कोरियास्थित नेपाली दूतावासले भन्यो- सीपयुक्त श्रमिक पठाउने मागपत्र प्रमाणीकरणका लागि आवेदन आएन

3 September, 2025

१७ भदाै, काठमाडौं । कोरियास्थित नेपाली राजदूतावासले कोरियामा सीपयुक्त श्रमिक पठाउनका लागि हालसम्म कुनै मागपत्र प्रमाणीकरण आवेदन प्राप्त नभएको स्पष्ट पारेको छ ।

सिओलस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रीतपूर्वक मागपत्र प्रमाणीकरणका लागि आवेदन आएमा दूतावासले आवश्यक प्रक्रिया अघि बढाउनेछ ।’ तर, अहिलेसम्म कुनै आवेदन नआएकाले दूतावासले जानाजान प्रमाणीकरण नगरेको भन्ने सञ्चारमाध्यममा आएको हल्ला पूर्ण रूपमा असत्य हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा सीपयुक्त कामदार पठाउने सम्बन्धी कार्यविधि, २०८० को तेस्रो संशोधन पारित गरी प्रक्रिया अघि बढाएको थियो ।

कार्यविधि अनुसार, विशेष योग्यता पूरा गरेका इजाजतप्राप्त संस्थाले मात्र ई–७ भिसा प्रणाली अन्तर्गत (मौसमी कामदारबाहेक) श्रमिक कोरिया पठाउन पाउनेछन् ।

संस्थाले आवश्यक कागजातसहित मागपत्र दूतावासमा पेश गरेपछि मात्रै दूतावासले प्रमाणीकरण गर्ने र त्यसपछि वैदेशिक रोजगार विभागमार्फत प्रक्रिया अघि बढ्ने व्यवस्था छ ।

श्रमिक पठाउँदा लाग्ने लागत र सेवा शुल्क हाल कायम रहेको ईपीएस प्रणाली अनुसार हुने र थप कुनै शुल्क नलाग्ने दूतावासले प्रष्ट पारेको छ ।

साथै, वैदेशिक रोजगारीसम्बन्धी ठगीबाट बच्नका लागि वैदेशिक रोजगार विभाग र दैनिक पत्रिकामा आधिकारिक सूचना प्रकाशित नभएसम्म कुनै व्यक्ति वा संस्थासँग आर्थिक कारोबार नगर्न दूतावासले आम जनतालाई सचेत गराएको छ ।

मागपत्रको आधिकारिकता जाँच गर्न दूतावाससँग सम्पर्क गर्न सकिने जानकारी पनि प्रदान गरिएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024