जापान रोजगारी, मार्चदेखि परीक्षार्थी कोटा बढ्ने

3 January, 2020

रुद्र खड्का

काठमाडौं – जापान रोजगारीका लागि लिइने परीक्षार्थीको संख्या बढ्ने भएको छ। जापान रोजगारीमा इच्छुक संख्याको तुलनामा निकै कमले मात्र भाषा र सीप परीक्षामा सहभागी हुन पाइरहेको बेला जापान फाउन्डेसनले आउँदो मार्चदेखि परीक्षामा सहभागी हुनेको संख्या बढाउन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

‘मार्च महिनादेखि हुने भाषा र सीप परीक्षामा एक हजार तीन सयले प्रतिस्पर्धा गर्न पाउने भएका छन्,’ मन्त्रालयका उपसचिव दीपक ढकालले बिहीबार नागरिकसँग भने, ‘त्यसपछि केही युवायुवती रोजगारीका लागि जापान जान पाउने अपेक्षा गरिएको छ।’

अघिल्लो वर्ष जापान सरकारले नेपाललाई कामदार आपूर्ति गर्ने स्रोत मुलुकको सूचीमा राखेपछि ठूलो संख्याका युवायुवतीले जापान जान पाउने आसमा भाषा र सीप सिकेका छन्। तर अहिलेसम्म एकजना पनि जापान जान पाएका छैनन्।

फाउन्डेसनले पहिलोपटक अक्टोबरमा एक हजार युवायुवतीको भाषा र सीप परीक्षा लिए पनि एकजना पनि उत्तीर्ण हुन सकेका थिएनन्। ‘एउटा पनि परीक्षार्थी सफल नहुनको कारण निकै थोरैले प्रतिस्पर्धा गर्न पाएकाले हो कि भन्ने मन्त्रालयको अनुमान छ,’ ढकालले भने, ‘यस्तो समस्या समाधानका लागि परीक्षार्थीको कोटा वृद्धि गर्न जरूरी थियो। अब वृद्धि गरिएको कोटाले केही सहयोग पुग्ला कि !’

पहिलो चरणको भाषा र सीप परीक्षामा सहभागी हुन १३ हजारले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये फाउन्डेसनले गोलाप्रथाबाट एक हजारलाई मात्र भाषा र सीप परीक्षामा सहभागी गराएको थियो। मन्त्रालयले आवेदन दिएका सबैलाई भाषा र सीप परीक्षामा सहभागी गराउन आग्रह गरे पनि फाउन्डेसनले ठूलो संख्यालाई परीक्षा लिन नसकिने भन्दै गोलाप्रथाबाट एक हजारलाई मात्र छनोट गरेको थियो।

‘जापान लैजाने कामदार छनोटमा मन्त्रालयको भूमिका खासै नहुने भएकाले हामीले आग्रह मात्रै गर्ने हो,’ ढकालले भने, ‘कति संख्या र कस्ता कामदार लैजाने भन्नेबारे निर्णय गर्ने सम्पूर्ण अधिकार जापान सरकारले छनोट गरेको जापान फाउन्डेसनको हो।’ फाउन्डेसनले कामदार छनोट गर्दा भाषा र सीपमा दक्षलाई मात्र लिने जनाएको छ।

जापान सरकारले अघिल्लो वर्ष नेपाललगायत विश्वका नौ स्रोत मुलुकबाट आउँदो पाँच वर्षमा साढे तीन लाख श्रमिक लैजाने घोषणा गरेको थियो। नेपालबाट कति कामदार लैजाने भन्नेबारे कोटा नतोकिए पनि सरकारी अधिकारीहरूले वर्षमा पाँच हजार जति पठाउने पहल गरेका थिए। जापान सरकारले चौध सेक्टरमा काम गर्नका लागि विभिन्न गन्तव्य मुलुकबाट कामदार लैजाने निर्णय गरे पनि फाउन्डेसनले नेपालबाट पहिलो चरणमा नर्सिङ केयरको भाषा र सीप परीक्षा सुरु गरेको थियो।

पहिलो चरणको भाषा र सीप परीक्षामा सहभागी सबै अनुत्तीर्ण हुनुको कारण सरकारी अधिकारीहरूले नर्सिङ केयरका लागि मात्र परीक्षा लिइनुलाई पनि लिएका छन्। ‘कृषि, निर्माण, मत्स्यपालन जस्ता क्षेत्रमा काम गर्न भाषा र सीपको परीक्षा लिइएको भए नेपाली युवा सफल हुन्थे कि भन्ने लाग्छ,’ ढकालले भने।

पहिलो चरणमा कोही पनि उत्तिर्ण नभएपछि अब हरेक दुई महिनामा जापान रोजगारीका लागि भाषा र सीपको परीक्षा हुने मन्त्रालयले जनाएको छ। राम्रो पारिश्रमिक पाइने र बसोबास पनि राम्रो भएकाले लामो समयदेखि जापान जान ठूलो संख्यामा युवायुवती प्रतीक्षारत छन्। अघिल्लो वर्ष जापानले कामदार लैजाने निर्णय गरेसँगै ठूलो संख्याका युवायुवतीले जापानीज भाषा सिकिरहेका छन्। अधिकारीहरूका अनुसार रोजगारीका लागि जापान जाने युवायुवतीको मासिक न्यूनतम पारिश्रमिक डेढ लाख रुपैयाँभन्दा बढी हुन्छ।

राम्रा गन्तव्य खोजिरहेका छौं: श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले सरकार रोजगारीका राम्रा गन्तव्य खोजीमा रहेको बताएका छन्। बिहीबार वैदेशिक रोजगार पत्रकार समाजमा आवद्ध सञ्चारकर्मीसँग कुरा गर्दै यादवले राम्रा गन्तव्य खोजी गरिरहेको बताएका हुन्।

यतिखेर अधिकांश युवा रोजगारीका लागि खाडी मुलुक र मलेसिया जाने गरेका छन्। ती मुलुक जानेले राम्रो पारिश्रमिक पाउन नसकेका कारण राम्रा गन्तव्यको खोजी हुनुपर्ने आवाज उठ्दै आएको छ। सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले पछिल्ला दिनमा युवा वैदेशिक रोजगारीमा जाँदा कृषि उत्पादकत्वमा पनि ह्रास आएको बताए।

हाल वैदेशिक रोजगारीमा जाने युवामध्ये करिब ९० प्रतिशत खाडी मुलुक र मलेसिया जाने गर्छन्। यतिखेर वर्षमा करिब पाँच लाख युवा श्रम स्वीकृति लिएर कामको खोजीमा विदेश जान्छन्। सोही कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव विनोद केसीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सबै निकायबीच सहकार्य हुनुपर्ने बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026