म्याग्दीको धवलागिरी गाउँपालिका–४, राताखोला स्थित ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा टिप्परको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार शुक्रबार साँझ करिब ६ बजे आयोजना क्षेत्रमा सञ्चालन भइरहेको बा.प्र.०१००४ क. १३०७ नम्बरको टिप्पर ब्याक गर्ने क्रममा उक्त मजदुरलाई ठक्कर दिएको थियो ।
टिप्परको ठक्करबाट गम्भीर घाइते भएका कञ्चनपुरको लालझाडी गाउँपालिका–४ निवासी अन्दाजी ३५ वर्षीय भीमबहादुर सार्की ओडलाई उपचारका लागि बेनीस्थित प्रदेश अस्पताल ल्याइएको थियो । उपचारका क्रममा राति ९ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।
टिप्पर चालक मकवानपुरको भीमफेदी गाउँपालिका–३ निवासी अन्दाजी ३०–३५ वर्षीय राजेश घलानलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।