झन्डै दुई लाख बाल श्रमिक

12 April, 2023

धनगढी, चैत २९ गते । सुदूरपश्चिम प्रदेशमा एक लाख ७१ हजार बाल श्रमिक रहेका पाइएको छ। श्रमिक बालबालिकाको उमेर पाँचदेखि १७ वर्ष छ।

केन्द्रीय तथ्याङ्क विभागको राष्ट्रिय बाल श्रम प्रतिवेदन, २०२१ अनुसार पाँचदेखि १३ वर्ष उमेर समूहका एक लाख ५३ र १४ देखि १७ वर्ष उमेर समूहका १८ हजार बाल श्रमिक छन्। राष्ट्रिय बाल अधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक मिलनराज धरेलका अनुसार सुदूरपश्चिम प्रदेशमा जोखिमपूर्ण काममा संलग्न बाल श्रमिकको सङ्ख्या ११ हजार छ। यो सङ्ख्या अरू प्रदेशको भन्दा कम हो।

बाल श्रम प्रतिवेदन, २०२१ अनुसार सुदूरपश्चिम प्रदेशमा सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा बाल श्रमिकको सङ्ख्या अधिक छ। प्रदेशको सहरी क्षेत्रमा ८२ हजार र ग्रामीण क्षेत्रमा ८९ हजार बाल श्रमिक छन्। पछिल्ला वर्षमा माध्यमिक तहसम्मको शैक्षिक अवसर, वैकल्पिक हेरचाहको उचित व्यवस्था, अनौपचारिक श्रमको पञ्जीकरण, सामाजिक सुरक्षा, प्राविधिक शिक्षाको विस्तार र स्थानीय बाल संरक्षण सेवाको उपलब्धताले बाल श्रम न्यूनीकरणमा सकारात्मक सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बाल श्रममा कमी ल्याउन प्रदेश सरकारले बालबालिकासम्बन्धी नियमावली ल्याउनुपर्ने, बाल श्रम निवारण, बाल संरक्षण प्रणाली स्थापना र सञ्चालन तथा बाल सहभागिताको विषयमा स्पष्ट व्यवस्थासहित १० वर्षीय कार्ययोजनाको आवश्यकता औँल्याइएको छ।

त्यस्तै बाल श्रम निवारण तथा न्यूनीकरण कार्यका लागि सामाजिक विकास मन्त्रालयमा बाल श्रम निवारण शाखाको स्थापना र सञ्चालन तथा माध्यमिक शिक्षा (प्राविधिक र गैरप्राविधिक) विस्तार तथा सुधारका लागि आगामी बजेटमा बजेट वृद्धि गर्न आग्रह गरिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024