थाप्लोमा भन्दा मनमा गह्रौं भारी बोकेर पाँच पोखरी उक्लिरहेका भरिया

5 November, 2025

आरती पौडेल

सिन्धुपाल्चोकमा रहेको पाँच पोखरी पदयात्राका लागि पर्यटकले रुचाउने गन्तव्यस्थलका रूपमा चिनिन्छ । त्यहाँ पदयात्रामा जाने क्रममा होस् वा फर्किने क्रममा छिम्तीदेखि पाँच पोखरीसम्मका विभिन्न स्थानमा डोकोमा ठूला–ठूला भारी बोकेर कोही भरिया उकालो चढिरहेका देखिन्छन् भने कोही चौतारीमा थकाइ मार्न भारी बिसाइरहेका हुन्छन् ।

कोही खाली डोको बोकेर फेरि सामान लिन छिम्तीतर्फ आफ्ना पाइला बढाइरहेका भेटिन्छन् । जाडोले लुगलुग काम्ने बेला होस् वा पसिनाले निथ्रुक्कै भिज्ने याम, भरियाहरू हरेक मौसममा आफ्नो काम निरन्तर गरिरहेका हुन्छन् ।

भारी बोक्दै गरेका भरियाहरू कोही गम बुट र दौरामा सजिएका देखिन्छन् भने कोही साधारण हुलियामा भारी बोकिरहेका भेटिन्छन् । २० वर्षे युवा वयका तन्नेरीदेखि लिएर ६५ वर्षसम्मका वृद्ध पनि भारी बोकेर गन्तव्यतर्फ लम्किँदै गरेको बाटोमा भेटिन्छन् । पाँच पोखरी जाने क्रममा देउराली, टुप्पी डाँडा, चोकर डाँडा, नोरसिन्गपाटीका विभिन्न स्थानमा रहेका होटल, होमस्टेका लागि छिम्तीबाट ग्यास, चामलका साथै अन्य गह्रुँगा सामान बोकेर भरियाहरू आफ्नो दैनिकी चलाइरहेका छन् ।

यसरी भारी बोक्नेहरूको जमातमा टुप्पी डाँडाको एउटा होटलमा निकै गह्रौं देखिने भारी बिसाउँछन् एक भरिया । भारी राख्ने बित्तिकै उनले लामो सुस्केरा हाल्दै छेउमै रहेको बोतलको पानी कल–कल पिए । खल्तीबाट एउटा रुमाल निकालेर अनुहारमा तरतरी बगेको पसिना पुछे र रुमाल आस्कोटको गोजीमा राखे । कालो टि–सर्ट र त्यसमाथि कालै आस्कोट र कालै ट्रयाक लगाएका उनले खुट्टामा चप्पल लगाएका थिए । ‘आजको भारी त निकै ठूलो र गह्रुँगो पो रहेछ त !,’ सोहि होटलका साहुँजीसँग उनी केहीबेर गफिए ।

पाँच पोखरी जाने क्रममा सोही होटलमा बास बसेकी मलाई ती भरिया दाइको काम र गुनासोले आकर्षित गर्‍यो । मैले उनलाई सोधेँ, ‘टाउको दुख्दैन दाइ यति ठूलो भारी एकैपटक लिएर हिँड्दा ?’ उनले हाँस्दै ठट्टा गरे, ‘हामी मजदुरी गरेर घर चलाउनेलाई भारी हलुंगो हुँदा पो त टाउको दुख्छ नानी !’

छिम्ती–३ घर भएका अकलबहादुर तामाङ थिए उनी । उमेरले ५५ काटेका उनी विगत सात वर्षदेखि भारी बोकेरै खर्च चलाइरहेका छन् । उनका दुई छोरा अहिले भारतमा रोजगारका लागि गएको उनले सुनाए । ‘भरियाको काम पाउादा भारी बोक्ने र मिस्त्री काम पाउादा त्यही काम गर्छु,’ उनले भने, ‘के गर्ने, ज्यान त पाल्नै पर्‍यो ।’

छिम्तीबाट भारी बोकेर तीन घण्टामा टुप्पी डाँडा पुग्ने गरेको अकलले बताए । ‘नोरसिन्गपाटीसम्म सामान बोक्दा त १२ सय जति कमाइ हुन्छ । तर दुई दिन पो लाग्छ,’ उनले भने, ‘त्यति टाढा बढेमानको भारी बोकेर म त हिँड्न सक्दिनँ । त्यही भएर टुप्पी डाँडासम्मको होटलमा सामान बोक्ने गरेको छु ।’

उनी त्यहाँसम्म भारी बोकेर ल्याएको ६ सय रुपैयाँ ज्याला पाउने गरेको बताउँछन् । कहिलेकाहीँ नजिक भारी बोक्ने काम नपाए उनी नोरसिन्गपाटीसम्म पनि भारी बोकेर पुग्छन् । अकल आफूले गरिरहेको कामले खुसी रहेको र सकुन्जेल यसलाई निरन्तरता दिइरहने सोचमा छन् । ‘जिन्दगीमा धेरै दुःख गरियो । त्यो सम्झिँदा ज्यादै पीडा हुन्छ,’ उनले सुनाए ।

