नेपालले मलेसियालाई भन्यो: नेपाली कामदारको अतिरिक्त शुल्क तत्काल हटाउनू

29 May, 2018

नेपाल सरकारले नेपाली नागरिकसँग लिइने गरिएको अतिरिक्त शुल्क हटाउन मलेसिया सरकारसँग आग्रह गरेको छ । 

 

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत अहमद फेडिल इस्मेललाई मन्त्रालयमा बोलाई रोजगारमा मलेसिया जाने कामदारसँग मनोमानी लिइएको अतिरिक्त शुल्क हटाउन आग्रह गरेका हुन्। 

 

मलेसिया जाने कामदारबाट बायोमेट्रिक, भिएलएन, ओएससी, जिएससी र माइग्रामका नाममा लिइँदै आएको अतिरिक्त शुल्क खारेज गर्ने सरकारको निर्णयपछि कामदार र व्यवसायीमा अन्योल देखिएका बेला मन्त्री ज्ञवालीले त्यस्ता शुल्क तत्काल हटाउन आग्रह गरेका हुन् । त्यस प्रकारका अवाञ्छित, गैरकानूनी र एकपक्षीय शुल्कले नेपाली कामदारले झण्डै १८ हजार रकम तिर्दै आएका छन् । 

 

मन्त्री ज्ञवालीले नेपाल सरकारले निःशुल्क प्रवेशाज्ञा र निःशुल्क टिकटमा कामदार पठाउन प्राथमिकता दिएको बताउँदै मलेसिया जाने कामदारमाथि लादिएको अतिरिक्त शुल्क न्यायोचित नभएकाले यसलाई तत्काल सम्बोधनका लागि मलेसिया सरकारलाई सन्देश दिन आग्रह गरेका हुन् । 

 

नेपाल र मलेसियाबीच श्रम सम्झौता गरेर यस समस्याको समाधान गर्न पनि भेटमा कुराकानी भएको मन्त्रालयका सहसचिव भृगु ढुंगानाले जानकारी दिए । 

 

कार्यबाहक राजदूत इस्मेलले मलेसियाले अन्य मुलुकबाट कामदार ल्याउँदा पनि सोही प्रकारको प्रक्रिया भएको अवगत गराउँदै आफ्नो मुलुकमा नयाँ सरकार आएकाले त्यहाँ सन्देश पुर्‍याउने बताएका थिए ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारमाथि लिइएको त्यस्तो शुल्क खारेज गर्न परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्न अनुरोध गरेको थियो । रासस

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024