‘घरेलु कामदार रोक्दा मानव तस्करी मौलायो’

15 August, 2019

तुलसी सुवेदी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालले घरेलु कामदार रोक्दा मानव तस्करी बढेको बताएका छन्। उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता समितिमा बोल्दै बुधबार सचिव दहालले घरेलु कामदारलाई श्रम स्वीकृति दिने प्रक्रिया रोकिँदा मानव तस्करीलाई प्रोत्साहन मिलेको बताए।

‘भारतको बाटो हुँदै घरेलु कामदारका रुपमा खाडी जाने बढेका छन्’, उनले भने,‘भिजिट भिसामा युएई जाने क्रम पनि बढेको छ।’ तत्कालीन संसदीय समितिले २०७२ भदौ भदौदेखि घरेलु कामदारलाई श्रम स्वीकृति दिन रोक्न निर्देशन दिएसँगै सरकारले त्यसयता घरेलु कामदारलाई पठाउन बन्द गरेको छ।

श्रम स्वीकृति रोकिँदा श्रमिक गैरकानुनी ढंगबाट वैदेशिक रोजगारीमा जाने गरेका छन्। अवैधानिक बाटोबाट महिला घरेलु कामदारकोरुपमा वैदेशिक रोजगारीमा गएसँगै त्यसले झन् शोषणमा परेको सरोकारवाला निकायहरुहरुले बताउँदै आएका छन्। सरकारले पहिलो चरणमा २०७२ अघि श्रम स्वीकृति पाएर बिदामा अवसरमा घर आएकालाई पठाउन चाहेको छ। समितिले निर्देशन नदिँदा उक्त प्रक्रिया रोकिएको हो। श्रम मन्त्रालयले १हजारभन्दा बढी महिला कामदार बिदाका रुपमा आएर जान नपाएको भन्दै त्यस्ता कामदारको पक्षमा निर्णय गर्न साउन २० गते समितिलाई पत्राचार गरेको थियो।

मन्त्रालयका अनुसार ०७२ अघि ३० हजार महिला घरेलु कामदारको रुपमा विभिन्न खाडी मुलुक गएका छन्। सचिव दहालले १ हजार भन्दा बढी महिलाले बिदामा रुपमा आएको र पुनः रोजगारीमा जान चाहेको निवेदन दिएको भन्दै त्यस्ता महिला कामदारलाई खुला गर्नुपर्ने बताए। ‘आवश्यक कागजातका साथ तथा उनीहरु संयम सुरक्षित भएको घोषणा गर्नेलाई पुनः श्रम स्वीकृति दिन सकिन्छ’, उनले भने। समितिका सभापति विमलश्री प्रसाद बास्तवले बिदामा आएका महिला श्रमिकलाई पठाउन समिति पनि सकारात्मक भएको बताए।

श्रममन्त्री तथा मन्त्रालयका अधिकारी, परराष्ट्र, गृहका प्रतिनिधि, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोगलगायत सरोकारवालासँग छिट्टै छलफल गरेर बिदामा आएका श्रमिकलाई पुनः विदेश जान दिन सकिने बताए। नयाँका हकमा भने समिति र सरकारका प्रतिनिधिले स्थलगत अध्ययनपछि मात्रै निर्णय लिन सकिने बताए।

छलफलका क्रममा अधिकांश सांसदहरुले अध्ययन बिना घरेलु कामदार खोल्न नहुने धारणा राखेका थिए। थप अध्ययन पश्चात मात्रै सरोकारवाला निकायको रायमा निर्णय गर्न सकिने उनीहरुको धारणा थियो। सरकारले घरेलु कामदारलाई श्रम स्वीकृति दिन रोकिएसँगै अधिकांश घरेलु कामदार बिदामा घर फर्किन पाएका छैनन्। केहीले परिवार भेट्न आफ्ना परिवारका सदस्यलाई उतै बोलाउने गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024