नेपालीलाई भिजिट भिसा दिन बन्दगरेसँगै कामदार भिसामा पनि कडाई गर्दै युएई

19 September, 2025

संयुक्त अरब इमिरेट्स(युएई)ले यतिबेला नेपालीहरूलाई भिजिट अर्थात् पर्यटक भिसा दिन बन्द गरेको छ।

यसबारे कुनै आधिकारिक जानकारी नगराए पनि दुबईले नेपालीहरूलाई सोमबारदेखि भिजिट भिसा अर्थात् घुम्न वा भ्रमणमा जाने भिसा दिन छाडेको हो।

विभिन्न ट्राभल एजेन्सीहरूले भिजिटका लागि आवेदन दिएका सबै नेपालीको भिसा अस्वीकृत भएको बताएका छन्।

योसँगै कामदार भिसामा पनि युएईले कडाई गरेको म्यानपावर व्यवसायीहरूले बताएका छन्। कामदार भिसामा कडाई गरेको विषयमा पनि औपचारिक जानकारी भने नआएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरूङले जानकारी दिए।

नेपालमा भएको पछिल्लो आन्दोलनका क्रममा थुप्रै कैदीबन्दी भागेको र जसले गर्दा अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू पनि युएई छिर्ने हुन् कि भन्ने असुरक्षा चिन्ताले युएईले कडाई गरेको हुनसक्ने उनले बताए।

‘आधिकारिक रूपमा जानकारी आएको छैन तर अब वर्किङ भिसामा युएई जानेहरूलाई पनि पुलिस रिपोर्ट अनिवार्य गर्ने भन्ने अनौपचारिक कुरा सुनिएको छ,’ उनले भने।

युएई नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुक हो। यो मुलुकमा निर्माण, सेवा लगायत विभिन्न क्षेत्रमा ठूलो संख्यामा नेपाली श्रमिकहरू जाने गरेका छन्। हाल त्यहाँ पाँच लाखभन्दा धेरै नेपाली श्रमिकहरू कार्यरत रहेको अनुमान छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024