तलब माग्दा कामदार कुटिए

24 October, 2017

भवानी भट्ट

 

भारत उत्तरप्रदेशको पिलिभित नजिक एक होटलमा काम गर्ने नेपाली कामदारमाथि निर्घात कुटपिट गरिएको छ । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–८ झिलमिला घर भई पिलिभित नजिकको मझौलामा काम गर्ने ४० वर्षीय राजेन्द्र सिंह ऐरीलाई होटल मालिकले कुटपिट गरेका हुन् ।

 

दुई महिनाअघि घरबाट गएका ऐरी तिहारका लागि घर फर्किने तयारीमा थिए । उनले मालिकसँग पैसा माग्दा कुटपिट गरेको बताए । उनको कम्मरमा तातो फलामको छडले हानेर गहिरो घाउ भएको छ । ‘दुई महिनाको तलब पाएको थिइनँ,’ कुटपिट भएको एक सातापछि उपचारका लागि महाकाली अञ्चल अस्पताल पुगेका ऐरीले भने, ‘तिहारका लागि घर जान्छु भनेर पैसा माग्दा उल्टै तातो सरिया (फलामको छड) ले कम्मरमा हाने ।’ 

 

लक्ष्मी पूजाको अघिल्लो दिन पिटाइले शरीरभरि घाउ भएको थियो । उनले सोमबार मात्रै उपचार पाए । लामो समयसम्म उपचार नपाउँदा घाउ पाकेर निकै ठूलो भइसकेको छ । उनलाई महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल रेफर गरिएको छ । 

 

मालिकले कुटपिटसँगै होटलबाट निकालेर धपाएपछि दुई रात सडकमै बिताएको पीडा व्यक्त गरे । ‘घर फर्किने पैसा समेत नहुँदा निकै समस्या पर्‍यो,’ उनले भने, ‘मझौलाबाट रोडबेजको बसले नि:शुल्क वनबसासम्म पुर्‍याइदियो, त्यहाँबाट महेन्द्रनगरसम्म पनि टाँगावालाले पुर्‍यायो ।’ हिँडेरै घर जाने क्रममा एक स्थानीयले भेटेपछि उनलाई उपचारका लागि महेन्द्रनगरस्थित महाकाली अस्पताल पुर्‍याइएको थियो । 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024