जनकपुरधाम : घरेलु श्रममा लागेका महिलाहरूलाई सम्मानपूर्वक व्यवहार नगरिँदा राम्रो अर्थ उपार्जन गर्न सके पनि महिलाहरूले यो पेसालाई अपनाउन सकिराखेका छैनन् ।
रूपा मण्डल पछिल्लो पाँच वर्षदेखि घरेलु श्रम गरेरै आयआर्जन गरिराखेकी छिन् । जनकपुरका विभिन्न घरहरूमा स्याहार कार्यदेखि लिएर घरायसी कार्यहरू गर्दै आएकी रूपाको परिवारलाई उनको श्रमबाट प्राप्त पारिश्रमिकले आर्थिक रूपमा निकै सहयोग गरेको छ । उनका श्रीमान् पनि दैनिक ज्यालादारीकै काम गर्छन् । छोराछोरी पढाउनदेखि घरका सानाठूला आवश्यकताहरूलाई पूर्ति गर्नसमेत रूपाको मेहनतले सहयोग गरेको छ । तर, उनी आफ्नो कामप्रति सन्तुष्ट छैनन् । रूपालाई लाग्छ घरेलु श्रम गर्नेको सम्मान समाजमा छैन ।
‘म पहिला बोर्डिङ स्कुलमा काम गर्थें तर, त्यहाँ दिनभरि काम गर्दा पनि थोरै पारिश्रमिक आउँथ्यो । घरकाम गर्दा पारिश्रमिक बढी आउँछ तर, सामाजमा हेलाको दृष्टिकोणले हेर्ने हुनाले बरु कम पैसा आएर पनि स्कुलमै काम गरेको ठीक लाग्थ्यो ।’
रूपाले आफ्नै पेसालाई मनले स्वीकार गर्न नसक्नुका पछाडि सामाजिक दृष्टिकोण मूल कारण रहेको छ । विशेषगरी मधेसमा घरेलु श्रम गर्नेलाई ‘नोकर’ भनी हेला गर्ने प्रवृत्तिले गर्दा पनि पछिल्लो समय घरेलु श्रमिकहरू पाउनै गाह्रो भएको छ । ‘पहिला काठमाडौं बस्दा सजिलै घरका काम गर्ने बहिनीहरू भेटिन्थे तर, जनकपुर आएदेखि काम गर्ने मान्छे खोज्दा पनि पाइँदैन । भेटेकाहरू पनि प्रोफेसनल छैनन्,’ लामो समय काठमाडौंको बसाइपछि अहिले जनकपुरमै घरजम गरेर बसेकी रेणु झा भन्छिन्, ‘यहीँ काम विदेशमा गरेर हाम्रै चेलीहरूले राम्रो आयआर्जन गरेका छन् तर, यहाँ मधेसमा हेपाहा प्रवृत्तिले गर्दा घरेलु श्रमिक पाउनै गाह्रो छ ।’
अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्यांकअनुसार विश्वभर करिब ५ करोड २६ लाख घरेलु श्रमिक छन् । जसमा पुरुषको संख्या अन्दाजी ५० लाख छ भने महिलाको संख्या ४ करोड ३६ लाख छ । नेपालमा करिब २ लाख ५० हजारभन्दा बढी घरेलु श्रमिक कार्यरत छन् । नेपाली घरेलु कामदारका रूपमा विश्व श्रमबजारमा कार्यरत हुँदै आएका छन् । नेपाल घरेलु श्रमिकको उद्गम देशका रूपमा परिचित भए पनि नेपालीहरूलाई आफ्नै देशमा घरेलु श्रमिकका रूपमा काम गर्न सामाजिक विभेदले गर्दा समस्या रहेको अधिवक्ता विनिता पाण्डेको ठम्याइँ छ ।
‘घरपरिवार, समुदाय र मुलुकको आर्थिक तथा सामाजिक संरचनामा योगदान पुर्याउन घरेलु श्रम र श्रमिकको निकै ठूलो महत्त्व छ,’ अधिवक्ता पाण्डे भन्छिन्, ‘उनीहरूले बालबालिका, वृद्धवृद्धा, बिरामी र अपांगहरूको हेरचाह, खाना पकाउने, सरसफाइ गर्ने जस्ता काममार्फत परिवारलाई सघाउँछन् । सार्वजनिक सेवा र औपचारिक हेरचाह प्रणालीको अभावमा घरेलु श्रमिकहरूले घरभित्रै आवश्यक सेवा प्रदान गर्दा सामाजिक पुनरुत्पादन प्रणालीलाई सुचारु भएको छ । घरका सदस्यहरू रोजगारीमा संलग्न हुन सक्षम वातावरण निर्माण भएको छ ।’
