गत शनिबार इजरायलको राजधानी तेल अभिबमा आयोजित विशाल आमसभामा करिब ५० हजार मानिसको उपस्थिति थियो । त्यही भीडबीच हमासले बन्धन बनाएका विपिन जोशीकी बहिनी पुष्पाले नेपाली भाषामै चिच्याउँदै प्रश्न गरिन्, ‘दाजु तँ कहाँ छस् ?’ उनको चिच्चाहट र पीडाभरिएको प्रश्नले त्यहाँ उपस्थित नेपाली मात्र होइन, हजारौं इजरायली नागरिकको आँखाबाट आँसु झर्यो । पुष्पाको पीडाले हजारौं अपरिचितलाई पनि भाइबहिनीको सम्झनामा भक्कानिन बाध्य तुल्यायो ।
दाजु–बहिनीको सम्बन्ध केवल रगतको मात्र होइन, आत्माको नाता हो । यो नाता जीवनका हरेक मोडमा साथ, आशा र भरोसाको प्रतीक हो । तर, कहिलेकाहीँ जीवनले यस्तो खेल खेल्छ, जसले यो नातालाई पीडा, चिन्ता र अनिश्चितताको अन्धकारमा फसाउँछ । आज यस्तै पीडा, आक्रोश र प्रतीक्षाको यात्रामा हिँडिरहेकी छन् एक बहिनी, पुष्पा जोशी । अनिश्चिततामा बाँच्न बाध्य पुष्पा उनै नेपाली युवा विपिन जोशीकी बहिनी हुन् जसलाई हमासले बन्धक बनाएर राखेको दुइ वर्ष बितिसक्यो ।
हमास आक्रमण र विपिनको हराई
सन् २०२३ को अक्टोबर ७ तारिख । हमास नामक आतंककारी समूहले इजरायलमा अभूतपूर्व आक्रमण गर्यो । हजारौं रकेट, सीमापारको घुसपैठ, निर्दोष नागरिकमाथिको हिंसा र बन्धक बनाउने कार्यले विश्वलाई स्तब्ध तुल्यायो । उक्त दिन इजरायलका लागि मात्र नभई विश्वकै लागि एक कालो दिन बन्न पुग्यो । त्यसै दिन कृषि शिक्षा लिँदै श्रम पनि गर्दै इजरायलमा रहेका नेपाली विद्यार्थीमध्ये १७ जना हमासको आक्रमणले प्रत्यक्ष प्रभावित भए ।
यीमध्ये १० जना नेपालीले ज्यान गुमाए भने धेरै घाइते भए । यिनैमध्येका २२ वर्षीय युवक विपिन जोशी हमासद्वारा बन्धक बनाएर गाजा पट्टितर्फ तानिए । उक्त घटना केवल एक युवाको अपहरण मात्र थिएन, यसले नेपाल–इजरायल सम्बन्धमा दुःखद इतिहाससमेत कोरिदियो । विपिनको परिवार मात्र होइन, सम्पूर्ण नेपाली समाज यो पीडामा बाँधियो ।
त्यसपछिका दिनमा अन्तर्राष्ट्रिय स्तरमा ठूलो उद्धार प्रयासहरू सुरु भए । अमेरिकी, फ्रान्सेली, थाइल्यान्ड, अर्जेन्टिनालगायत विभिन्न देशका बन्धकहरूलाई क्रमशः हमासले रिहा गर्यो । केही देशका सरकारहरूले प्रत्यक्ष वार्ता गरे भने केहीले तेस्रो देशमार्फत दबाब सिर्जना गरे । दुर्भाग्यबस यस प्रयासमा नेपाल कमजोर सावित रह्यो । धेरै देशका नागरिक फर्किए, तर विपिन अझै फर्किएनन् । करिब दुई वर्ष बितिसक्दा पनि उनको अवस्थाबारे ठोस जानकारी सार्वजनिक भएको छैन ।
इजरायल–इरान युद्धले थप जटिलता
हमास आक्रमणपछि मात्र होइन, त्यसको केही महिनापछि इजरायल र इरानबीचको तनाव युद्धस्तरमा पुग्यो । एकातिर गाजामा हमास, अर्कोतिर हिजबुल्लाह । त्यसपछाडि इरान । यसले मध्यपूर्वलाई झन् अस्थिर बनायो । इजरायलले इरानमाथि प्रत्यक्ष हवाई आक्रमण गर्यो । इरानले पनि मिसाइल र ड्रोन आक्रमणमार्फत प्रतिकार गर्यो ।
