निश्चित म्यानपावर व्यवसायीलाई लाभ हुने निर्णय हुँदैन : श्रम मन्त्रालय

26 May, 2025

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया, इजरायल, जापान, कोरियालगायत मुलुकमा नेपाली कामदार पठाउने निश्चित म्यानपावर व्यवसायीलाई फाइदा पुग्नेगरी कुनै निर्णय नभएको जनाएको छ । मन्त्रालयले अनावश्यक अफवाह फैलाउने सञ्चारमाध्यमको अनुगमन गरी कारबाही गर्न प्रेस काउन्सिलको ध्यानाकर्षण गराएको पनि जनाएको छ ।

मलेसिया, इजरायल, जापान, कोरियालगायत मुलुकमा नेपाली कामदार पठाउने निश्चित म्यानपावर व्यवसायीहरुलाई फाइदा पुग्नेगरी सिन्डिकेट गर्न लागिएको भनी विभिन्न सञ्चारमाध्यमबाट अफवाह फैलाइएकोप्रति श्रम मन्त्रालयको गम्भीर ध्यानाकर्षण जनाएको हो । श्रम मन्त्रालयले ‘भ्रमपूर्ण एवम् आधारहीन विषयको पछाडि नलाग्नुहुन सम्बद्ध सबै पक्ष सरोकार पक्षलाई अनुरोध’ गरेको छ ।

‘कुनै निश्चित व्यवसायीलाई लाभ हुने गरी कुनै पनि निर्णय नभएको र भविष्यमा समेत यस प्रकारको निर्णय नहुने व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ,’ आइतबार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘यस्ता अफवाह र भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने व्यक्ति/ समूहको पहिचान भएमा यस मन्त्रालयलाई तुरुन्तै आधिकारिक माध्यमबाट जानकारी गराइदिनुहुन हार्दिक अनुरोध छ ।’

मन्त्रालयले अनावश्यक अफवाह सूचना सम्प्रेषण गर्ने व्यक्ति, समूहमाथि कारबाही गर्न गृह मन्त्रालयमार्फत नेपाल प्रहरी र भ्रामक सूचना एवं समाचार प्रसारण गर्ने गराउने सञ्चारमाध्यमलाई प्रचलित कानुनबमोजिम अनुसन्धान र कारबाहीका लागि प्रेस काउन्सिललाई लेखि पठाइएको जनाएको छ ।

मन्त्रालयले नेपाली श्रमिकको हक र अधिकार सुनिश्चित गर्ने र वैदेशिक रोजगारलाई विश्वसनीय, सरल र सुलभ बनाउने सन्दर्भमा मन्त्रालयले नीतिगत सुधार गर्दै आएको जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024