निर्वाचनकै मुखमा काम खोज्न भारत प्रस्थान

16 November, 2022

महादेव अवस्थी

महेन्द्रनगर : कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का लक्ष्मण चौधरी एकबिहानै कञ्चनपुरको गड्डाचौकी नाकामा भेटिए। ‘भोट हालेर हामीलाई के हुन्छ ? नेता बन्छन्। मन्त्री बन्छन्। रोजगारी उनकै आसेपासेले पाउँछन्। भाइभतिजा भर्ति गर्छन्। हाम्रो गुजारा मजदुरी नगरे चल्दैन’, चौधरीले नेताप्रति आक्रोस पोखे, ‘निर्वाचनको बेला मात्रै घर आएर यो गर्छु, त्यो गर्छु भन्छन्। अरु बेला जनताको मतलब हुँदैन। त्यसैले चुनावसुनाव जे पो आओस्।’ निर्वाचनकै मुखमा उनीसँगै गाउँका अन्य १९ जना युवा समूह बनाएर रोजगारीका लागि भारतको बद्रीनाथ गएका छन्।

गड्डाचौकी नाकामै भेटिएका बेलौरी नगरपालिका –५ का धर्मा चौधरीमा पनि निर्वाचन प्रति उत्साही थिएनन्। चाडपर्व मनाएर रोजगारीका लागि पुनःभारत तिर लागेका चौधरीले भने, ‘घरमा भेटघाट भयो। खेतीपाति पनि गरियो। काम खोज्न भारत जाँदैछौं। बद्रीनाथमा गाउँका २५/३० जना मजदुरी गर्छौ।’ घरको आर्थिक अवस्था कमजोर भएकाले सानैमा पढाइ छोडेर रोजगारीके लागि भारत पसेको उनले बताए। ‘भोट हाल्न मन त थियो, तर त्यो भोटले पेट त पालिने होइन। कमाएको रकम पनि चाडवाडमा सकियो। कमाउन हिँडियो’, उनले यर्थाथता दर्शाए।

उनी पनि चुनावका बेला मात्र स्वरोजगारी र रोजगारीका कुरा गर्ने नेतादेखि रुस्ट छन्। भन्छन्, ‘नेपालमा कामै पाइँदैन। पाए ज्याला कम हुन्छ। त्यो पनि समयमा पाइँदैन। त्यसैले भारत जाने बाध्यता छ।’ बेलौरीकै साहेब चौधरीले दुःख भए पनि भारतमा कमाइ गरेर घरपरिवार चलेको बताए। दाुर्चलाको शैल्यशिखर नगरपालिकाका–२ का करबिर सिंह धामीले पनि भोट हालेर नेता बाहेक अरुलाई कुनै फाइदा नहुने भन्दै भारतीयको बताए। नयाँ दिल्लीमा १० वर्षदेखि काम गर्दै आएका छन्। यसअघि उनले तीन पटक मतदान गरिसके।

‘२०६४ साल, २०७० र २०७४ सालमा गरी तीन पटक भोट हाले। नेता जिताए। मैले भोट दिएका नेताहरूले जिते पनि। मन्त्री पनि भए। तर हाम्रा समस्या जस्तका तस्तै छन। गाउँ आउदा उनीहरूका लागि हेलिकप्टर हुन्छ, हाम्रो चुलोमा चामल छैन। चुनावका लागि गास काटेर किन बस्ने ?’ करबीरले प्रश्न गरे। चाडपर्व मनाउन असोजमा घर फर्केका उनी खेतीपाती सकेर भारततिर लागेका हुन्।

निर्वाचनका बेला दलहरूका घोषणा पत्रमा रोजगारीका कुरा हुनु तर ती घोषणापत्र अनुसारको काम नहुनुले युवाहरूमा वितिष्णा बढीरहेको शिक्षक कविराज भट्ट बताउछन। भन्छन, ‘दलका नेताहरूले आश्वासन मात्रै दिने काम गरे। त्यस कारण जनतामा दलहरूप्रति वितृष्णा बढ्यो।’

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दलका उम्मेदवारहरू स्वदेशमै रोजगारी दिने एजेन्डासहित मतदाताको घरदैलोमा पुगेका छन्। सबै दलहरूका घोषणा–पत्रमा स्वदेशमै लाखौ युवाहरूलाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026