नेपालीलाई सर्बियामा रोजगारीको प्रलोभन, नक्कली भिसा देखाएर दिल्लीमा ठगी

28 August, 2025

दिल्लीमा नेपाली नागरिकलाई निशानामा पारी ठगीको धन्दा चलाइरहेको एक समूहलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतीय सञ्चार माध्यम आज तक अनुसार दिल्लीमा रहेको अपराध महाशाखाले विशेष कारबाहीको क्रममा नक्कली भिसा र्‍याकेटको पर्दाफास गरेको छ। प्रहरी अधिकारीहरूका अनुसार यो र्‍याकेटले नेपाली नागरिकहरूलाई सर्बियामा जागिर लगाइदिने आश्वासन दिएर फसाएको थियो।

यस र्‍याकेटमा संलग्न दुई अभियुक्त पक्राउ परेका छन् भने दुई जना अझै फरार रहेका छन्। अपराध शाखाले जुन महिनादेखि यो अपरेशन चलाएको थियो र अनुसन्धानपछि र्‍याकेटको पर्दाफास गरेको थियो। पक्राउ परेका अभियुक्तले नेपाली नागरिकहरूलाई आकर्षक जागिर दिने आश्वासन दिएर विदेश जान भिसा र अन्य कागजातहरू तयार पार्ने नाममा ठगी गरेको प्रहरीले जनाएको छ। तर उक्त गिरोहको जालमा कति नेपाली फसेका छन् भन्नेबारे भने खुलाइएको छैन।

यस गिरोहका सदस्यहरूले सर्बियामा रोजगारी दिने नाममा मानिसहरूबाट ठूलो रकम असुल्ने गर्थे। पीडितहरूलाई उनीहरूको जागिर प्रक्रिया पूरा भएको आश्वासन दिइन्थ्यो। नक्कली भिसा देखाइन्थ्यो।

फरार अभियुक्तलाई चाँडै पक्राउ गरिने प्रहरीले जनाएको छ। रोजगारी र भिसासम्बन्धी कुनै पनि प्रकारको मामिलामा बढी सतर्क रहन प्रहरीले अपील गरेको छ। यस घटनामा अपराध महाशाखाले थप अनुसन्धान गरिरहेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024