काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालीलाई नेपालको रोजगारीमा संलग्न गराउन श्रम बजारको माग बमोजिमको जनशक्ति तयार गर्नुपर्नेमा जोड दिएका छन्।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले बिहीबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री भण्डारीले देशभित्रै रोजगारी सृजना गर्न सबैले गम्भीरतापूर्वक कार्य गर्नुपर्ने बताए। देशभित्र आन्तरिक रोजगारीको प्रचुर सम्भावनाहरू रहेको भन्दै उनले व्यवहारिक र प्रविधिमा आधारित ज्ञान सीपको प्रवर्द्धन गर्नुपर्ने धारणा राखे।
मन्त्री भण्डारीले मुलुकभित्र सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्न मन्त्रालयले आन्तरिक रोजगार दशक लागू गर्न खोजिरहेको उल्लेख गरे।
कार्यक्रममा आन्तरिक रोजगारी सृजना गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्न, बजार र मागमा आधारित सीपमूलक तालिमहरूको पाठ्यक्रम, समयावधि लगायतका विषयमा तीन वटा कार्यपत्रहरू प्रस्तुत गरिएको थियो।