धागो उद्योगमा काम गर्थिन्, अहिले चलाउँछिन् कोरियामा रेस्टुरेन्ट

26 February, 2026

Nirmala Ghimire

रोजगारीका लागि सुरूमा दक्षिण कोरिया पुग्दा पार्वती तामाङ मोक्तानको काम ऊनको धागो बनाउने कम्पनीमा थियो। कम्पनी बुसानमा थियो।

त्यहाँ दैनिक ८ देखि ९ घन्टा काम गर्दा कमाइ ३० हजार रूपैयाँ जस्तो हुन्थ्यो। त्यो पनि समयमा पाइँदैन थियो।

‘काम मेसिन चलाउने थियो। असाध्यै गाह्रो थियो,’ पार्वतीले भनिन्, ‘खटे अनुसार कमाइ थिएन।’

कमाइ कम भएकैले उनले केही समयमै काम छाडिन्। त्यस बेला काम छाड्दा अवैध भइन्थ्यो। त्यसपछि केही समय अवैधानिक हैसियतमै रहेर काम गरिन्।

यो उनको २७ वर्षअघिको दुःखको कथा हो।

कोरियामा उनले १० वर्ष निरन्तर दुःख गरिन्। त्यसपछि नेपाल फर्किन्।

नेपाल आएपछि कोरियामा हुँदै चिनजान भएका व्यक्तिसँग बिहे गरिन्। अनि श्रीमान–श्रीमती नै व्यावसायिक भिसामा फेरि कोरिया गए।

१७ वर्ष भयो, पार्वती र उनका श्रीमान दक्षिण कोरियामा आफै व्यवसाय गरिरहेका छन्।

उनीहरू अहिले सउलमा ‘नाना’ नामको रेस्टुरेन्ट चलाउँछन्। स्टुरेन्टले नेपाली र भारतीय परिकार पस्किन्छ। नेपाली ढिँडो, गुन्द्रुकदेखि बिरयानी, मःम, चाउमिन, लाफिङ, नान, करी जस्ता परिकार यहाँ पाइन्छ।

रेस्टुरेन्टमा एक पटकमा ६० जनासम्म अटाउँछन्। बिहान र बेलुका विद्यार्थीको भीडले रेस्टुरेन्ट भरिन्छ। ग्राहक नेपाली मात्र होइन, कोरियन र भारतीय पनि हुन्छन्। धेरैजसो भने नेपाली नै हुने पार्वतीले बताइन्।

‘नेपालमै भए जसरी स्वाद लिएर खान नेपालीहरू आउँछन्। धेरैजसो बिहान र बेलुकाको खाना खान विद्यार्थीहरू आउँछन्। मरमसला, पकाउने तरिका सबै नेपालको जस्तै छ। नेपाली स्वाद पस्किरहेका छौं,’ उनले भनिन्।

नेपाली परिकारका लागि आवश्यक धेरै सामग्री कोरियाली बजारमै पाइने उनले बताइन्। पिठो, जिम्बु, मरमसला जस्ता कतिपय सामग्रीहरू भने नेपाल आएको बेलामा समेत लैजान्छन्।

‘केही सामग्री नेपालबाट ल्याउँदा सस्तो पर्छ। नेपाल आउने, जाने भइरहेकाले आफै पनि ल्याउँछौं,’ उनले थपिन्।

उनीहरूले रेस्टुरेन्टमा एक करोड रूपैयाँ लगानी गरेका छन्। लगानी अनुसार आम्दानी चित्तबुझ्दो रहेको पार्वती बताउँछिन्।

‘व्यापार भन्ने कुरा आज धेरै भयो भने भोलि नहुन पनि सक्छ। अहिलेसम्म राम्रै छ,’ उनले भनिन्।

अहिले रेस्टुरेन्टमा ४ जनाले नियमित रोजगारी पाएका छन्। बिदाको दिन ग्राहक धेरै हुने भएकाले काम पनि धेरै हुन्छ। त्यसैले बिदाका दिन ६ जना खट्छन्।

‘म पनि धेरै समय रेस्टुरेन्टलाई दिन्छु। केही समय समाजसेवाका लागि पनि छुट्ट्याउँछु,’ उनले भनिन्।

पार्वती गैरआवासीय नेपाली संघ दक्षिण कोरियाकी अध्यक्ष पनि हुन्। एनआरएनएमा आवद्ध भएर समाज सेवा लगायत काममा पनि उनी सक्रिय छिन्।

व्यवसायसँगै त्यहाँ समस्या परेका नेपालीहरूलाई आफूले सक्दो सहयोग गरिरहेको उनको भनाइ छ।

‘यहाँ पछिल्ला वर्षमा नेपालीहरूमा डिप्रेसन, आत्महत्या लगायत समस्या बढिरहेका छन्। नेपालीहरू ठगिने घटना पनि उस्तै छन्। हामीले यसका लागि सचेतनाका कार्यक्रम गरिरहेका छौं। बेला बेला निःशुल्क स्वास्थ्य शिविर पनि चलाउँछौं,’ उनले भनिन्।

दक्षिण कोरियामा रोजगारीका लागि पुग्ने नेपालीहरूको संख्या निकै ठूलो छ। रोजगार अनुमति प्रणाली इपिएसमार्फत दक्षिण कोरिया जान युवाहरू निकै आकर्षित हुने गरेका छन्।

दक्षिण कोरियाले सन् २००७ देखि इपिएस प्रणालीमार्फत नेपाली श्रमिकहरू लैजाँदै आएको छ। हालसम्म इपिएसमार्फत उत्पादन, कृषि, पानीजहाज निर्माण लगायत क्षेत्रमा एक लाख १० हजारभन्दा धेरै युवाहरू रोजगारीका लागि पुगिसकेका छन्।

पछिल्लो समय पढाइको सिलसिलामा पुग्नेहरू समेत बढ्दै गएको उनले बताइन्। दक्षिण कोरिया पुगेका युवाहरू काम तथा पढाइपछि ज्ञान, सीप तथा पुँजी बोकेर नेपाल नै फर्किन्छन्।

पार्वतीले पनि अब केही वर्ष त्यहाँ काम गरेर नेपाल फर्किने र केही गर्ने सोचेकी छन्।

‘नेपालमा पनि अहिले यहाँ आफूले गरिरहेको जस्तै काम गर्न सकिन्छ कि भन्ने छ। तर के गर्ने भन्ने ठ्याक्कै योजना बनाइसकेका छैनौं,’ पार्वतीले भनिन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024