पर्यटन मजदूर सोध्दैछन्, ‘सरकार ! हाम्रो दुःखको सुनुवाइ खोई?’

1 July, 2020

लकडाउन प्रभाव

काठमाडौं–कोरोना भाइरसका कारण पर्यटन व्यवसाय प्रभावित बनेपछि पीडामा परेका पर्यटन मजदूरहरू आन्दोलित भएका छन्। उनीहरूले फेसबुकमार्फत शालीन ढंगले आन्दोलन सुरु गरेका हुन्।

उनीहरूले आफ्नो प्रोफाइल फोटोको फ्रेममा ‘सरकार हाम्रो दुःखको सुनवाइ खोई ? ‘पर्यटन मजदूरहरूलाई भोकै झुण्डिएर मर भनेको हो?’ भन्ने प्रश्न सोधेका छन्। चर्चित पर्वतारोही संजिव गुरुङले बुधबार सुरु गरेको अभियानमा ऐक्यबद्धता जनाउनेहरूको संख्या बढिरहेको छ।

‘सरकारले कोरोना नियन्त्रण गरेर पर्यटकीय चहलपहल बढाउन कुनै पहल गरेन’, गुरुङले भने, ‘हामीले पर्यटकीय सिजन फागुन–चैतमा पनि काम पाएनौं। यस्तै हो भने आउँदो सिजन असोज–कात्तिकमा पनि काम पाउने संभावना देखिन्न। त्यसैले सरकारलाई दबाब दिन हामीले फेसबुक क्याम्पेन सुरु गरेका हौं।’

पर्यटनकर्मीहरूले असोजकात्तिकको कमाइले जाडो महिना र फागुन–चैतको कमाइले बर्खा महिना धान्दै आएका थिए। यसपाला कोरोनाका फागुनदेखि नै उनीहरूको कमाइ ठप्प छ। त्यसैले उनीहरू मानसिक तनावमा छन्।

‘यो बर्खामा ऋणधन गरेर जसोतसो धानौंला’, गुरुङले भने, ‘आउँदो सिजन (असोज–कात्तिक)मा पनि पर्यटक आएनन भने हामी कसरी बाँच्ने ?’

नेपालको पर्यटन उद्योगमा लाखौं मजदूरहरू आश्रित छन्। कोभिड–१९ का कारण उनीहरूको रोजीरोटी खोसिएको छ। भविष्य पनि अनिश्चित देखिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026