पक्राउ पर्दैनन् ‘दलाल’

9 September, 2016

सीमा नाकाबाट भारत प्रवेश गर्न लागेका महिलालाई रोक्न र बेचिएकाको उद्धारका तथ्यांक आउने गरे पनि बेचबिखनमा संलग्न दलाल पक्राउ पर्न सकेका छैनन्। पशुपतिनगरस्थित माइती नेपालले यस्ता तथ्यांक पर्याप्त सार्वजनिक गर्ने गरे पनि बिक्रीमा संलग्नलाई कानुनी दायारमा ल्याएको संख्या भने न्यून छ। 

 

खुला सिमानाको फाइदा उठाउँदै पूर्वी नाकाबाट मानव ओसारपसार बढ्दै गइरहेको तथ्यांक भेटिए पनि नियन्त्रणमा लागेको प्रहरी प्रशासन र माइती नेपाल थप चलाख हुनुपर्ने सरोकारवालाको भनाइ छ।

 

खुला सिमाना, सीमापारि मिल्दो भाषा, संस्कृति र रहनसहनजस्ता कारण जिल्लाका पूर्वीनाका मानव ओसरपसारका लागि प्रयोग हुँदै आएका छन्। यही अवस्थाका कारण दलाल पहिचान गर्न नसकिएको सम्बन्धितको तर्क छ। मानव बेचबिखनमा पुरुषभन्दा महिला बढी सक्रिय भएको एक तथ्यांकले देखाएको छ। उनीहरूले सोझा, गरिब र ग्रामीण क्षेत्रका महिलालाई रोजगारी लगाइदिने, धेरै पैसा कमाइने बहानामा भारत पुर्‍याउने गरेको माइती नेपालको तथ्यांक छ। ‘ओसारपसारमा संलग्न चनाखो हुने र सिकार हुने पनि विभिन्न बहाना गर्ने भएकाले दोषीसम्म पुग्न समस्या भएको हो,’ पशुपतिनगरस्थित माइती नेपालका कोअर्डिनेटर होम दुलालले बताए।

 

रोजगारी लगाइदिने प्रलोभनमा पार्ने, नक्कली विवाह गर्ने लगायतका कारणले महिलालाई सीमा पार गराउँछन्। सामाजिक सञ्जाल र सञ्चार माध्यमको गलत प्रयोगबाट पनि महिलालाई सीमा कटाउने क्रम बढेको छ।

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026