घरेलु श्रमिकहरूले समाजमा ठूलो योगदान पुर्याइराखे पनि उनीहरूको श्रमलाई अनुत्पादक ठानेर मूल्यको अवमूल्यन भएको, लैंगिक विभेदको सिकार हुनुपरेको, पहिचान नपाएको जस्ता समस्याहरू रहेको महिला अधिकारकर्मी रेणु राजभण्डारी बताउँछिन् । ‘घरेलु श्रमलाई अनुत्पादक श्रम भनेर यसको पहिचाननै गरिएको छैन,’ भण्डारी भन्छिन्, ‘घरेलु श्रममा लागेका विशेषगरी महिलाहरू संवैधानिक र संरचनागत रूपमा विभेदित छन् ।’
घरेलु श्रम नेपालमा मुद्दाकै रूपमा स्थापित हुन नसकेको गाउँपालिका महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेल स्वीकार्छन् । ‘यो हाम्रो मुद्दा नै बन्न सकेको छैन । यस विषयमा स्थानीयस्तरमा कुनै तथ्यांक नै छैन । हामी आफ्नै क्षमता अभिवृद्धिमै केन्द्रित छौं । यो विषय महत्त्वपूर्ण भए पनि यसमा जनचेतना अभिवृद्धि हुन सकेको छैन,’ प्याकुरेल थप्छन्, ‘सर्वप्रथम त घरेलु श्रमिकको सही तथ्यांक संकलन गर्नु आवश्यक छ । उनीहरूलाई सूचीकृत गर्नुपर्छ । गाउँपालिकाहरूमा भएको श्रम रोजगार शाखामार्फत यसलाई व्यवस्थित बनाउन हामी पहल गर्नेछौं ।’
घरेलु श्रमिकहरूले पनि अन्य क्षेत्रमा कार्य गर्ने श्रमिकझैं अधिकार र पहिचान पाउनुपर्ने घरेलु श्रमिक मञ्चकी सचिव गोमा भण्डारी बताउँछिन् ।नेपालको संविधानमा श्रमिकको अधिकार मौलिक हकको धारा १८, २९, ३३, ३४, ३८ र ३९ ले प्रदान गरेको छ । जसमा हिंसाविरुद्धको हक, ट्रेड युनियनसम्बन्धी हक, सामाजिक सुरक्षाको हकलगायतका अधिकारहरू छन् । श्रम ऐन, २०७४ को दफा २(भ) मा ‘ श्रमिक’ भन्नाले पारि श्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा कर्मचारी वा जुनसुकै पदनाम दिई काममा लगाइएको व्यक्ति सम्झनुपर्ने भनी उल्लेख गरिएको छ । यस परिभाषाले घरेलु श्रमिकहरूलाई पनि समेट्छ ।
नेपालमा न्यूनतम पारि श्रमिकसम्बन्धी नीतिगत व्यवस्थाअनुसार पारि श्रमिक तोकिएबमोजिम हुने, घरमै बसेर काम गर्ने श्रमिकको पारिश्रमिक कट्टा गर्ने, बिरामी भएमा स्वास्थ्योपचारको व्यवस्था गरे बापतको खर्च काट्न नसकिने र तोकिएको समयभन्दा बढी काम गरे थप पारि श्रमिकको व्यवस्था गरिएको छ । तर, घरेलु श्रमिकको हकमा यी व्यवस्थाहरूले काम गर्न सकेको छैन ।
घरेलु श्रमिकहरूले पारिश्रमिक अझै तोकिएको अवस्था नरहेको, कम पारिश्रमिकमा काम गर्न बाध्य भएको र बढी समय कम गर्नुपर्ने बाध्यता छ । त्यसैगरी महिला घरेलु श्रमिकहरूले अन्य क्षेत्रको तुलनामा २८.५ प्रतिशत कम पारि श्रमिक पाउने गरेको एक अध्ययनले देखाएको छ । बिरामी हुँदा काममा नजाँदा दैनिकका रूपमा पारिश्रमिक कट्टा गरिदिने जस्ता ज्यादतीहरूले घरेलु श्रमलाई व्यवस्थित गर्न नसकेको अधिकारकर्मीहरू बताउँछन् ।