गैरनेपाली श्रमिकको अभिलेख राख्दै विभाग

22 August, 2019

मुना कुँवर 

नेपाली श्रमिकलाई प्रतिस्थापन गर्दै लगिने योजना भारत, बंगलादेश, पाकिस्तान र म्यानमारलगायतका नागरिक औद्योगिक क्षेत्रमा कार्यरत

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले प्रतिष्ठानमा काम गर्ने सबै खालका गैरनेपाली श्रमिकको अभिलेख राख्ने भएको छ । विदेशी कामदार रहेका प्रतिष्ठानहरूमा क्रमशः नेपाली श्रमिकलाई नै प्रतिस्थापन गर्दै लगिने सोचका साथ विभागले गैरनेपालीको अभिलेख राख्ने तयारी गरेको जनाएको हो । विभागले विशेषगरी भारतीय बोर्डर क्षेत्रमा रहेका औद्योगिक प्रतिष्ठानबाट अभिलेख संकलनको कार्य सुरु गर्ने योजना बनाएको विभागका महानिर्देशक लालमनि ओझाले बताए । उनका अनुसार वीरगन्ज, विराटनगर, नेपालगन्जबाट अभिलेख संकलनको कार्य सुरु हुनेछ ।अभिलेख संकलनका लागि विभागले अध्ययन विधि बनाउने तयारी गरेको छ । विभागले श्रमिकको उमेर समूह, राष्ट्रियता, लिंगलगायत जानकारी संकलन गर्ने योजना बनाएको छ । ‘अभिलेख संकलनका लागि हामी एउटा फाराम तयारी पार्दै छौँ । जसमा श्रमिकको आधारभूत जानकारी राखिनेछ,’ उनले भने । तर, अनौपचारिक क्षेत्रमा काम गर्ने गैरनेपाली श्रमिकको भने तथ्यांक संकलन गर्न सम्भव नहुने उनले बताए ।

मंसिरदेखि अभिलेख संकलन गरिने

विभागले आगामी मंसिरदेखि प्रतिष्ठानमा काम गर्ने गैरनेपाली श्रमिकको अभिलेख राख्ने कार्य सुरु गर्ने बताएको छ । ‘हामीले भदौको अन्तिमदेखि अभिलेखको कार्य सुरु गर्ने योजना बनाएका छौँ । तर, दसैँ र तिहारमा श्रमिकको बिदा हुने हुँदा मंसिरबाट मात्रै नियमित काम सुरु गर्छौँ,’ उनले भने ।

विभागका अनुसार भारत, बंगलादेश, पाकिस्तान र म्यानमारलगायत देशका नागरिक औद्योगिक क्षेत्रमा कार्यरत छन् । अभिलेख संकलन लागि पहिलो वर्ष सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नेपाली श्रमिकलाई प्रतिस्थापन गरिने

वैदेशिक रोजगारीका लागि वार्षिक करिब पाँच लाख नेपाली युवा बिदेसिएका छन् । जसका कारण नेपालमा श्रमिकको अभाव हुन थालेको छ । फलस्वरूप नेपालमा छिमेकी मुलुकबाट श्रमिकहरू भित्रन थालेका छन् । आगामी दिनमा नेपाली औद्योगिक प्रतिष्ठानहरूमा नेपाली श्रमिकलाई नै प्रतिस्थापन गर्न विभागले गैरनेपाली श्रमिकको अभिलेख राख्ने तयारी गरेको विभागका महानिर्देशक ओझाले बताए । ‘हामीले प्रतिष्ठानमा कति गैरनेपाली श्रमिक छन् भन्ने तथ्यांक राख्नेछौँ । साथै, प्रतिष्ठानमा कस्ता खालका श्रमिकको आवश्यकता पर्ने रहेछ भन्ने अभिलेख पनि राख्नेछौँ । जसअनुसार उक्त क्षेत्रमा नेपाली श्रमिकलाई कसरी प्रतिस्थापन गर्न सकिन्छ भनेर योजना बनाउन सहज हुनेछ,’ उनले भने, ‘गैरनेपाली श्रमिकको अभिलेख संकलन गरेपछि नेपाली श्रमिकलाई कस्तो तालिम दिएर प्रतिस्थापन गर्न सकिन्छ भनेर पनि योजना बनाउन सहज हुनेछ ।’

१ हजार १ सय १९ गैरनेपालीले लिए स्वीकृति

गत आव २०७५/०७६ मा १ हजार १ सय १९ गैरनेपालीले नेपालमा श्रम गर्नका लागि श्रम विभागबाट स्वीकृति लिएका छन् । विभागको तथ्यांकअनुसार ८ सय ६२ गैरनेपालीले श्रम स्वीकृति नवीकरण गरेका छन् । आव २०७४/०७५ मा १ हजार ६ सय ४३ गैरनेपालीले काम गर्नका लागि श्रम स्वीकृति लिएका थिए । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार नेपालमा श्रम स्वीकृति लिने गैरनेपालीमा चिनियाँ नागरिक सबैभन्दा बढी छन् । नेपालमा सञ्चालित ठूला परियोजना, जलविद्युत्, गैरसरकारी संस्था, एयरलाइन्सलगायत क्षेत्रमा गैरनेपाली कामदार कार्यरत छन् ।

५ प्रतिशत विदेशी श्रमिकले मात्र पाउँछन् स्वीकृति

श्रम ऐनमा भएको व्यवस्थाअनुसार नेपालमा सञ्चालन भएका प्रतिष्ठानले ५ प्रतिशत मात्र विदेशी कामदार राख्न पाउने प्रावधान छ । तर, ५ प्रतिशतभन्दा बढी गैरनेपाली श्रमिक राख्न चाहनेले सम्बन्धित विभागसँग सम्झौता गर्नुपर्छ । हिमालयन एयरलाइन्स, जलविद्युत्लगायत केही क्षेत्रमा ५ प्रतिशतभन्दा बढी गैरनेपाली कामदार छन् । यसका लागि सम्बन्धित परियोजनाले सम्बन्धित विभागसँग सम्झौता गर्नुपर्नेछ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024