यस्ता घटनाले केवल इजरायल–इरान सम्बन्ध मात्र होइन, गाजामा रहेका बन्धकहरूको जीवनलाई अझ संकटपूर्ण बनायो । विपिन जस्ता बन्धकहरू अझै जोखिममा परे । हरेक दिन युद्धको समाचार सुन्दा विपिनको आमा–बहिनी र सम्पूर्ण नेपाली समाज अझ त्रसित बन्दै गयो ।
इजरायलमा रहेका नेपालीको अवस्था
हमास आक्रमणको समयमा इजरायलमा करिब ६ हजारभन्दा बढी नेपाली थिए । कृषिक्षेत्र, हेरचाह र अन्य श्रममा संलग्न यी नेपाली अचानक युद्धबीचमा फसे । केहीलाई तत्काल उद्धार गरियो, केहीलाई सुरक्षित क्षेत्रमा सारियो । १० जना युवाको मृत्यु, विपिनको अपहरण, घाइतेहरूको उपचार यी सबै घटनाले नेपाली समुदायलाई हल्लाइदियो । त्यतिबेलादेखि इजरायलमा रहेका नेपालीमाझ डर, असुरक्षा तर एकताको भावना जाग्यो । स्थानीय समाज र इजरायली नागरिकले पनि नेपालीप्रति सहानुभूति देखाए ।
दाजुको खोजीमा पुष्पाको संघर्षमय यात्रा
विपिनकी बहिनी पुष्पा आमा पद्मा जोशीसहित हाल इजरायलमा छिन् । सहरका सडक–सडक, सरकारका कार्यालय, मानवअधिकार निकाय, अन्तर्राष्ट्रिय संस्थान, जहाँ–जहाँ सम्भव छ, उनी पुगेकी छन् । उनका आँखा सधैं राता हुन्छन् । हातमा दाजुको फोटो, मोबाइलमा स्मृतिहरू सम्हालेकी उनको मुखमा एउटै प्रश्न झुन्डिएको छ, ‘मेरो दाजु कहाँ छ ?’ हृदयमा निराशा भए पनि दाजु फर्काउने दृढता पनि उत्तिकै छ उनमा । null
घर–आँगनको धुलोमा खेल्दै हुर्किए यी दाजु–बहिनी ! अहिले त्यही घर आँगनमा चेली र माइती जोड्ने पर्वहरू तीज, तिहार आउँदा दाजुको अभावले निकै पोल्छ उनी र उनको परिवारलाई । मन त फेरि पनि घरको आँगनमा रमाउँदै दाजुसँगै बस्न चाहान्छ, तर दूरी र परिस्थितिले उनको रहर अधुरो बनाइदिएको छ । दाजुलाई सम्झिएर पुष्पाको आँखाबाट बग्ने नुनिलो आँसुले नै वास्तविक पीडा बोकेको छ । जसलाई कैयौं पुस्तक र लेखले पनि प्रष्ट्याउन सक्दैनन् । उनले इजरायल सरकार, विभिन्न मानवअधिकारवादी निकाय र स्थानीय प्रशासनसँग अनगिन्ती पटक याचना गरिसकिन् । प्रत्येक निवेदन, हरेक बैठकमा उनका भिजेका आँखाले केवल पीडा होइन, उनी आफ्ना दाजुका लागि जीवनभरको माया र आशा संगालेर हिँडिरहेकी भान गराउँछ ।
पुष्पा इजरायलका राष्ट्रपतिको अफिससम्म पुगिन् । राष्ट्रपति इसाक हर्जोगसँग भेटेर विपिनलाई सकुसल फर्काउन उनले अपिल गरिन् । राष्ट्रपतिसँगको भेटमा उनले आफ्नो दाजुको हराएको कलिलो उमेर, सम्पूर्ण परिवारजनको पीडा र प्रिय दाजुप्रति आफ्नो माया बयान गरिन् । उनका आँखाबाट झरेका आँसु, अन्तरमनको चिच्चाहट र भित्री पीडाले राष्ट्रपतिको हृदय छोयो ।
