जापानमा नेपाली युवतीमा कोरोना संक्रमण

3 April, 2020

चन्द्रशेखर अधिकारी 

काठमाडौं : जापानमा २१ वर्षीया एक नेपाली युवतीलाई कोरोना (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। 

केअर गिभरको रुपमा कार्यरत ती युवतीलाई उनले हेरचाह गर्ने बृद्धबृद्धाबाट सरेको अस्पतालले पुष्टि गरेको छ। ती युवातीको इवाराकी प्रिफेसनको चुकुबा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। 

अस्पतालले उनको ब्यक्तिगत विवरण बाहिर ल्याएको छैन। उनलाई कोरोना भएको पुष्टि भएलगत्तै दूतवासलाई अस्पतालले जानकारी दिएको थियो। दूतावासले पनि परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ। 

जापानस्थित नेपाली दूतवासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले अस्पतालमार्फत दूतावास संक्रमितको सम्पर्कमा रहेको टेलिफोनमा बताए। ‘केयर गिभरका रुपमा कार्यरत उनलाई परीक्षण गर्दा त्यस्तो देखिएको हो। उनी कार्यरत स्थानमा एक बृद्धालाई कोरोना संक्रमण देखिएपछि सबैलाई परीक्षण गरिएको थियो’, अर्यालले भने, ‘उहाँको अवस्था अहिले सामान्य छ। चिकित्सकले खतरा उन्मुख रहेको बताएका छन्।’ 

केही दिनदेखि यस्तो संक्रमणमा रहेको र परीक्षण सकारात्मक देखिएपछि उनलाई अस्पताल लगिएको दूतावासले स्पष्ट पारेको छ। उनले काम गर्ने स्थानमा अन्यलाई पनि कोरोना देखिएको छ। जापानमा कुनै पनि कम्पनी, घर, कार्यालयमा एक जनामा संक्रमण देखिए सबैलाई परीक्षण गरिन्छ। 

जापानमा एक लाख भन्दा बढी नेपाली छन्। अधिकांश नेपालीको रेस्टुराँ ब्यवसाय छ। त्यहाँ काम गर्ने पनि नेपाली नै रहेकाले नेपाली बढी जोखिममा रहेको कार्यवाहक राजदूत अर्यालले बताए। 

जापानका नेपालीको लागि यो पहिलो केश भए पनि अन्य संक्रमित ठिक भइरहेका छन्। यहाँ पूर्ण लकडाउन छैन। त्यसले जोखिम बढाएको छ। कार्यवाहक राजदूतका अनुसार यसअघि नै संक्रमण हुनथाले पछि दूतावासले नेपाली समुदायलाई यसमा सचेत हुन आग्रह गरिसकेको छ। 

समुदायसँग सम्पर्कमा रहेर आफूले काम गरिरहेको उनले बताए। नेपालबाट आएका र नेपालमा लकडाउन र उडान स्थगनपछि अलपत्र परेका नेपाली, भिसा सकिएका नेपालीको बारेमा जापान सरकारसँग कुरा गरेर उनीहरुको ब्यवस्थापन गर्ने कार्य गरिएको बताए। 

दूतावासले समस्या हुने वित्तिकै कूटनीति च्यानलमा पत्राचार गर्ने गरेको उनले बताए। यसअघि पानी जहाजमा रहेकी एक नेपाली महिलालाई पनि कोरोना संक्रमणको आशंका गरिएको थियो। ती महिला भारत आएर १४ दिन क्वारेन्टाइनमा बसेपछिको परीक्षणमा कोरोना नदेखिएपछि घर फर्केकी थिइन। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024