सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ को कपुर टोलमा ट्रक दुर्घटना हुँदा एउटै गाउँका पाँच मजदुरको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान को १ ख ४५४४ नम्बरको मार्बल तथा टाली बोकेको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा ट्रकमा लोड–अनलोडका लागि पछाडितर्फ बसेका ५ जना मजदुरको मृत्यु भएको छ।
सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले दुर्घटनामा परेर पाँचै जनाको घटनास्थलमै मृत्यु भएको बताए। उनले दुर्घटनामा मृत्यु हुनेहरूमा सुनसरीको बर्जु गाउँपालिका-१ का धिरेन्द्र गुरुङ, ब्रह्मदेव गुरुङ, चन्द्रबहादुर गुरुङ, निसु गुरुङ र टंक गुरुङ रहेका बताए। दुर्घटनामा २ जना घाइते भएका छन्।
घटनाको खबर फैलिनासाथ घटनास्थलमा प्रहरी टोली र मृतकका आफन्त पुगेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। ट्रक दुर्घटना कसरी र किन भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।