कोरियास्थित नेपाली राजदूतावासले भन्यो-ई७ भिसा प्रणालीमा हालसम्म माग पत्र प्रमाणीकरणको आवेदन आएको छैन

3 September, 2025

काठमाडौं : कोरियास्थित नेपाली राजदूतावासले ई७ भिसा प्रणालीमा हालसम्म माग पत्र प्रमाणीकरणको आवेदन नआएको जनाएको छ। गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० को तेस्रो संशोधनअन्तर्गत हालसम्म कुनै पनि प्रमाणीकरणको आवेदन नआएकाले काम अघि नबढेको राजदूतावासले जनाएको छ।

राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कार्यविधिमा सम्पूर्ण प्रक्रिया पूरा गरी माग पत्र प्रमाणीकरणका लागि आवेदन आउनुपर्नेमा हालसम्म प्रक्रिया पूरा गरेर कुनै पनी माग पत्र प्रमाणीकरणको लागि आवेदन नआएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ। रीतपूर्वक माग पत्र प्रमाणीकरणका लागि आवेदन आएको खण्डमा दूतावासले आवश्यक प्रक्रिया अघि बढाउने छ।’

राजदूतावासले नियतवस माग पत्र प्रमाणीकरण नगरेको भन्ने गलत सूचना फैलिएको भन्दै दूतावासको ध्यानाकर्षण समेत भएको जनाएको छ। वैदेशिक रोजगार विभागको अफिसियल वेबसाइट र दैनिक पत्रिकामा माग सम्बन्धी सार्वजनिक सूचना प्रकाशित नहुँदासम्म कुनै पनि व्यक्ति वा संस्थाको विश्वासमा परी निज व्यक्ति वा संस्थासँग आर्थिक कारोबार नगर्न नगराउन दूतावासले आग्रह गरेको छ।

माग सम्बन्धी आधिकारिकताका जाँच गर्नका लागि दूतावासमा समेत सम्पर्क गर्न सकिने छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024