नेपाली शिक्षक कतारी जेलमा

10 May, 2013

अदालतमा उपस्थित गराइयो

होम कार्की

 

कतारको एक निम्न माध्यमिक विद्यालयमा पढाउँदै आएका नेपाली शिक्षक दोर्जे गुरुङ यतिबेला फन्दामा छन् ।

कतार एकेडेमीमा रसायनशास्त्रका शिक्षक गुरुङका सहकर्मीहरूलाई उद्धृत गर्दै दोहा न्युजले जनाएअनुसार विद्यार्थीहरूलाई पढाउने क्रममा एक दिन उनको सामान्य विवाद भयो । ‘अपि्रल २२ मा तीन विद्यार्थीले दोर्जेलाई चाइनिज हिरो ज्याकिच्यान भन्दै जिस्क्याए’ दोहा न्युजले लेखेको छ, ‘अपि्रल २३ मा लन्चमा बस्दा एउटा विद्यार्थीले कुममा हात राखेर नाकमा औंलाले घोचिदिएपछि दोर्जेले कस्तो नसुहाउने काम गरेको भन्दै हप्काएका थिए ।’ त्यसपछि रिसाएका विद्यार्थीले ‘धार्मिक अनादर’को आरोप लगाइदिएपछि उनी फन्दामा परेका हुन् । उक्त आरोपमा उजुरी परेपछि प्रहरीले पक्राउ गरी उनलाई बिहीबार तल्लो अदालतमा उपस्थित गराएको छ ।

 

दोर्जे विरुद्ध उनकै १२ वर्षे विद्यार्थीले उजुरी दिएका हुन् । एकेडेमीले समेत उनलाई सेवाबाट हटाइसकेको छ । ‘अपि्रल २४ मा विद्यालय व्यवस्थापनसँग बैठक बस्यो । भोलिपल्ट सबै घटना विवरण बुझाए,’ दोहा न्युजले भनेको छ, ‘साप्ताहिक बिदापछिको आइतबार (२८ अप्रिल) मा विद्यालयले उनलाई सेवाबाट निष्कासन गरिदियो ।’ त्यसको सातापछि गुरुङ पक्राउ परेका हुन् । कतार एकेडेमीले भने यसबारे अनुसन्धान भइरहेकाले तत्काल प्रतिक्रिया दिन उचित नहुने जनाएको छ ।

 

दोहा न्युजकी सञ्चारकर्मी सहबिना खतरीले उनलाई हतकडी लगाइएको अवस्थामा बिहीबार बिहान अदालतमा देखेकी थिइन् । गुरुङले भने अभियोग झुटो रहेको बताउँदै आएको उनका साथीले जनाएका छन् । अभियोग पुष्टि भए गुरुङले ७ वर्षसम्मको जेल सजाय भोग्नुपर्ने छ ।

दोहास्थित नेपाली दूतावासले दोर्जेबारे विस्तृत रूपमा बुझ्ने जनाएको छ । ‘दोर्जेलाई पक्राउ गरी राखिएकोबारे तीन दिनअघि मात्रै जानकारी आएको हो,’ कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माले कान्तिपुरसँग भनिन्, ‘विस्तृतमा बुझ्न र भेट्न यहाँको परराष्ट्र मन्त्रालयलाई चिठी लेख्दै छौं ।’

 

दोर्जेका साथीलाई उद्धृत गर्दै राजदूत शर्माले बताएअनुसार विद्यालयमा कुरा मिलेर उनी शुक्रबार (आज) स्वदेश फर्कने तयारीमा थिए । तर विद्यार्थीले उजुरी हालेपछि पक्राउ परे । २४ वर्षदेखि देशबाहिर रहेर विद्यालय तहमा पढाउँदै आएका गुरुङ दुई वर्षदेखि यहाँ थिए । उनको दुईवर्षे करार अवधि जुलाईमा सकिँदै थियो । यसअघि उनले अस्टे्रलिया, बेलायत र अमेरिकामा पढाएका थिए ।

 

गुरुङले आफ्नो पक्षमा लडिदिने वकिल राखेका छैनन् । उनलाई शिक्षकहरूले सहयोग गर्ने जनाएका छन् । ‘हामी उनको अवस्थाप्रति निकै चासो राख्छौं, उनी निकै कमजोर भएको महसुस गरेका छौं,’ उनका मित्र सेलयान पि्रन्सले भनेका छन्, ‘उनको पक्षमा लड्न हामी वकिलको व्यवस्था गरिदिन्छौं ।’

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026