ज्यालादारी र न्यून आय भएकालाई राहत दिन सभामुखको आग्रह

30 March, 2020

ऋषिराम पौड्याल 

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले दैनिक ज्यालादारी र न्यून आय भएका नागकिरकलाई राहत दिन सरकारलाई आग्रह गरेका छन् । सोमबार विज्ञप्ति र भिडियो सन्देशमार्फत् उनले थप राहतको व्यवस्था गर्न सुझाव दिएका हुन् । उनले सन्देशमा शंका गरिएका बिरामीको स्वास्थ्य जाँचको दायरा बढाउनुपर्ने बताएका छन् । 

सरकारले अघि सारेको आर्थिक राहत तथा सहुलियत कार्यक्रमको सराहना गर्दै सापकोटाले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘दैनिक ज्यालामा निर्भर तथा न्यून आय भएका नागरिकका लागि राहतको उचित प्रबन्ध गर्न जरुरी देखिन्छ ।’ 

मित्र राष्ट्रहरू र मुलुकको निजी क्षेत्रले स्वास्थ्य सामग्री उपलब्ध गराउन निर्वाह गरेको भूमिकाको प्रसंशा उनले प्रशंसा गरेका छन् । संक्रमण रोकथामका लागि थप सहयोग परिचालन गर्नु आवश्यक रहेको उनको भनाइ छ । गत फागुन २३ मा भाइरस नियन्त्रण र रोकथामका लागि प्रतिनिधिसभामा संकल्प प्रस्तावमाथि छलफल गरेको सन्दर्भ जोड्दै उनले सांसदहरूलाई यस कार्यमा आ–आफ्नो ठाउँबाट दृढ अठोटका साथ पहल जारी राख्न आह्वान गरेका छन् । ‘यो परिस्थतिमा रातदिन खटिरहनुभएका स्वाथ्यकर्मी, सुरक्षाकर्मी र उपचारमा संलग्न सबैको प्रशंसा गर्दछु,’ विज्ञप्तिमा छ । 

स्वास्थ्य सामाग्री र सुरक्षा उपकरणको उचित वितरणमा जोड दिँदै उनले यस्तो अवस्था लामो समय नरहने विश्वास व्यक्त गरेका छन् । उनले रोगलाई परास्त गर्न सामूहिक प्रतिबद्धता र आत्मअनुशासनको आवश्यकता रहेको बताएका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024