कैलाली चौमालाका ६५ वर्षीय विनोद हमाल बुधबार पश्चिमी नाका गड्डाचौकी भएर घर फर्किए। कलिलै उमेरदेखि रोजगारीका लागि छिमेकी मुलुक भारत जान थालेका उनी दसैंमा गाउँघर सम्झेर घर फर्किएका हुन्।
उनी दसैं र खेतीपातीको सिजनमा दुई पटक घरमा आउँछन्। भारतकै मजदुरीको भरमा परिवारको खर्च धानेका छन्। ‘जीवनभर भारतमै मजदुरी गरियो, अहिले पनि त्यही कामले गुजारा चलेको छ,’ साथीभाइसँगै घर फर्किरहेका हमालले भने, ‘अझै कति वर्ष त्यहाँ मजदुरी गर्नुपर्ने हो, थाहा छैन।’
घरमा भएको जमिनको उत्पादनले वर्षभरि खान पुग्दैन। ४ छोराछोरीको पढाइदेखि घरपरिवारको खर्च उनले मजदुरी गरेरै चलाएका छन्। उनी उत्तराखण्डको हरिद्वारमा खानेपानीका जार घरघर पुर्याउने काम गर्छन्। कहिलेकाहीं नाली सफा गर्ने काम पनि गर्छन्।
‘दिनको ३ सय देहाडी पाइन्छ,’ उनले भने, ‘त्यसैबाट खानाको जोहो र अन्य सबै खर्च चलाउनुपर्छ।’ दुई/तीन महिना काम गरेर १०/१५ हजार जोगिएपछि चाडपर्व मनाउन घर फर्किन्छन्। चौमालाकै ५८ वर्षीय करन मलासी हमालका दौतरी हुन्। दुवैजना सँगै भारत पसेका हुन्। अहिले पनि सँगै बस्छन्। उनी पनि हरिद्वारमा हमालले झैं भारी बोक्ने र मजदुरीको काममा खटिन्छन्। ‘भारतमा काम गर्न जानु र घर फर्किनु मात्रै भएको छ,’ उनले भने, ‘दुई/चार महिना कमाएको पैसा बाटोखर्च कटाएर घरपरिवारको खर्चका लागि पुग्दैन।’ अन्नदेखि नुन, तेल सबै किनेरै खानुपर्ने र छोराछोरीको पढाइका लागि बुढेसकालमा समेत भारी बोक्ने काम गरिरहेको उनी बताउँछन्।
भारत उत्तराखण्डका नैनीताल, देहरादून, पिथौरागढ, अल्मोडा, सिमलालगायत ठाउँमा थुप्रै नेपाली काम गर्छन्। अहिले सीमानाकामा घर फर्किनेको भीडभाड बाक्लिएको छ। दैनिक सयौंको संख्यामा नेपाली कामदार घर फर्किरहेका छन्। पछिल्ला वर्षमा पश्चिम तराईका थारू समुदायका युवा पनि काम खोज्दै हिमाचल र उत्तराखण्डका पहाडतिर उक्लिन थालेका छन्।
ज्यालामा ठगी
कैलालीको जानकी नगरपालिका ३ का राजकुमार चौधरी साउनमा काम खोज्दै सिमला गए। उनलाई गाउँकै एकजना दलालले दैनिक ४ सय ज्याला दिलाउने सर्तमा आफूसँगै लगेका थिएतर त्यहाँ भनेको ज्याला पाएनन्। उनले ३ देखि साढे ३ सय सम्म मात्र ज्याला पाएको बताए।
‘कहिले काम भएन भने। कहिले रेट नै खुलेको छैन भनेर दैनिक सय/पचास रुपैयाँ कम दिइयो,’ उनले भने, ‘त्यहाँ काम गर्ने सबै यसरी नै ठगिए।’ उनका अनुसार स्याउ टिप्ने, क्यारेट बोक्ने, प्याकिङ गर्नेलगायत काममा थुप्रै नेपाली कामदार संलग्न छन्। ती मध्ये कसैले पनि श्रम अनुरूप ज्याला पाउने गरेका छैनन्। ‘हामीले दलालसँगै ठेकेदारलाई पनि भन्यौं,’ सँगै रहेका हरि चौधरीले भने, ‘तर पूरा ज्याला कहिल्यै पाएनौं।’
