डा.भगवान कोइरालाको सुझावः विदेश जानुस,तर,फर्किदा पैसा वा बुद्धि जे हुन्छ,त्यो ल्याउनुस्

22 July, 2025

पछिल्लो समय नेपाल खत्तमै भयो, सबैतिर बिग्रियो, भत्कियो, कामै केही भएन भन्ने मात्र भाष्य सिर्जना भएको छ। युवाको विदेश पलायनको ताती, बढ्दो बेरोजगारी समस्या जस्ता विषयलाई उठान गर्दै देश बिग्रेको भन्ने गुनासो सर्वत्र छ।

तर, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला देश बिग्रेको भनेर मात्र मान्न तयार छैनन्। आफुले देख्दादेख्दै धेरै क्षेत्रमा देशले फड्को मारेकोले देश बिग्रेको नभई देश सप्रेको डा.कोइराला बताउँछन्।

पोखराको मासवारस्थित मदरल्याण्ड माविले सोमबार माध्यमिक शिक्षा परीक्षा (एसइइ) सकेर कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. कोइरालाले भने, ‘देश बिग्रेको छैन, बरु सप्रेको छ। देश बिग्रियो भनेर भाष्य मात्र बनेको हो। मैले देख्दादेख्दै देशले धेरै कुरामा फड्को मारेको छ, देश बनेको छ।’

नेपाल सबैतिर बिग्रियो भनेर मात्र नकाारात्मक भाष्य बनेको उनले बताए। ‘हो केही ठाउँमा बिग्रेको पनि छ। तर मैले हेर्दाहेर्दै नेपालले ठूलै फड्को मारेको छ। भौतिक संरचना बनेको बन्यै छन्, समग्रमा हामी अघि बढेका छौं,’ उनले भने।

सरकारले बनाइदिएको र सिर्जना गरेको काम मात्र गरेर नहुने उनले विद्यार्थीलाई सुझाए। ‘नयाँ नयाँ काम आफै थालनी गर्ने हो भने हाम्रो हाम्रै देशमा पर्याप्त सम्भावना छ। जहाँ चुनौती बढी छ, त्यहाँ सम्भावना पनि रहन्छ,’ कोइरालाले भने। कोइरालाले आफ्नो जीवनकालमा गरेको अनुभव अनुसार नेपालमा जत्तिको सम्भावना र काम गरेर पहिचान कमाउने ठाउँ अन्यत्र छैन।

उच्च तहमा अध्ययन गर्न जाने विद्यार्थीलाई सुझाउँदै डा. कोइरालाले भने, ‘अध्यनका क्रममा दुनियाँको उत्कृष्ट ठाउँ, जहाँ पनि जान सकिन्छ र जानु पनि पर्छ। संसार देख्न र बुझन पनि जान सकिन्छ। पढ्नका लागि बाहिर जान सकिन्छ। तर, विदेशमा पढाई सकेर पैसा वा बुद्धि जे फिर्ता ल्याउन सकिन्छ, त्यो नेपालमा ल्याएर उपयोग गरौं।’ उनले भाष्य र माइन्ड सेट बिग्रेकोे भएपनि नेपाल नयाँ चरणमा प्रवेश गरेको बताए।

एसइइ पछिको नयाँ विषय छनोटबारे सुझाउँदै कोइरालाले विद्यार्थीमा नयाँ च्याप्टर सुरुवात हुने भएकोले त्यही अनुसार अघि बढ्नुपर्ने बताए। ‘११ कक्षा नयाँ सुरुवात हो, यो तहको अध्ययनले भविश्यको जग बसाल्ने काम गर्छ। तपाइँ भविश्यमा के विषयमा प्रवेश गर्ने, के मा विशेषज्ञता हासिल गर्ने भनेर यही तहमा निर्भर रहन्छ,’ उनले भने, ‘एकैपटक सबै कुरा अहिले नै निर्णय गरिहाल्नुपर्छ भन्ने छैन। कुनैपनि विषय अहिले नै भन्नुपर्छ भन्ने पनि छैन। तर, चाहना बुझेर पछि पेशा परिवर्तन गर्न सकिन्छ।

एसइइ पछिको दुई वर्ष गम्भिर रुपमा अध्ययन गर्ने, अन्तरक्रिया गर्ने, नेटवर्किङ बिस्तार गर्ने समय भएकोले त्यही अनुसार विद्यार्थी अघि बढ्नुपर्ने उनको सुझाव छ। आफ्नो अध्ययन अनुभव बाड्दै डा. कोइरालाले भने, ‘तपाईहरु (विद्यार्थी) ले जत्तिको राम्रो स्कुलमा मैले पढेको होइन। धाराबाट पानी बोकेर गाइ चराएर पढेका हौं। साँझ बिहान घरमा होमवर्क गरेको पनि होइन, जे जति पढ्यौ स्कुलमै पढेको हो।’

उनले सबै विषय महत्वपूर्ण रहेको पनि बताए। ‘सबै विषयमा उत्तिकै अवसर छ। संगीत र खेलकुदको महत्व नबुझेर हो, उदाहरण दिँदै डा.कोइरालाले भने, ‘समाजमा सबै विषय चाहिन्छ। रुचीका साथ पढ्ने हो भन सबै विषयको ज्ञान उत्तिकै जरुरी छ।’ उनले एकले अर्कासँग प्रतिश्पर्धा गर्नै नपर्ने पनि बताए । ‘यहाँ प्रतिश्पर्धा गर्नै र्दैन, किनभने दक्षताको सीमा नै छैन। आफ्नो क्षेत्रमा विशिष्ट विषय लिएर अघि बढ्न सकिन्छ, जहाँ कहि जान सकिन्छ, त्यसैले प्रतिश्पर्धा गर्नै पर्दैन,’ उनले भने।

विद्यालयले आयोजना गरेको उक्त कार्यक्रमको मेडिकल क्षेत्रको प्रवेशपरीक्षाका लागि तयारी गराउँदै आएको संस्था नेमका संचालक डा. नविन शर्मा र वरिष्ठ न्यूरो सर्जन डा. सागर कोइरालाले उद्घाटन गरेका थिए। शर्मा र कोइरालाले विद्यार्थीलाई सुझाउँदै विषय छनोटमा विशेष ध्यान दिनुपर्ने बताए। भविष्य बुझेर बेलैमा विषय चयन गर्नुपर्ने उनीहरुको सुझाव थियो।

विद्यालयका प्राचार्य डा. नारायण बरालले सफल नागरिक बन्नका लागि अबको पुस्ताले ध्यान दिनुपर्ने बताए। ‘जीवनमा सफल हुने उद्देश्य लिएर अघि बढ्नुपर्छ,’ डा. बरालले भने, ‘असल नागरिक बनेर अबको पुस्ताले देखाउनुपर्छ।’ प्राचार्य बरालले कुनैपनि विषयमा सफलता हात पार्न उत्तिकै मेहनत जरुरी रहेको बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024