नाकामा रोकिएन नेपालीसँग पैसा असुली : सामानको पोका हेरेर भारतीय भन्सार कर्मचारीले व्यक्तिपिच्छे असुल्छ दुई सय भारुसम्म

9 February, 2026

Tej Raj Bhatta

भारतमा रोजगारी गरेर स्वदेश फर्कने नेपालीसँग गौरीफन्टा सीमानाकामा गरिने अवैध असुली रोकिएको छैन । नाकामा खटिएका भारतीय भन्सार कर्मचारीले सामान ल्याएकोलगायत बहानामा नेपालीसँग पैसा असुल्ने गरेका छन् । स्वदेश फर्कनेको ठुलो भिड हुने चाडबाडका वेला अवैध असुलीको विषय अरू वेलाभन्दा बढी उठ्ने गरेको छ ।

भारतको नयाँदिल्लीबाट फर्किएका कैलालीको गोदावरी नगरपालिका बाँस्कोटाका खेमराज ओझाले भारतीय भन्सार कर्मचारीलाई सय रुपैयाँ बुझाएर आएको बताए । ‘घरपरिवारका लागि लुगाकपडा ल्याएको थिएँ, सामानको पैसा लाग्छ भन्यो,’ त्रिनगर नाकामा भेटिएका उनले भने, ‘हामीसँगै आएका पाँचजना थियौँ, सबैले सय–सय भारु बुझाएर आयौँ ।’ भारतको राजधानी नयाँदिल्लीमा होटेलमा काम गर्ने उनले पारिवारिक कामले आफू घर फर्कन लागेको बताए । भारतीय भन्सार कर्मचारीले सामान ल्याएर फर्कने नेपालीलाई सडकछेउमा सिसा र आल्मुनियमबाट बनाएको अस्थायी संरचनामा बोलाएर पैसा असुल्ने गरेका छन् । उनीहरूले सामानको पोका हेरेर डेढ–दुई सय भारु माग्ने गरेको घर फर्कने नेपालीहरू बताउँछन् ।

कञ्चनपुरको बेलडाँडीका राजेन्द्र रोकाया आफूले ओढ्ने, ओछ्याउने र घरमा छोराछोरीका लागि लुगाफाटो लिएर फर्किंदै थिए । सुटकेस र झोला गरी सामानको तीनवटा पोका ल्याएका उनले भारतीय भन्सार कर्मचारीले सय रुपैयाँ असुलेको गुनासो गरे । ‘लाइनमा अरूसँगै सरासर आउँदै थिएँ, सामान देखेर भित्र बोलायो र पैसा लाग्छ भन्यो,’ शुक्रबार बिहान त्रिनगर नाकामा घर जान सवारी कुरिरहेका खत्रीले भने, ‘पैसा नदिउँ भने सामान राखिदेलान् भन्ने डर ।’

भारतबाट फर्कनेले प्रायः केही न केही सामान ल्याएर आएका हुन्छन् । त्यही सामान ल्याएको बहानामा नाकामा भारतीय भन्सार कर्मचारीले अवैध रूपमा पैसा असुल गर्दै आएका छन् । घर फर्कने कतिपय नेपाली भने पैसा नतिरेरै पनि आउने गरेका छन् । भारत सुदूरपश्चिमेलीका लागि रोजगारीको प्रमुख गन्तव्य हो । सरकारी निकायसँग यकिन तथ्यांक छैन, तर यहाँबाट हजारौँको संख्यामा नेपाली भारतीय रोजगारीमा छन् । सुदूरपश्चिमको प्रमुख नाका त्रिनगर र गड्डाचौकीमा चाडबाडका वेला स्वदेश फर्कनेको बढी भिड हुने गरे पनि रोजगारीका लागि भारत जाने र भारतबाट फर्कने दैनिकजसो हुन्छन् ।

भारतको दिल्लीबाटै फर्किएका कञ्चनपुरको बेलौरीका भीमबहादुर खत्रीले नाकामा पैसा बुझाउनुपर्ने बाध्यता अझै उस्तै रहेको बताए । रोजगारीका लागि भारत आवतजावत गरिरहने उनले सोझासाझा नेपालीबाट नाकामा रकम असुल्ने काम भइरहे पनि नेपाली सुरक्षाकर्मीले केही गर्न नसकेको गुनासो गरे । ‘पारि सधैँ त्यस्तै हो, सामान देख्यो कि पैसा माग्छन्,’ दिल्लीमा निजी सवारीचालक रहेका उनले भने, ‘घर आउँदा सबैले लुगाफाटो आदि केही न केही ल्याएकै हुन्छन् । त्यही देखाएर पैसा माग्छन् ।’ भनसुन गर्न सक्नेहरू भने पैसा नदिएर पनि आउने गर्छन् ।

नाकामा वारि सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका हुन्छन् । सशस्त्र प्रहरीको प्रस्तावित त्रिनगर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन कार्कीले भने पारि पैसा असुलेको विषयमा नेपालीबाट कुनै गुनासो नआएको बताए । उनका अनुसार अहिले दैनिक डेढ–दुई सय नेपाली घर फर्किरहेका छन् । ‘विवाह, व्रतबन्धका समय र चुनाव आउन लागेकाले पनि होला अहिले भारतबाट घर फर्कने नेपालीको संख्या बढेको छ,’ कार्कीले भने, ‘पारि पैसा असुलेको गुनासो भने आएको छैन । अप्ठेरो परेकालाई सहजीकरण गरिरहेका हुन्छौँ ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024