गोरखाका मजदुरको गुनासो : मध्यपहाडी लोकमार्गका ठेकेदारले ज्याला दिएनन्

27 June, 2023

गोरखा : मध्यपहाडी लोकमार्ग अन्तर्गत गोरखा खण्डमा काम गरेका मजदुरहरुले लामो समयदेखिको ज्याला नपाएको गुनासो गरेका छन् । निर्माण सामग्रीका सप्लायर्स, रासन सप्लायर्स, कम्पनीका प्राविधिक कर्मचारी, होटल व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालसँग भेटेर हिम्डुङ प्यासिफिक जेभी कन्स्ट्रक्सन कम्पनीका ठेकेदार ठाकुर कँडेलले लाखौँ ठगी गरेको आरोप लगाएका हुन् ।

पालुङटारको मसानेठाँटीदेखि ठाँटीपोखरीसम्मको १३ किलोमिटर खण्ड स्तरोन्नतिको ठेक्का लिएको सो कम्पनीले म्याद सकिँदासम्म एक तिहाइ काम पनि नसकेको र तिर्नुपर्ने ठाउँमा लाखौँ रकम नतिरेर सम्पर्कबिहीन भएको उनीहरुको गुनासो छ ।

काम गरेको पाँच महिना भइसक्दा पनि ज्याला नपाएको मजदुरहरुको गुनासो छ । प्रजिअ भुसालका अनुसार सो सडकमा काम गरेका मजुदरसँगै निर्माण कम्पनीका प्राविधिक, कर्मचारी, स्थानीय होटल व्यवसायीहरुलाई पनि निर्माण कम्पनीले ५० लाख भन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको गुनासो आएको थियो । null

हिमडुङ प्यासाफिक जेभी कम्पनीले लाखौं रुपैयाँ नदिएकोबारे प्रजिअसित गुनासो गर्दै कामदार मजदुरहरु ।

रोल्पाको थवाङबाट काम गर्न आएका ६५ जना मजदुरले गत मंसिरदेखि माघ पहिलो सातासम्म काम गरेको ज्यालाबापत पाँच लाख १४ हजार रुपैयाँ नपाएको गुनासो गरेका छन् । निर्माण कम्पनीबाट कामदार समूहले तीन लाख ९१ हजार लिन बाँकी रहेको रोल्पाका सपना रोका मगरले बताए ।

अर्का रासबहादुर बुढाले पटक पटक ज्याला माग्दा पनि नपाएपछि रित्तो हात घर फर्किनु परेको गुनासो गरे । अहिले आफनो ज्याला लिनका लागि रोल्पाबाट यहाँ आएर होटलमा बसिरहेको उनको गुनासो छ । उनीहरुका अनुसार निर्माण व्यवसायीका प्रतिनिधिसँग पटक पटक फोन सम्पर्क गरे पनि पाउने पर्ने रकम नपाएको गुनासो छ ।

त्यस्तै, पालुङटार बाह्रफर्केका होटल व्यवसायी गोविन्दराज अम्गाईले दुई लाख ३७ हजार, खोप्लाङ सातोबाटोका नयनप्रसाद श्रेष्ठले करिब दस लाख, होटल व्यवसायी पार्वती श्रेष्ठले एक लाख ७० हजार, पालुङटार कुमाल गाउँका ऋषिराम कोइरालाले ६५ हजार, पेटी ठेकेदार घनश्याम खत्रीले दुईलाख ९१ हजार पाउन बाँकी रहेको गुनासो गरेका छन् । ठेकेदारको प्रतिनिधिले फोन नउठाउने गरेको र उठाए पनि विभिन्न बहाना बनाई पैसा नदिने गरेको उनीहरुको गुनासो छ ।

छलफलमा प्रमुख जिल्ला अधिकारीले मजदुरको पैसा दिन ठेकेदार कम्पनीका प्रतिनिधिलाई आग्रह गरेका छन् । त्यस्तै मध्यपहाडी राजमार्गमा भएको कामको ढिलाई बारेमा पनि छलफल गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

सो सडक स्तरोन्नतिका लागि हिम्डुङ प्यासिफिक कन्स्ट्रक्सनले ५५ करोड तीन लाख ७८ हजारमा ठेक्का सम्झौता गरेको थियो । हाल सम्म १५ करोड ५३ लाख ७१ हजार भुक्तानी लगिसकेको आयोजना कार्यालय प्रमुख सुनिल रन्जिकारले बताए । उनका अनुसार निर्माण कम्पनीले थपिएको म्याद यही असार मसान्त सम्मका काम सक्नुपर्नेछ । कुल १३ किलोमिटर खण्ड कालोपत्रेका लागि सम्झौता भएकोमा हालसम्म निर्माण कम्पनीले उक्त खण्डको २८ प्रतिशत मात्र काम सम्पन्न भएको उनले बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024