थाप्लोमा बोकेर हिँड्ने भारी त समय–समयमा बिसाउँदै थकाइ मार्दै हिँड्न सकिन्छ तर मनमा गढेको पीडाको भारी त बिसाउने ठाउँ नै नभएको उनले बताए । ‘थाप्लोको भारी भन्दा यो असाध्यै गह्रौं हुँदो रहेछ,’ उनले भने ।

गर्मी याममा भारी बोक्ने काम खासै नपाइने अकल बताउँछन् । उनले भारी बोक्दा भन्दा धेरै पैसा मिस्त्री काम गर्दा कमाउँछन् । ‘मिस्त्री काम गर्दा ८/९ सयसम्म कमाइ हुन्छ,’ उनले भने, ‘यति ठूलो भारी बोक्दा ६ सय मात्रै पाइने हो ।’ काम नपाएर घरमै यत्तिकै बस्नुभन्दा यो कमाइले पनि थोरबहुत सन्तुष्टि दिइरहेको उनले सुनाए ।

हरेक वर्षको साउने पुत्रदा एकादशीदेखि जनैपूर्णिमासम्म मेला लाग्ने र त्यस समय भने आफूलाई सामान बोक्न भ्याइ नभ्याइ हुने गरेको उनी बताउँछन् । अन्य जागिर नपाएपछि भारी बोकेर गुजारा चलाइरहेका युवाहरू पनि त्यस क्षेत्रमा प्रशस्तै भेटिए ।

सोलुखुम्बु छुलुङ दुधकोसी गाउँपालिका–१ घर भएका सुवास लामिछाने उमेरले २४ वर्ष लागे । उनी केही समययता छिम्दीबाट पाँच पोखरीसम्म भारी बोक्ने काम गरिरहेका छन् । शिक्षाशास्त्र विषय लिएर ‘प्लस टू’ सकेका उनी आफूले धेरै कोसिस गरेर जागिर खोज्दा पनि नपाएपछि भारी बोक्ने पेसा अँगालेको बताउँछन् । उनी भन्छन्, ‘कामको खोजीमा धेरै हिँडे, कतै केही उपाय नलागेपछि यही काम भए पनि गर्छु भनेर कस्सिएको छु ।’

आफूलाई पाँच पोखरीको बाटो सहज लागेकाले यहाँ भारी बोक्ने गरेको सुवासले बताए । छिम्दीबाट दुई दिनमा भारीसहित हिँडेर पाँच पोखरी पुग्ने गरेको बताउने उनी काम सहज नभए पनि पैसाका लागि जस्तै कठिन काम पनि गर्नुपर्ने बाध्यता रहेको सुनाए । ‘भारी बोकेको दुई हजार कमाउँछु । ५ सय बाटोमा खाजा, खाना खाँदा सकिन्छ । पन्ध्र सय बच्छ,’ उनले भने, ‘अरु काम नपाएपछि पैसा कमाउनका लागि बाध्यताले यो काम गरेको हुँ ।’

भारी बोकेर हिँड्ने भएकाले आफूले कोठा कतै नलिएको उनी बताउँछन् । ‘बस्नै पाइँदैन, भारी बोकेर हिँड्ने भएकाले कोठा लिएको छैन,’ उनले भने, ‘भारी बोकेर जहाँ पुगिन्छ, त्यहीँ बास बस्छु । सामान लिएर गएको ठाउँमा खानाको पैसा तिर्न परे पनि राति सुतेको तिर्नु पर्दैन ।’ उनी सामान पुर्‍याएर फर्किने बेलामा कहिलेकसो आलु, पर्यटकका झोला बोक्ने काम पाउँदा थप पैसा आउने भएकाले आफूलाई यो काम गर्दा निकै खुसी मिलिरहेको पनि बताए । ‘माथि जाँदा टाउको बल्कने गरी भारी बोकेर जाने र फर्किने बेलामा खाली फर्किंदा ज्यान बत्तिन्छ,’ उनले भने, ‘त्यसैले पनि हो फर्किंदा पनि भारी बोकेर फर्किन पाए हुने भन्ने लाग्छ ।’

सुवास नेपालमा काम अनुसार मान्छेले फरक व्यवहार गर्दा आफ्नो मन दुख्ने र केही पैसा कमाएपछि विदेश जाने सोच रहेको बताउँछन् । विदेश जान पाए अरूले हेप्न नपाउने पनि उनको तर्क छ । ‘कुन बाध्यताले काम गरेको छ भन्ने कसैले बुझ्न खोज्दैनन्,’ उनले भने, ‘भारी बोकेर हिँडेको देखेर होला ट्रेकिङ हिँड्नेहरूले अचम्म मानेर हेर्छन् । घुरी घुरी हेर्छन् ।’ नेपालमै राम्रो जागिर खान पाए हुन्थ्यो भन्ने सोच र सपना भए पनि १२ पढेर मात्रै जागिर नपाइँदो रहेछ भन्ने तीतो अनुभव उनले सुनाए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024