गैरकानुनी रकम उठाउने पक्राउ

21 May, 2018

मलेसिया जाने कामदारबाट गैरकानुनी रुपमा पैसा असुलेको आरोपमा भिएलएन नेपाल हार्बेस्ट ग्रुप अफ कम्पनीका अध्यक्ष राम श्रेष्ठ पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले श्रेष्ठलाई आइतबार दिउँसो पक्राउ गरेको हो।

 

बायोमेट्रिक मेडिकलको डाटा राख्दै आएको कम्पनीले दुई अर्ब ४२ करोड रुपैयाँ गैरकानुनी रुपमा उठाएको आरोप प्रहरीले लगाएको छ। भिएलएन नेपालले मलेसियाली कम्पनी अल्ट्रा किरण एसडिएन बीएचडीलाई व्यावसायिक साझेदार बनाएर काम गर्दै आएको छ।

 

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनकुमार थापाले ग्रुपका अन्य सदस्यलाई समेत पक्राउ गरिएको बताए । मलेसियाको बेस्टिनेट एसडिएन बिएचडी प्रालि नामक कम्पनीमार्फत नेपालमा बायोमेट्रिक प्रणाली लागू गरिएको थियो।

 

बायोमेट्रिक प्रणाली लागू गरेपछि केही वैदेशिक रोजगार व्यवसायीले तत्कालीन संसदीय श्रम समितिमा उजुरी गरेका थिए। सोही उजुरीका आधारमा श्रम समितिले २०७१ पुसमा भिएलएनलाई कारबाही गर्न गृह मन्त्रालय, उद्योग मन्त्रालय, परराष्ट्र मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कम्पनी रजिस्ट्रार कार्यालयलाई निर्देशन दिएको थियो । निर्देशन कार्यान्वयन नभएपछि समितिले २०७२ फागुन १० गते खेद प्रस्ताव पारित गरेको थियो। सोही समितिले पुनः २०७३ मंसिर ९ गते ओएससी, आइएससीलगायत संस्थाको कामकारबाही तत्काल रोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026