राष्ट्रपतिले पुष्पाको साहस र दाजुप्रतिको प्रेम देखेर उनलाई हौसला दिए । इजरायल सरकारको संवेदनशीलता, सहयोग र सक्रियताले पुष्पाको मनमा पनि दाजु भेटिने आशा जगाएको छ । यसअघि पनि उनी र उनकी आमाले क्याबिनेट मन्त्रीदेखि विभिन्न मानवीय संघसंस्था, नेपाली दूतावाससम्म पुगेर गुहार मागिसकेका छन् । मागिरहेका छन्, आँसु बगाइरहेका छन् । अहिले नेपालमा तीज पर्व नजिकिँदै छ । यस पर्वमा चेली माइतीको आँगनमा रमाउने गर्छन् । केही समयपछि तिहार आउँछ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायु र सुख–समृद्धिको कामना गर्छन् । तर, पुष्पाका लागि यी चाडहरू केवल पीडा बनेका छन् । दुई वर्षदेखि दाजुको खोजीका लागि पहल गरिदिन भन्दै उनी ठाउँ–ठाउँमा भौतारिरहेकी छन् ।
तीजमा नाच्नुको सट्टा, विदेशमा दाजु खोज्दै हिँडिरहेकी छन् । गत तिहारमा दाजुको निधारमा टीका लगाउनुको सट्टा उनले केवल फोटो अघि दीप बालेर आँसु झारिरहेकी थिइन् । घरको आँगनमा खेल्दै हुर्किएका यी दाजु–बहिनी अहिले एक आपसमा निकै टाढा भएका छन् । आत्माको नाताले बाँधिएको सम्बन्ध केवल आँसुमा बगिरहेको छ ।null
छैन ठोस रणनीतिक पहल
हमास आक्रमणपछि सुरुमा केही समय त नेपाल सरकार सुस्त रह्यो । पहिलो चरणमा मृतकहरूको उद्धार र घाइतेको उपचारमा ध्यान केन्द्रित गरियो । तर बन्धक बनेका विपिनबारे ढिलो मात्र चासो देखाइयो ।
हाल आएर नेपाल सरकारले इजरायलसँग कूटनीतिक संवाद बढाएको छ । राजदूत, मन्त्री, प्रधानमन्त्रीले इजरायली उच्च तहसँग कुरा गरेका छन् । हालै इजरायलका राष्ट्रपतिको अफिसमा पुष्पा र आमाले शिष्टाचार भेट गर्दा नेपाल सरकारको पनि उपस्थिति थियो । तर, यथार्थ के हो भने, नेपालको पहल अन्तर्राष्ट्रिय स्तरमा अझै कमजोर छ । सीमित स्रोत, कूटनीतिक प्रभावको कमी र ठोस रणनीतिक पहल नहुँदा परिवार र समाज निराश छ ।
प्रधानमन्त्रीले केपी शर्मा ओलीले हालै सामाजिक सञ्जालमार्फत विपिनको शीघ्र रिहाइका लागि भइरहेको पहलहरूको विवरण सार्वजनिक गरे । विपिनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलका राष्ट्रपति इसाक हर्जोग र संसद् अध्यक्ष आमिर ओहानासँग भेटेर गरेको आग्रह, टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसीसँग प्रधानमन्त्रीले गरेको संवाद तथा खाडी क्षेत्रका दूतावासमार्फत भइरहेको निरन्तर कूटनीतिक प्रयासहरूको चर्चा प्रधानमन्त्री ओलीले गरे ।
नेपाल सरकारले विपिनको रिहाइका लागि सक्दो पहल गरिरहेको बताउँदै आएको छ । ‘विपिनको सुरक्षालाई प्राथमिकतामा राख्दै हरेक सम्भावित पहल भइरहेको छ’, परराष्ट्र मन्त्रालयले जनाएको छ । तर, अझै प्रश्न उठ्ने गर्छ कि के कारणले सरकार यति लामो समय मौन रह्यो ? के हजारौं इजरायली नागरिकहरूको प्रदर्शन, पत्रकारहरूको रिपोर्ट र नेपाली समुदायको आवाजले मात्र सरकारलाई बोल्न बाध्य गरायो ? विपिन जस्तो नागरिक संकटमा परिरहँदा सुरुवाती दिनमै प्रष्ट, दृढ र विश्वास दिलाउने अभिव्यक्ति अपेक्षित थिएन र ?