सीमामा सधैंको सास्ती
दसैं–तिहारका बेला घर फर्किने कामदारले जहिले पनि सीमामा सास्ती खेप्दै आएका छन्। सवारीसाधनमा बढी भाडा तिर्नुपर्ने, बाटोमै लुटिने र सुरक्षाजाँचका नाममा ठाउँठाउँमा झोला खोल्नुपर्ने बाध्यता छ। सुरक्षाकर्मीबाटै रकम असुलिने घटना पनि हुन्छन्।
वनबासा–गड्डाचौकी खण्डमा बढी सास्ती हुने गरेको कामदार बताउँछन्। भारतीय सुरक्षाकर्मीको दुव्र्यवहार र रकम असुली तथा सवारी साधनले दसौं गुणा बढी भाडा लिने गरेका घटना चाडबाडमा सामान्य जस्तै बन्ने गरेका छन्। सुरक्षा जाँचकै नाममा पनि भारततर्फ ३ र नेपालतर्फ २ गरी ५ ठाउँमा झोला खोल्नुपर्ने बाध्यता रहेको एक कामदारले बताए।
पूर्वी नाकामा पनि सकस
भारतका विभिन्न ठाउँमा कार्यरत नेपाली काँकडभिट्टा नाका भएर दसैं मान्न धमाधम घर फिर्न थालेका छन्। तर, देश फिर्न उनीहरूलाई कम सकस छैन। मेचीपारि बसेका भारतीय सुरक्षाकर्मीहरूको व्यवहारले विगतमा झैं यसपटक पनि उनीहरूलाई पिरोलेको छ। न्यु जलपाइगुडी (एनजेपी) रेल–वे स्टेसनबाट होस या सिलिगुडी बस स्टेसनबाट सोझै नेपाल हिँडेका उनीहरूलाई पहिला भारतको पानीट्यांकी भन्सारले रोक्छ। त्यसपछि प्रहरीले खानतलासी गर्छ। अनि एसएसबीले अनावश्यक सास्ती दिन्छ। ‘भारतीय प्रहरीको अनावश्यक सास्तीले साह्रै हैरान भइयो,’ दिल्लीबाट दसैं मान्न फिरेका मेघराज तामाङले भने, ‘हरेक वर्ष यस्तै हुन्छ। यस्तो सास्ती कहिले हट्ला?’
पाइलैपिच्छे भारतीय सुरक्षाकर्मीले खुलेआम पैसा असुल्ने गरेका छन्। रेल चढेदेखि सुरु हुने सास्तीले नेपाल प्रवेश गर्दासम्म निरन्तरता पाउँछ। भारतीय प्रहरीले ५० देखि ५ सय रुपैयाँसम्म असुल्ने गरेका छन्। कसैकसैले घरायसी प्रयोजनका लागि ल्याएका सामानहरूसमेत राख्छन्। घर फर्किने यात्रुका कारण काँकडभिट्टाबाट चल्ने अधिकांश सवारी भरिभराउ रहेको बस व्यवसायीको भनाइ छ।
सादा पोसाकका प्रहरी परिचालन
चाडपर्व मनाउन भारतबाट घर फर्किरहेका नेपालीहरूको सुरक्षाका लागि नेपालगन्ज सीमासँगैको भारतीय बजार रुपैडिहामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएका छन्। दुई देशका सुरक्षा अधिकारीहरूको समन्वयमा नेपाल–भारतका प्रहरी संयुक्तरूपमा खटिएका हुन्। उनीहरूले रुपैडिहा बसपार्कदेखि नेपालगन्जको इलाका प्रहरी कार्यालय जमुनाहासम्म सुरक्षा दिने गरेका छन्।
