दुःखको दशैँ: दैनिक हजार विदेशिँदै

13 October, 2018

‘नजिकिएको दशैँ नमनाइकन विदेसिन कसलाई मन लाग्छ र ! बाध्य भएर हिँडेको’ यो भनिरहँदा चितवनका भरत पाण्डेको आँखा रसाइरहेका थिए र अनुहार निकै मलिन देखिन्थ्यो । उहाँ रोजगारीका लागि कतार जान लाग्नुभएको हो । पाण्डेले भन्नुभयो, छ महिना पहिले विदेश जानका लागि तयारी गरेको हुँ आज भोलिभन्दा भन्दै दशैँमा आएर मात्रै भिसा र टिकट भयो, के गर्ने नजाउँ भन्ने पनि भएन, घर बनाउँदा र विवाह गर्दा लागेको ऋण कसरी तिर्ने ?

उहाँ मात्रै होइन, घरपरिवारसँग दशैँ मनाएर रमाउने बेलामा पसिना बगाउन साउदी अरब जानुपर्दा म्याग्दीका कैलाश मगरलाई कम्ती पीडा भएको छैन तर के गर्नु विकल्प केही भेटिएन ।

चाडवाडको मुखमा जन्मथलो र आफन्त छाडेर परदेसिन मन त कहाँ थियो र आमाको मुटु अपरेसन गर्दा लागेको दुई लाख ऋणले टाउको खाइसक्यो अध्यारो अनुहार पारेर उहाँले भन्नुभयो, अब यता केही गरौँ भनेको जागिर भेटिएन, चार/पाँच वर्ष उता पसिना बगायो भने त ऋण तिर्न सकिएला र केही बचाउन सकियो भने व्यापार व्यवसाय गरौँला भन्ने आश हो ।

यसरी दशैँको मुखमा आफन्तलाई रुवाउँदै अमिलो मन बनाएर विदेसिने नेपालीको सङ्ख्या दैनिक एक हजारको हाराहारीमा छ । यस्तै श्रमस्वीकृति लिनेको सङ्ख्या भने दैनिक एक हजार बढी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । अन्य समयमा यो सङ्ख्या दैनिक एक हजार २०० देखि एक हजार ५०० ले श्रम स्वीकृति लिने गरेको विभागले जनाएको छ ।

विभागको यो तथ्याङ्कले चाडबाडमा पनि धेरै नेपाली मनमा पीडा बोकेर विदेसिनेको कुरालाई थप पुष्टि गरेको छ । मान्यजनको आशिर्वाद थाप्ने बेलामा परदेशमा कामको भारीले थिच्ने भएपछि विमानस्थलबाट बाहिरिने र उनीहरूका आफन्तको खुसी हराएको छ । त्यो मात्रै होइन, धेरैजना घरका मूली नै विदेश हिँडेपछि घर नै शून्य भएका छन् ।

परदेशबाट चाडपर्व मान्न फर्केका नेपालीका कारण विमानस्थलमा दशैँको रौनक झनै बढेको छ तर दशैँको मुखैमा आफन्तसँग विछोडिएर परदेश जानेको लर्कोले विमानस्थलको अर्को कुनामा खुसी हराएको देख्दा खल्लो महसुस हुन्छ । दशैँमा विदेश जानेको पीडा त छँदैछ बिदा नपाएर दशैँ मनाउन नपाएकाको पीडा पनि कम दर्दनाक छैन । बाग्लुङका किरण सुवेदीले फेसबुकमार्फत पाँच वर्षदेखि आफन्त र परिवारसँग बसेर दशैँ मनाउन नसेको पीडा व्यक्त गर्नुभयो ।

बजारमा किनमेल गर्नेको घुइँचो बढेको छ, भने टाढा भएका आफन्त पनि एकैठाउँ जुट्न थालेका छन् । विमानस्थल र बसपार्कमा गाउँघर जाने यात्रुको चहलपहल छ तर आयआर्जनको कुनै मेसो नहुँदा दशैँको मुखमा आफन्तको साथ छाडेर श्रम गर्न परदेशी भूमिमा जाने धेरै युवालाई भने त्यो रौनकले छुन सकेको छैन ।

पढाइ र सीप अनुसारको जागिर नपाउँदा चाडबाडको मुखमा पनि परिवारको साथ छाडेर विदेश जानुपरेको भन्दै विमानस्थलमा सरकारलाई गाली गर्ने र आक्रोश पोख्नेको पनि कमी छैन । सिरानीमा डिग्रीपासको प्रमाणपत्र राखेर कामको खोजीमा विदेसिने धेरै छन् तर सरकार टुलुटुलु हेरेर मात्र बसेको छ, अस्ट्रेलिया जान लागेका स्याङ्जाका विकास अधिकारीले भन्नुभयो, देशको अवस्था यस्तै छ, विदेश नजाउँ भनेर अड्डी कस्ने अवस्था नै छैन । सरकारले देशमा रोजगारीको अवस्था सिर्जना नगरेसम्म परिवारमा जस्तोसुकै पीडा र दुःख भए पनि परदेश जानुपर्ने बाध्यताको अन्त्य नहुने अधिकारीको भनाइ छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024