सरकार ढिलो बोलेको छ, ढिलो चासो देखाएको छ । प्रधानमन्त्रीको पोस्टमा देखिएका जनताको प्रतिक्रियाले यसलाई प्रस्ट पार्छ । ‘आश्वासन मात्रै अब पर्याप्त छैन, ठोस परिणाम आवश्यक छ’, नेपाली जनताको एउटै आवाज छ ।
यसबीच विपिनका परिवारले निरन्तर पीडा सहिरहेका छन् । एक छोराको रिहाइका लागि आमा र बहिनीले परदेशी भूमिमा नेता र राष्ट्रपतिसम्म पुगेर आग्रह गर्नुपरेको पीडा केवल उनीहरूको व्यक्तिगत पीडा मात्र होइन, यो सम्पूर्ण नेपाली समुदायको वेदनाको प्रतीक हो । नेपाल सरकारले विपिनको शीघ्र र सुरक्षित रिहाइका लागि कूटनीतिक स्तरमा अझ प्रभावकारी र निरन्तर पहल गर्दै अन्तर्राष्ट्रिय दबाब बढाउनु जरुरी रहेको विज्ञ बताउँछन् । त्यसैगरी आफ्ना नागरिक कठिन परिस्थितिमा पर्दा सरकारले तुरुन्तै अभिव्यक्त हुने, आवाज उठाउने र जनतालाई विश्वास दिलाउने परम्पराको जग बसाउने गर्नु आवश्यक देखिन्छ ।
विपिनको पीडा केवल उनको परिवारको मात्र होइन । यो प्रत्येक नेपालीको पीडा हो । सरकार ढिलो भए पनि जागेको छ । अब यसलाई परिणामसम्म पुर्याउन सक्नुपर्छ । विपिनको सकुशल घर फर्काइ नै नेपाल सरकारको अन्तिम सफलता हुनेछ ।
इजरायल–नेपाल सम्बन्ध
नेपाल र इजरायलबीच १९६० दशकदेखि राजनीतिक सम्बन्ध छ । इजरायलमै नेपाली श्रमिक, विद्यार्थी र परिचारिकाहरूको ठूलो उपस्थिति छ । हमास आक्रमणपछि इजरायल सरकारले नेपालीलाई उद्धार, उपचार र सहयोगमा उल्लेखनीय भूमिका खेलेको छ ।
मृतकहरूको शव नेपाल पठाउनेदेखि घाइतेको निःशुल्क उपचार, नेपाली समुदायलाई आवश्यक सहयोग गर्ने कामले सम्बन्ध अझ घनिष्ठ भएको छ । तर, विपिन जस्तो बन्धक अझै फर्कन नसक्दा सम्बन्ध अपूर्ण लागेको छ । यो केवल दुई देशबीचको सम्बन्धको मात्र कुरा होइन, यो एक नेपाली आमाको पीडा र सम्पूर्ण नेपाली समाजलाई लागेको घाउ हो ।
विपिनको आमा पद्माको पीडा
बहिनी पुष्पा मात्र होइन, विपिनकी आमाको पीडा त झन् शब्दले व्याख्या गर्न सकिन्न । पद्मा जोशीको आँखा कहिले ओभाना छैनन् । उनले छोराको भविष्यका सपनाहरू बुनेकी थिइन्, तर आज ती सबै अधुरा छन् ।
गत साता इजरायलमा नेपाली समुदायले आयोजना गरेको कार्यक्रमहरूमा आमाले बोलेका शब्द करुणा र आर्तनादले भरिएका थिए । उनका बेदना केवल आमा–छोराको सम्बन्धका लागि मात्र होइन, सम्पूर्ण नेपाली आमाहरूको पीडाको प्रतिध्वनी बनेर गुन्जिएको थियो ।
