तालिमका नाममा उपलब्धिविहीन कार्यक्रमको निरन्तरता

21 December, 2017

गोपाल साउद

 

प्रतिफल नदेखिएको कार्यक्रममा यस वर्ष पनि १५ करोड खर्चिंदै 

 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगारमा जाने कामदारको सीप विकासका नाममा करोडौँ रकम खर्च गर्ने कार्यलाई निरन्तरता दिएको छ । चालू आर्थिक वर्षमा १० हजार युवालाई सीप विकाससम्बन्धी तालिम दिने भन्दै बोर्डले तालिम दिन निजी संस्था छनोटको प्रक्रिया थालेको छ । बोर्डले गत वर्षदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई सीप विकास तालिम सञ्चालन गर्ने भन्दै १५ करोड रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ ।

 

वार्षिक करिब ५ लाखको संख्यामा नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेको भए पनि बोर्डले भने १० हजालाई मात्र तालिम दिने लक्ष्य राखेको छ । वैदेशिक रोजगारीमा जाने कामदारहरूको संख्याका आधारमा ९८ प्रतिशतले तालिम नपाउने हुँदा यो कार्यक्रम उपलब्धिमूलक नभएको देखिन्छ । त्यसमाथि बोर्डले वैदेशिक रोजगारमा जाने कामदारहरूबाटै जम्मा गरेको वैदेशिक रोजगार कल्याणकारी कोषबाट करोडौँ खर्च गरेर आयोजना गर्ने तालिमको उपलब्धि पनि शून्यप्रायः रहेको छ ।

 

बोर्डले तालिम दिएकाहरूको विस्तृत विवरणसमेत राख्ने गरेको छैन । गत वर्ष तालिम पाएका कामदारहरू वैदेशिक रोजगारमा गए–नगएको कुनै अध्ययन नै हुन नसकेको बोर्डकी निर्देशक निर्मला थापा स्वीकार गर्छिन् । अघिल्लो वर्षको उपलब्धि यकिन नगरी तालिमलाई निरन्तरता दिनु उपयुक्त नभएको श्रम मन्त्रालयका एक सहसचिवको भनाइ छ । ‘यस किसिमका प्रतिफल नदेखिने कार्यक्रममा कामदारले जम्मा गरेको रकम खर्च गर्नु कुनै पनि हिसाबले सुहाउँदो विषय होइन,’ ती सहसचिवले भने ।

 

बोर्डले सञ्चालन गर्ने तालिम कार्यक्रम एक महिनाको मात्रै छ । सीप विकासका लागि एकमहिने तालिम अपर्याप्त रहेको तालिमविज्ञ हरि प्रधानले बताए । ‘सीप विकास तालिमका लागि व्यवस्थित पाठ्यक्रममा आधारित भएर कम्तीमा ३ महिनाको तालिम सञ्चालन गर्नुपर्ने हुन्छ,’ उनले भने ।

 

तालिमका लागि यस्तो छ बोर्डकोे तयारी

 

बोर्डले चालू आर्थिक वर्षमा वैदेशिक रोजगारमा जान चाहने १० हजार कामदारलाई सीपमूलक तालिम सञ्चालन गर्ने कार्यक्रम बनाएको छ । त्यसका लागि १५ करोड रुपैयाँ विनियोजन भइसकेको छ । तालिम सञ्चालनका लागि आवेदन मागेको बोर्डले प्राप्त २ सय ७० आवेदनमध्येबाट १९ मंसिरमा १ सय ६० संस्थालाई ‘सर्टलिस्ट’ गरिसकेको छ । बोर्डकी निर्देशक निर्मला थापाका अनुसार हाल तालिमको वर्गीकरण भइरहेको छ । पुस महिनाभित्रमा सर्टलिस्टमा परेका संस्थाहरूबाट आर्थिक तथा प्राविधिक प्रस्ताव माग गर्ने बोर्डको योजना छ । ‘आगामी वैशाखसम्ममा १० हजार कामदारका लागि एकमहिने सीप विकास तालिम सञ्चालन गर्ने तयारी छ,’ थापाले भनिन् । बोर्डले गत वर्ष विभिन्न ४५ वटा निजी संस्थामार्फत ९ हजार ९ सय कामदारलाई तालिम दिएको थियो ।

 

मन्त्रालयसँग समन्वय नै छैन

 