विगतका दिनमा नेपालीहरूमाथि सीमामा हुने दुव्र्यवहार, लुटपाट र ठगीका घटनालाई पूर्णरूपमा नियन्त्रण गर्न कडाइ गरिएको दुई देशका सीमावर्ती सुरक्षा अधिकारीले बताए। रुपैडिहा थानाका प्रहरी निरीक्षक आलोक राव र इलाका प्रहरी कार्यालय जमुनाहाका सई सुधीर खड्का नेतृत्वको प्रहरी टोली सीमामा खटिएका छन्। उनीहरूले रिक्सा, टाँगा, यातायातकर्मी र होटेल व्यवसायीहरूलाई बढी पैसा नलिन, सम्मानजनक व्यवहार गर्न प्रशिक्षण दिएका छन्। सादा पोसाकका सुरक्षाकर्मी बिहान, दिउँसो र साँझ रुपैडिहा बसपार्क पुग्ने र सुरक्षा दिँदै नेपालगन्ज सीमासम्म पुर्याउने गरेका छन्। ‘रुपैडिहा थानाका इन्चार्जले नेपालीहरूको सुरक्षाका लागि निकै ठूलो सहयोग गरिरहनुभएको छ। उहाँले सुरक्षाका साथै रिक्सा चालकहरूलाई चर्को भाडा नलिन निर्देशन दिनुभएको छ,’ सई खड्काले भने, ‘भारतबाट फर्केका नेपालीहरूलाई एक ठाउँमा जम्मा गरी नेपालगन्जको सीमासम्म ल्याउने गरिरहेका छौं। सीमामा सुरक्षा कडा पारेका छौं।’ भारतीय रुपैडिहा थानाका इन्चार्ज रावले घर फर्किरहेका नेपालीहरूको सुरक्षाका लागि पूर्ण प्रतिबद्ध रहेको बताए। उनले नेपालीहरूमाथि दुव्र्यवहार र ठगी गर्ने व्यक्तिलाई कडा कारबाही गर्ने जनाएका छन्। केही दिनअघि मात्रै नेपालगन्ज आएका नेपालका लागि भारतीय राजदूत मन्दीपसिंह पुरीले नेपालीहरूको सुरक्षाका लागि प्रतिबद्ध हुन निर्देशन दिएका थिए। उनले नेपालीहरूबाट अवैधरूपमा रकम असुली गरेको पाइए कारबाही गर्ने चेतावनी दिएका छन्। बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले भारतीय सुरक्षा अधिकारीहरूको समन्वयमा घर फर्किरहेका नेपालीहरूलाई सुरक्षा दिएर नेपालगन्जसम्म ल्याउने गरेको बताए। ‘सीमामा हुने लुटपाट, ठगीका घटनालाई पूर्णरूपमै नियन्त्रण गर्ने तरिकाले लागेका छौं,’ उनले भने।
परमिटबिनाका सवारी सञ्चालनमा रोक
धादिङ– जिल्ला यातायात व्यवस्थापन समितिले रुट परमिटबिनाका सार्वजानिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। ग्रामीण सडकमा सञ्चालन परमिटबिनाका सवारीसाधनले दसैंको मौका पारेर जथाभावी भाडा असुलेको गुनासो बढेपछि सञ्चालनमा रोक लगाइएको हो।
मार्पाकको लपाङफेदीसम्म २६ किमिको ५ सय रुपैयाँ असुलेपछि अनुगमन गरिएको थियो। ‘स्थानीय प्रशासनले अनुगमन र कारबाही थालेको छ,’ सहायक प्रजिअ लीलाधर अधिकारीले भने, ‘घर फर्कने यात्रुहरूले आफ्नो झोला र सुटकेसको भाडासमेत अलग–अलग तिरेको भेटियो।’ यातायात व्यवस्था विभागले ५ यात्रु बोक्न अनुमति दिएको जीपको संरचना परिवर्तन गरी १४ यात्रु ओसार्ने गरिएको थियो। यसरी सञ्चालनमा ल्याइएका ६० जिपलाई सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला ट्राफिक कार्यालयका निरीक्षक कृष्णराज सापकोटाका अनुसार सदरमुकाममा टिकट काउन्टर खडा गरी ग्रामीण भेगमा यात्रु ओसारिरहेका जिपहरूको दर्ता र रुट परमिट छैन। यी जिप कुनै समितिमा पनि दर्ता गरिएका छैनन्।