काठमाडौं : नेपाल र सिसेल्सबीच द्विपक्षीय श्रम समझदारी हुने भएको छ। सिसेल्सले पठाएको प्रस्ताव नेपालले स्वीकार गरेको हो।
भेटका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपालका लागि गणतन्त्र सिसेल्सका राजदूत थोमस सेल्भी पिल्लेलाई द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि धन्यबाद दिए। नेपाली कामदार सिसेल्समा वैदेशिक रोजगारीका लागि पठाउन नेपाल सकारात्मक रहेको मन्त्री श्रेष्ठले बताए।
मन्त्री श्रेष्ठले द्विपक्षीय श्रम समझदारी (एमओयू) का लागि तयारी अघि बढाइने बताए। सिसेल्स हेर्ने नेपाली राजदुतावास (प्रिटोरिया) दक्षिण अफ्रिकाको राय बमोजिम जेल सुरक्षाको लागि मात्रै नभएर प्रहरी सेवा र नीजि क्षेत्रमा हुने रोजगारी समेतलाई समेटेर द्विपक्षीय श्रम समझदारी अघि बढाउनुपर्ने मन्त्री श्रेष्ठले बताए।
मन्त्री श्रेष्ठले नेपालबाट वार्षिक कति कामदार लैजाने ? कस्तो खालको सीप तालिम आवश्यक पर्दछ ? न्युनतम योग्यता र भाषागत क्षमताका साथै न्यूनतम पारिश्रमिक लगायत सेवा सुविधाबारे छलफल गरी द्विपक्षीय श्रम समझदारी (एमओयू) गर्न सकिने बताए।
कामदार छनोट, रोजगारी र स्वदेश फिर्तीलगायत विषयमा दुबै देशका उच्च पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गरी टुंगो लगाउन उपयुक्त हुने उनको भनाइ थियो।
राजदूत फिल्लेले सिसेल्स सरकार सुरक्षागार्ड बाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजान इच्छुक रहेको बताए। उनले खुला र उदार अर्थव्यवस्था भएको सिसेल्स नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुनुसक्ने भन्दै सिसेल्स जान श्रमिकले आर्थिक लगानी गर्नु नपर्ने बताए।