ट्रम्प र किमबीच ऐतिहासिक वार्ता हुँदै शान्ति पहलसँगै रोजगारीको अवसर

12 June, 2018

राम हुमागाइँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिङ्गापुरमा मङ्गलबार हुने ऐतिहासिक वार्तालाई विश्वले नजिकबाट हेरिरहेको छ । यसबाट विश्वशान्तिका लागि नयाँ युग सुरुवात हुुनुका साथै नेपालीले पनि युद्धको सन्त्रासबाट मुक्त हुने परराष्ट्रविद्हरूको भनाइ छ । कूटनीतिक जानकारहरूका अनुसार शान्तिको पहलसँगै नेपालीले अझ रोजगारका सुवसर प्राप्त गर्न सक्ने छन् ।

वार्ताले कोरियाली प्रायद्वीपमा शीतयुद्धकालीन एक मात्र अवेशषका रूपमा रहेको दुई कोरियाबीच द्वन्द्वको अन्त्यका लागि ढोका खुल्ने र यसबाट दक्षिण कोरियामा बढ्दो नेपाली कामदारको उपस्थितका कारण सधैं युद्धको डरबाट नेपाली मुक्ति पाउनुका साथै थप रोजगारीको अवसर खुल्ने आशा गरिएको छ । 

 

नेपाल पनि अहिले समृद्धिको बाटोमा लागेका बेला उत्तर कोरिया पनि युद्धबाट बाहिर आएर समृद्धिको बाटोमा लाग्ने प्रयास गरिरहेकाले यसबाट दुबै देशबीच प्रविधि र अनुभवको आदानप्रदानका साथै सहयोगका नयाँ आयाम थपिनसक्ने पूर्वपरराष्ट्रमन्त्री हिरण्यलाल श्रेष्ठ बताउनुहुन्छ । 

 

मङ्गलबारको वार्ताबाट तत्कालै ठूलै उपलब्धि नभए पनि यो वार्ताले यस क्षेत्रमा शान्तिको शुरुवातसँग नेपाल लगायत एसियाली मुलुक आणविक युद्धको त्रासबाट मुक्त हुने नै छन् साथै दुई कोरियाबीचको शान्तिले यस क्षेत्रमा आर्थिक गतिविधि बढ्न गई नेपालीहरूका लागि थप रोजगारीको अवसर मिल्लन सक्ने कूटनीतिज्ञ तथा दक्षिण कोरियाका लागि पूर्वनेपाली काउन्सुलर राम बर्तौलाले बताउनुहुन्छ । दक्षिण कोरियामा हाल करिब ४० हजार नेपाली कार्यरत छन् । 

 

त्यस्तै, पूर्वराष्ट्रपति डा. रामवरण यादवका तत्कालीन सल्लाहकार डा. हरि शर्माका अनुसार यस वार्ताबाट शीतयुद्धको एक मात्र अवेशषको अन्त्य हुनसक्ने सङ्केत देखिएको र यसबाट नेपाल जस्तो आणविक शस्त्रास्त्रको राजनीति नगरी शान्ति र लोकतन्त्रको राजनीति गर्ने देशका लागि यो वार्ता महत्वपूर्ण हुनसक्छ ।

 

उत्तर कोरिया चीनको छिमकी देश भएकाले चीनको इच्छाबिना कोरियामा शान्तिको सम्भावना छैन भन्ने भनाइ रहेको अवस्थामा चीनको भूमिकालाई पनि विश्वले हेरिरहेको बताउँदै शर्माले भन्नुभयो, “उत्तर कोरियाली नेता किम र ट्रम्प विश्व राजनीतिका नयाँ खोलडी हुन् त्यसैले यिनीहरूको विदेश नीति कस्तो रहन्छ भन्ने कुरा जान्नका लागि पनि मङ्गलबारको वार्तालाई सबैले ध्यानपूर्वक हेरिरहेका छन् ।”

 

त्यस्तै पूर्वकाउन्सुलर बर्तौलाको विचारमा “यो वार्ता अमेरिका र उत्तर कोरिया दुवैका लागि विश्वशान्ति र आर्थिक स्थायित्वका लागि आवश्यक थियो, त्यसैले उनीहरू वार्तामा आएका हुन् । यसमा दक्षिण कोरिया, चीनको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ, साथै जापानले पनि यसका लागि पर्दा पछाडि बसेर सहयोग गरिरहेको छ । 

 

उहाँको विचारमा मङ्गलबारको वार्ताबाट खासै ठूलै उपलब्धि होला भन्न सकिन्न तर यस पछि विगतमा २००९ देखि नै सशुुप्त अबस्थामा रहेको उत्तर कोरिया , दक्षिण कोरिया, चीन, जापान, अमेरिका र रूस सहभागी ‘सिक्स पार्टी’ वार्ताले केही महत्वपूर्ण कदमहरू बढाउनसक्छ साथै अमेरिकाले उत्तर कोरियाका लागि आर्थिक ‘प्याकेज ’ल्याउन सक्छ र यो वार्ता सकारात्मक भयो भने विश्वशान्ति एक कदम अघि बढ्न सक्छ । 

 

नेपाललाई हुने फाइदका विषयमा पूर्व पराराष्ट्रमन्त्री श्रेष्ठले विगतमा उत्तर कोरियाले नेपाललाई खरी ढुङ्गामा केमिकल प्रयोग गरी कपडा बनाउने प्रविधि दिने तयारी गरेको तर पछि त्यो फाइल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा त्यतिकै अड्किएको स्मरण गराउँदै भन्नुभयो, “दुबै कोरियाले विगतमा नेपाललाई सहयोग गरेका छन् त्यस कारण नेपालका लागि थप आर्थिक सहयोगको सम्भावना बढ्न सक्छ ।”

 

यो वार्ताले कोरियाली प्रायद्वीपमा शान्ति छाउने र अणविक निशस्त्रीकरण अगाडि बढ्नुका साथै हालको वार्ता सिङ्गापुरमा हुनु र वार्ता स्थलको सुरक्षा गोर्खाली दाजुभाइबाट हुने समाचारले गोर्खालीहरूको बहुआयामिक सुरक्षा क्षमताको विश्वभर चर्चा भएको श्रेष्ठको भनाइ छ । 

 

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका नेता तथा परराष्ट्रविद् डा. राजन भट्राईले नेपाल यसले विश्व राजनीतिमा निषेधको राजनीतिलाई तोडेर शान्ति र सहअस्तित्वको राजनीतिलाई प्राथमिकता दिने बताउँदै कोरिया प्रायद्वीपमा शान्तिको वतावरण बन्ने बताउनुभयो । नेपाल एसिया प्रसान्त क्षेत्रकै सदस्य राष्ट्र हुनुका साथै नेपालीहरूको त्यस क्षेत्रमा ठूलो उपस्थितिले गर्दा त्यस क्षेत्रमा हुने शान्तिको प्रत्यक्ष फाइदा नेपाललाई पुग्ने उहाँको भनाइ छ । 

 

सो ऐतिहासिक वार्ताको सम्पूर्ण तयारी पूरा भएको छ । दुवै देशका नेता वार्ताका लागि सिंगापुर पुगिसक्नुभएको छ । कुनै अनपेक्षित घटना भएन भने दुवै नेताबीच मङ्गलबार ऐतिहासिक वार्ता हुने विभिन्न समाचार संस्थाले जनाएका छन् । अमेरिकाले उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम बन्द गर्नुपर्ने शर्त राखेको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024