पठाइन्छ।’

साउदी अरव र मलेसियामा व्यक्तिगत श्रम स्वीकृतिमा कामदार पठाएको रेकर्ड नै विभागसँग छैन।

व्यक्तिगत रुपमा विदेश कामदार पठाउनका लागि नेपाली नियोगबाट प्रमाणीकरण गनुृपर्ने र एकाघरको व्यक्ति हुनुपर्ने प्रावधान छ।

विदेश भएका भएका आफन्तले नाता प्रमाणिकरणका लागि कागजात पेश गरेपछि नेपाली नियोगको स्वीकृति पछि त्यहाँ जान पाइन्छ।

‘श्रम मन्त्रालयले के आधारमा कुन ऐन नियम टेकेर मलेसिया जान ब्यक्तिगत श्रम स्वीकृति दियो, त्यसको जवाफ श्रम मन्त्रीले दिनुपर्छ,’संघका अध्यक्ष गुरुङले भने।

गुरुङले मलेसिया भिएलएन नेपालबाट भिसा प्रक्रिया अघि बढाएर उनीहरुलाई मलेसिया पठाएको प्रति आपत्ति प्रकट गरे।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024