अन्तर्राष्ट्रिय आह्वान
पुष्पाले अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि आफ्नो आवाज उठाइरहेकी छन् । ‘मेरो दाइ, मेरो जीवनको अभिमान, कहाँ छ ?’ उनको यो प्रश्न नेपाली, अंग्रेजी र हिब्रु भाषामा प्रतिध्वनित हुन्छ । अन्तर्राष्ट्रिय समुदाय, मानवअधिकार संस्था, विश्व मिडिया सबैलाई उनले आफ्ना यी शब्दमार्फत छुन खोजेकी छन् । null
पुष्पाको यात्रामा आशा र अनिश्चितता दुवै छन् । इजरायल सरकारले सहानुभूति र सहयोग देखाएको छ । राष्ट्रपति आफैंले भेटेर हौसला दिएका छन् । तर, युद्धको जटिलता र अन्तर्राष्ट्रिय राजनीतिले दाजुको खोजीमा अझै अनिश्चितता बनाइदिएको छ ।
हामी सबै नेपालीको एउटै प्रार्थना छ– विपिन फर्किउन् । आमा–बहिनीको आँसु पुछियोस् । बुवाको अनुहारमा उज्यालो छाओस् । आउँदो बडादसैंमा बुवाआमाले टीका लगाउन पाउन् । तिहारमा बहिनी पुष्पाले दाजु विपिनको निधारमा सप्तरंगी टीका लगाउन पाउन् । दसैं र तिहारको त्यो सम्भावित पलले उनीहरूको परिवारमा जीवनभर नछुट्टिने अवस्था सिर्जना गरोस् ।
- तेल अभिबमा आयोजित विशाल आमसभामा विपिनकी बहिनी पुष्पाको चिच्चाहट र पीडाभरिएको प्रश्नले त्यहाँ उपस्थित नेपाली मात्र होइन, हजारौं इजरायली नागरिकको आँखाबाट आँसु झर्यो ।
- गत अक्टोबरमा विपिनलाई बन्धक बनाइएको घटना केवल एक युवाको अपहरण मात्र थिएन, यसले नेपाल–इजरायल सम्बन्धमा दुःखद इतिहाससमेत कोरिदियो । विपिनको परिवार मात्र होइन, सम्पूर्ण नेपाली समाज यो पीडामा बाँधियो ।
- विपिनको रिहाइको कूटनीतिक प्रयासमा नेपाल कमजोर सावित ठहरियो । धेरै देशका नागरिक फर्किए, तर विपिन अझै फर्किएनन् । करिब दुई वर्ष बितिसक्दा पनि उनको अवस्थाबारे ठोस जानकारी पाइएको छैन ।
- दाजुको खोजीमा पुष्पा इजरायलका राष्ट्रपतिको अफिससम्म पुगिन् । राष्ट्रपति इसाक हर्जोगसँग भेटेर विपिनलाई सकुसल फर्काउन उनले अपिल गरिन् । राष्ट्रपतिसँगको भेटमा उनले परिवारजनको पीडा पोखिन् ।
- विपिनकी आमा पद्माको पीडा शब्दले बयान गर्न सकिन्न । उनका आँखा कहिले ओभाएनन् । उनले छोराको भविष्यका सपनाहरू बुनेकी थिइन्, तर ती सबै अधुरै रहे।