कोरिया रोजगार अझै अन्योल

19 March, 2021

तुलसी सुवेदी

 

काठमाडौं : कामदारको आकर्षक गन्तव्य मुलुक मानिएको दक्षिण कोरिया जान अहिले पूर्ण रुपमा बन्द गरिएको छ । 

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा सहज भए पनि कोरियाले नेपाललाई उच्च जोखिममा राखिरहेको छ । 

कोरियाको रोग नियन्त्रण महाशाखाले नेपाललाई उच्च जोखिममा राखेको छ । कोरोनाको जोखिम नरोकिएसँगै कोरियाले नेपालबाट १ वर्षदेखि कामदार लगेको छैन । नेपालमा कोरोनाको जोखिम कम भए पनि कोरियाले नेपाली कामदार लगेको छैन । नेपालले कोरिया रोजगारी सुचारु गराउन लबिङ गर्दै आएको छ । 

रोजगार अनुमति प्रणाली (इपीएस) कोरिया शाखाका अनुसार कोरियाले कामदार नलगेपछि ७ हजार भन्दा बढी कामदार प्रभावित भएका छन् । रेगुलगर कामदार ५ हजार र कमिटेड २ हजार गरी ७ हजार कामदार कोरिया रोजगारीको प्रतिक्षामा बसेका हुन् । तर ती कामदार कोरिया कहिले जान पाउने अन्योल कायमै छ । 

इपीएस शाखाका निर्देशक इन्द्र गौतमले कोरिया पठाउने काम सुरु नभएको बताए ।  ‘तर सेलेक्सन गर्ने, रोष्टरमा राख्ने र लेभर कन्ट्रयाक गराउने काम रोकिएको छैन ।’ कोरियाले ३/३ महिनामा कन्ट्रयाक पठाउँछ । लेभर कन्ट्याकपछिको भिसा लगाउने त्यसका लागि फम भर्ने काम रोकिएको छ । 

‘त्यो काम त्यता खुलेपछि गर्छौँ । गत फागुनदेखि कोरियामा एउटा पनि कामदार जान पाएका छैनन्’ उनले भने । 

इपीएस शाखाका अनुसार सन् २०२० मा १ हजार २७ जना कामदार कोरिया गएका थिए । सन् २०२१ मा कोही पनि जान पाएका छैनन् । 

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत् वर्षेनी ७ हजार नेपाली कोरिया गइरहेका छन् । भाषा परीक्षा पास गरेको दुई वर्षसम्म छनोटमा नपरे कोरिया जान पाइँदैन । यसपाली पनि नेपालसहित विभिन्न देशबाट विदेशी कामदार लैजानका लागि छिट्टै भाषा परीक्षा सञ्चालन गर्ने भनिए पनि मिति भइसकेको छैन । 

कोरियाले ५ वर्ष काम गरेर आएकालाई कमिटेड सूचीमा राख्छ । त्यस्ता व्यक्ति रोष्टरमा बस्नुपर्दैन । कमिटेड भएर नआएका अरु सबै कोरिया जानुपर्दा पुनः रोष्टरमा बस्नुपर्ने प्रावधान छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले कोरिया रोजगार खुलाउन पहल गरिरहेको बताए । रोजगार सहजीकरणका लागि मन्त्री र राजदूतको केही समयअघि भेटवार्ता भएको थियो । 

कोरियाले हरेक वर्ष नेपालसहित १६ मुलुकबाट कामदार लैजान्छ । यस वर्ष नेपालसहित अन्य देशबाट समेत कामदार गएका छैनन् । कोरियाले यस वर्ष ४ हजार ५ सय जना कामदार लैजाने गृहकार्य गरेको छ । गत वर्षको तुलनामा झण्डै आधा कम नेपाली लैजाने कोरियाको तयारी छ । 

कोरियन भाषा परीक्षाका लागि छलफल भइरहेको मन्त्रालयले जनाएको छ । कोरियाले भाषा परीक्षा पारदर्शी बनाउन जोड दिएको छ । एउटाको नाममा अर्कैले परीक्षा दिने क्रम बढेको भन्दै कोरियाले नयाँ भाषा परीक्षाका लागि बायोमेट्रिक र फिंगर प्रिन्ट राख्ने तयारी गरेको छ । 

मन्त्री चौधरीले एक महिनाभित्र यस्ता सबै मापदण्ड पूरा गरेर भाषा परीक्षा अघि बढाइने बताए । कोरियाले ट्रान्जिट नगरी सिधैँ आफ्नो एयरलाइन्सबाट कामदार लैजाने प्रस्ताव गरेको छ । लेभर कन्ट्रयाक आइसकेका सबै कामदारलाई कोरोनाका कारण समयमै पठाउन नसकिएकाले कम्तीमा ६ महिना थप गर्न नेपालले प्रस्ताव गरेको छ । 

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत गएका ४० हजार कामदार र अध्ययन गर्न गएका विद्यार्थी गरी ५० हजार  नेपाली केरियामा कार्यरत छन् । कोरियामा आप्रवासी कामदारको संख्या २५ लाख रहेको बताइन्छ । 

कोरियाले नयाँ कामदार नलगे पनि कोरियामा काम गर्दै आएका कामदारलाई थप १३ महिनाको भिसा दिइरहेको छ। कोरोना भाइरस(कोभिड–१९) का कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्कन नपाएका कामदारलाई प्रवेशाज्ञा थप गरी अस्थायी मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिएको हो । 

नेपालले सिजनल कामदारसमेत लैजानका लागि कोरियासँग लबिङ गर्दैआएको छ । त्यहाँको सम्बन्धीत मन्त्रालयसँग समन्वय गरेर मौसमी कामदार लैजान सकिने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026