बोर्डले हालसम्म सीप विकास तालिम सञ्चालनका क्रममा श्रम तथा रोजगार मन्त्रालयसँग समेत कुनै किसिमको समन्वय नै गरेको छैन । बोर्डले सञ्चालन गर्ने तालिमको विषयमा आफूलाई कुनै जानकारी नै नभएको मन्त्रालयको तालिम शाखा प्रमुख जीवन राई बताउँछन् । मन्त्रालयअन्तर्गत देशैभर सीप विकास तालिम केन्द्रहरूको सञ्जाल छ । तर, सरकारी तालिम दिने निकायलाई सरोकारमा नलिएरै निजी संघ–संस्थामार्फ तालिम दिइनुलाई मन्त्रालयकै उच्च अधिकारीहरूले अनौठो रूपमा हेरेका छन् ।

 

कोषको परिचालन कमजोर

 

वैदेशिक रोजगार ऐनले वैदेशिक रोजगार कल्याणकारी कोषको रकम परिचालन गर्ने जिम्मा श्रममन्त्रीको अध्यक्षतामा रहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई दिएको छ । कोषमा हाल करिब ४ अर्ब रुपैयाँ जम्मा रहेको छ । तर, बोर्डले कोषको रकम पूर्ण रूपमा परिचालन गर्न सकेको छैन । जनशक्तिकै अभावका कारण कोषले ठूला कार्यक्रम सञ्चालन गर्न नसकेको बोर्डकी निर्देशक निर्मला थापा बताउँछिन् । बोर्डले कानुनमा व्यवस्था भएअनुसार अनिवार्य रूपमा वैदेशिक रोजगारीमा जानेलाई पर्याप्त किसिमको सीपमूलक तालिम र फर्किएकाहरूका लागि रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न सकेको छैन ।

 

वैदेशिक रोजगारीमा जाने अधिकांश अदक्ष

 

मुलुकमा रोजगार क्षेत्रको पर्याप्त रूपमा विस्तार हुन नसक्दा वार्षिक करिब ५ लाखभन्दा बढी नेपाली कामको खोजीमा बिदेसिन बाध्य छन् । त्यसरी जाने अधिकांश कामदार सामान्य मजदुर, हेल्पर, मेसन, स्काफोल्डिङ, निर्माण श्रमिक, सरसफाइ मजदुरजस्ता अदक्ष कामका लागि जाने गरेका छन् । आवश्यक सीप र दक्षताविना वैदेशिक रोजगारीमा जाँदा कार्यस्थलको जोखिमसमेत बढी हुने गरेको छ । सीप अभावमा नेपाली श्रमिकहरू न्यून पारिश्रमिकमा विदेशमा तल्लोस्तरको काम गर्न बाध्य छन् । दक्ष जनशक्तिका रूपमा वैदेशिक रोजगारीमा पठाउन सकियो भने अहिलेको भन्दा ३ गुणा रेमिट्यान्स वृद्धि हुन सक्ने जानकारहरू बताउँछन् । हाल नेपाली कामदारमध्ये ७५ प्रतिशत श्रमिक अदक्ष, २३ प्रतिशत अर्धदक्ष र २ प्रतिशत मात्र दक्ष रहेको सरकारकै विभिन्न आँकडाले देखाएको छ ।

 

के भन्छन् विज्ञ ?

 

सीप विकासका नाममा बोर्डले सञ्चालन गरिरहेको तालिमको औचित्य नै छैन । सरकारी कर्मचारीहरूमा जसरी पनि बजेट सक्ने मानसिकता छ । कुनै प्रतिफल नदिने तालिमका लागि करोडौँ रकम खर्च गर्नु विडम्बनापूर्ण विषय हो । न त त्यस्ता तालिमहरूको प्रतिफल खोज्ने नै गरिएको छ ।

 

३–४ साताको तालिमले सीप विकास सम्भव हुँदैन । त्यसका लागि कम्तीमा ३ महिने तालिम सञ्चालन गर्नुपर्ने हुन्छ । तालिम दिने संस्थाको छनोटका सन्दर्भमा पनि बोर्डले विज्ञलाई सहभागी गराउन सकेको छैन । विज्ञ जनशक्तिबाट छनोट गरिने संस्थाको स्थलगत प्रमाणीकरण आवश्यक गर्न सकिन्छ । तालिम दिने संस्थाको नियमित अनुगमन गरी तालिमपश्चात् सीप परीक्षण प्रणाली लागू गरेर जान सके मात्रै तालिम प्रभावकारी हुन सक्छ । त्यसका अलावा तालिम लिनेहरूको तथ्यांक व्यवस्थित गरेर व्यक्ति के गरिरहेको छ भन्न सक्नुपर्छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026