दैनिक सयौंको संख्यामा नेपालबाट कस्तो जनशक्ति विदेश गइरहेको छ?

6 August, 2025

न कुनै युद्ध, न कुनै विपत्ति। पछिल्लो समय देश छाड्नेको लर्को लागेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सयौंले नेपाल छाडिरहेका छन्। मुलुकभित्र बसेर रोजीरोटी नचल्ने भएपछि बाध्यताले रोजगारीका लागि देश छाड्नेको संख्या ठूलो रहेको छ।

देशमै सम्भावना नदेखेर विदेशिने क्रम बढ्दा मुलुकले ठूलो युवा श्रम शक्ति गुमाइरहेको छ। वैदेशिक रोजगार विभागकाअनुसार हरेक दिन विदेशी रहेको जनशक्तिमध्ये अदक्ष मात्रै छैन् दक्ष जनशक्तिको संख्या पनि ठूलो रहेको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २ सय ६६ जना विदेशिएका थिए। जसमध्ये ९ सय ३७ जना धेरै दक्ष नेपालीहरू विदेशिएका छन्। त्यसमा महिला भन्दा पुरूष धेरै छन्। धेरै दक्ष भएर विदेशीका पुरूषको संख्या ६ सय ९२ रहेको छ भने महिलाको त्यस्तो संख्या २४५ रहेको छ।

त्यस्तै व्यावसायिक रूपमा जानेहरूको संख्या ४ हजार ३ सय ७२ रहेको छ। त्यसरी जसमध्ये पुरूष ३ हजार ७ सय ४९ पुरूष छन् भने ६ सय २३ जना महिला छन्।

विदेश जाने अर्धदक्ष जनशक्तिको संख्या पनि ठूलो रहेको छ। वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार ९९ हजार ७ सय २३ जना अर्धदक्ष नेपाली एक वर्षको बीचमा श्रम स्वीकृति लिएर विदेश गएका छन्। जसमध्ये ९० हजार भन्दा बढी पुरूष छन् भने अरू महिला छन्।

यस्तै, सीप सिकेर विदेश जानेको संख्या पनि ठूलो रहेको छ। एक वर्षमा ५ लाख ६ हजार भन्दा बढी युवा जनशक्ति सीप सिकेर विदेश गएको छ। जसमध्ये पुरूषको संख्या हेर्ने हो भने ४ लाख ४७ हजार भन्दा बढी छ भने महिलाको संख्या ५९ हजार ७ सय ५४ रहेको विभागको तथ्यांकले देखाउँछ। यस्तै सीप नसिकी विदेश जाने नेपालीको संख्या पनि ठूलो रहेको छ।

वैदेशिक रोजगार विभागकाअनुसार एकै वर्षमा २२ लाख ७ हजार भन्दा बढी नेपाली श्रम स्वीकृति लिएर सीप नै नसकी विदेशिएका छन्। सीप नसिकेर विदेशिनेमध्ये पुरूषको संख्या ज्यादा छ। विभागको तथ्यांक अनुसार २ लाख २ हजारभन्दा बढी पुरूषहरू सीप नसिकी विदेश गएको देखिन्छ भने २४ हजारभन्दा बढी महिलाहरू सीप बिनै विदेशिएका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांक हेर्ने हो भने वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात बढेको छ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस्तो अनुपात १९.६३ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा गएकामध्ये २७.०९ प्रतिशत अदक्ष श्रमिक रहेका छन्।

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सीप सिकाएर पठाउने बताइरहँदा सीप नसिकी जानेहरूको संख्या घट्नुको साटो बढ्नु चिन्ताको विषय बनेको छ।

विभागकाअनुसार गत आव २०८१/८२ मा नेपालीहरू वैधानिक माध्यमबाट १५१ मुलुकमा रोजगारीमा गएका छन्। युएई, साउदी अरब, कतार, कुवेत र मलेसियामा सबैभन्दा बढी श्रमिक जाँदा १२ वटा मुलुकमा एक जनामात्र श्रमिक गएका छन्।

वैदेशिक रोजगार विभागसँग विदेशिनेको तथ्यांक रहने गरे पनि कति विदेश गएर उतै बसे कति फर्किए भन्ने यकिन तथ्यांक भने छैन। यो एक वर्षको अवधिमा खाडी मुलुकसहित युरोपेली मुलुकहरूमा समेत नेपालीहरू धेरै गएको विभागको तथ्यांकले देखाएको छ। -न्युन एजेन्सी नेपाली

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024