गाउँपालिकाको लापरबाहीले करेन्ट लागेर मजदुरको ज्यान गयो

26 October, 2018

गाउँपालिकाको लापरबाहीले करेन्ट लागेर मजदुरको ज्यान गयो, करेन्ट लागेर मृत्यु भएका रबिन्द्र दाशकी भावविहवल श्रीमती सम्हाल्दै आफन्त।

लक्ष्मीपुरपत्तारी गाउँपालिकाले ११ हजार भोल्टको तार टसाएर निर्माण गराइरहेको दुईतल्ले सौचालयमा काम गर्ने राजमिस्त्रीको करेन्ट लागेर ज्यान गएको छ। लक्ष्मीपुरपत्तारी गाउँपालिका–३ का राजमिस्त्री ३० वर्षीय बिरेन्द्र दाश (तत्मा)को ज्यान गएको हो।

बुद्यबार दिउँसो करिब ४ बजे बिरेन्द्र काम गर्दागर्दै बिजुलीको तारमा टाँसिएर भुइँमा झरेपछि हल्लीखली मच्यो । गाउँपालिका कार्यालयमै उपस्थित अध्यक्ष रामबलब साहले भने, ‘११ हजार भोल्टको तारमा करेन्ट लगेका उनी बाच्ने कुरै भएन, उपचारका लागि अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भयो।’

हाई भोल्टेज तारमा दुई तल्ले शौचालय निर्माण गर्नु नै गम्भीर गल्ती भएको स्थानीयको भनाई छ। गाउँपालिका कर्मचारीको लापरबाही घटनाको कारण भएको स्थानीएको आरोप छ। गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष हनुमान मण्डलले आफुलाई हाइभोल्टेजको तार जडान गरी काम भइरहेको आफुलाई जानकारी नभएको बताए। मण्डल शौचालय निर्माण भइरहेको वडाका अध्यक्ष हुन्।

०७३ सालमा तत्कालिन महेशपुर गाविसले गाविस भवनको पछाडि भुइँतल्ले शौचालय निर्माण गरेको थियो। भुइँतल्ले शौचालयमाथी तल्ला थप्ने काम प्रमुख प्रशासकिय अधिकृत रबिन्द कुमार महतले सुरु गराए। १५ दिनदेखि तल्ला थप्ने काम हुँदै थियो। उत्तर तर्फको पर्खालले टासिएकै उत्तर रहेको ११ हजार भोल्ट तारको उचाई छोएपछि इँटा जोड्दै गरेका मिस्त्री दाशलाई करेन्टले तानेको थियो।

तर, प्रमुख प्रशासकिय अधिकृत महतले मिस्त्रीको गल्ती औल्याएका छन्। उनले यो कामको ठेक्केदार यसै गाउँपालिकाका श्रीप्रसाद यादव भएको दाबी गरे। सम्झौता त भएको छैन तर, मैले उनलाई काम गर्न कोटेसन दिएको हुँ, महतले भने।

हाई भोल्टेज तार नजिक निर्माण गर्नु प्राविधिक त्रुटी भएको पनि उनले स्वीकारे। ईलाका प्रहरी कार्यालय लक्ष्मीपुरपत्तारका ईन्सपेक्टर रबिभूषण यादवका अनुसार प्रहरीले घटना अनुसन्धान गरिरहेको छ। पीडित पक्षबाट आउने जाहेरीको आधारमा थप अनुसन्धान सुरु हुने उनले बताए।

सोकमा दाश परिवार अनाहकमा जान गुमाएका बिरेन्द्रकी श्रीमती बबिता दाश घरिघरि मुर्छा पर्छिन्। आफन्तजनले पानी छर्केर उनलाई होसमा ल्याउँछन्। होसमा आउने बित्तिकै उनी हमर राजाके लाईब दे(मेरो राजालाई ल्याईदेउ) भनेर चिच्याउँछिन् अनि मुर्छा पर्छिन्। यो क्रम बुधबार रात्तीदेखि चलिरहेको छ।

छ वर्ष अघि रबिन्द्रसँग बैवाहिक बन्धनमा बाँधिएकि बबिताका दुई छोरा छन्। नाबालक छोराहरु ५ वर्षका कौशल दाश र ६ महिनाका गौरिशँकर दाशलाई सहारा खोसिएको पत्तो छैन्। कौशललाई पित्ताको सहारा खोसिएको जानकारी त दिईएको छैन। तर, आमाको रोदनबाट उनी अनिष्टको आभास पाइसकेका छन्। त्यही भएर होला उनी घरीघरी बुवा खोजीरहेका छन्।

सधैं साँझ परेपछि बुवा कामबाट घर फिर्नुहुन्थ्यो कौशलले भारी स्वरमा भने,‘हिजोबाट खै कहाँ हराउनु भयो, पत्तै छैन्।’ दास निवास पुग्ने नयाँ अनुहारसँग नाबालक कौशलले भारी स्वरमा बुवा ल्याइदिन आग्रह गर्ने गरेका छन्। उनी घरीघरी आमाको आँशु पुछ्दै बुवा फर्किने ढाड्स दिन्छन्। दास निवासको कारुणीक दृश्य देखेर जोकोहीको आँखा रसाउँछ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024