कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले नेपालमै बसेर काम गर्न युवा वर्गलाई आग्रह गरेका छन्।
महेन्द्ररत्न क्याम्पस ताहचलमा बुधबार आयोजित नवआगुन्त विद्यार्थीलाई स्वागत तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै कानुनमन्त्री तामाङले देश निर्माणमा युवाको महत्वपूर्ण योगदान रहनुपर्ने बताएका हुन् । सरकारले देशलाई समृद्ध बनाउने प्रमुख लक्ष्यका साथ कार्य गरिरहेको भन्दै उनले विदेशिएका लाखौं युवाहरुलाई आगामी ५ वर्षभित्र स्वदेश फर्काउने दाबी गरे ।
सरकारले मंगलबार संसद्मा प्रस्तुत गरेको बजेटमा वैदेशिक रोजगारीबाट फर्केकालाई उद्यमशील कामका लागि ऋण, अनुदान दिने व्यवस्था गरिएकोले युवाहरु स्वदेश फर्कने आशा व्यक्त गरे ।
कार्यक्रममा अखिल (क्रान्तिकारी)का उपमहासचिव जीपी मैनालीले सरकार ठीक ढंगले अगाडि बढ्न विद्यार्थीहरुको खबरदारी आवश्यक रहेकोमा जोड दिए । उनले सरकारका राम्रा काममा विद्यार्थीले सधैं सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।