चीनबाट १०५ जना नेपाली स्वदेश फर्किए

9 July, 2020

लक्ष्मी लम्साल

बेइजिङ — कोभिड-१९ महामारीका कारण चीनका विभिन्न स्थानमा रोकिएका नेपालीहरू बिहीबार नेपाल फर्किएका छन्। अध्ययनका सिलसिलामा चीनमा रहेका १०५ जना नेपाली विद्यार्थी र अन्य बिहीबार बिहान हिमालय एयरलाइन्सको उडानमार्फत् नेपालका लागि उडेका हुन्।

थ्येनचिन पिनहाइ विमानस्थलमा स्वदेश फर्कन लागेका नेपालीहरु

गत वर्ष डिसेम्बरको अन्त्यतिर चीनको वुहानमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पाइएपछि त्यहाँ रहेका नेपालीहरूलाई नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत् नेपाल फर्काइएको थियो। हाल चीनमा कोरोनाको महामारी कमजोर हुँदै गएको छ तर नेपालतर्फ भने संक्रमणको दर उच्च हुँदै गइरहेको छ। यसैकारण नेपाल र चीनले समेत अन्तर्राष्ट्रिय उडानहरू स्थगित गरेका छन्।

अध्ययन सकिएको र भिसाको म्याद पनि सकिन लागेको अवस्थामा धेरै विद्यार्थीसहित केही नेपालीहरू आफ्नै खर्चमा स्वदेश फर्किन लागेका हुन्। अफ्ठ्यारो बेलामा पनि उडान हुन लागेकोले उत्साहित भएका विद्यार्थीहरू चर्को हवाई भाडाले भने निराश भएको बताउँछन्।

हालको हवाई भाडा महामारीअघिको दोहोरो टिकट काटेभन्दा पनि महँगो हो। बेइजिङस्थित फरेस्ट्री युनिभर्सिटीबाट ग्राजुएट भएकी लक्ष्मी धमलाले बाध्य भएर महँगो टिकट लिएको बताइन्। उनले भनिन्, ‘पढाइ पनि सकियो, भिसा म्याद पनि सकिन लाग्यो। अब बल्लतल्ल हुन लागेको उडानबाट नफर्किनुको विकल्प पनि रहेन।’

बेइजिङस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुशील लम्सालले विद्यार्थीसहित १०५ जना नेपाली यस उडानबाट फर्किएको र अझै बाँकी १०० भन्दा बढी विद्यार्थीहरूको ग्राजुएसनको प्रतीक्षामा रहेको बताए। उनले भने, ‘कतिपय विद्यार्थीको दीक्षित हुने समय बाँकी रहेकाले अर्को उडानका लागि पनि पहल गर्नुपर्ने देखिन्छ।’

थ्येनचिनस्थित मेडिकल युनिभर्सिटीबाट अध्ययन पूरा गरेर फर्किन लागेका भरतपुरका शशांककुमार सिंहले हवाई भाडा सस्तो वा महँगो भन्दा पनि कोभिड-१९ को जटिल परिस्थितिमा उडान व्यवस्थापन हुनु नै ठूलो राहत भएको बताए। नेपालमा लकडाउन खुलेपछिको उडानका लागि चिनियाँ एयरलाइन्सहरूले पनि अग्रिम टिकट बुकिङ गरिरहेका छन्। त्यो पनि तुलनात्मक रूपमा महँगो नै छ। एमबीबीएस, एमडी डा.सिंहले भने, ‘कतिपय विद्यार्थीहरूको ग्राजुएसनको समय आउँदैछ। थप अर्को उडानको लागि पनि नेपालले तयारी गर्नुपर्नेछ।’

महामारीका कारण पूर्ण क्षमतामा उडाउन नपाइने भएकाले एयरलाइन्सहरूलाई पनि यतिखेर दबाब छ। हिमालय एयरलाइन्स श्रोतले भन्यो, ‘पहिलेको जस्तो अवस्था छैन। विभिन्न सावधानी अपनाएर ‘फुल क्यापासिटी’ उडाउन नपाइने अर्थात् ७५ प्रतिशत मात्रै यात्रु ओसार्न पाइने र सुरक्षा सतर्कतामा पनि खर्च हुने भएकाले एयरलाइन्सलाई पनि सहज छैन।’

नेपाल फर्किनका लागि नेपाली दूतावासले भर्न लगाएको फारममा दुई सय भन्दा बढीले विवरण टिपाएका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026