कोरियामा रहेका नेपालीहरूलाई दूतावासले भन्यो : सुरक्षित रहनू

23 February, 2020

चीनबाट फैलिएको कोभिड-१९ को संक्रमण दक्षिण कोरियासम्म पुगेपछि त्यहाँस्थित नेपाली राजदूतावासले नेपालीहरूलाई सुरक्षित रहन आग्रह गरेको छ।

शनिबारसम्म दक्षिण कोरियामा कोभिड-१९ को संक्रमण हुनेको संख्या चार सय नाघेपछि राजदूतावासले सतर्कता अपनाउन आग्रह गरेको हो। राजदूतावासले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड-१९ को संक्रमण रहेको शंका लागेमा सार्वजनिक स्वास्थ्य संस्थामा गई चेकजाँच गराउन आग्रह गरेको छ।

साथै, अवैधानिक रूपमै त्यहाँ बसोबास गर्दै आएकाहरूलाई पनि चेकजाँच गराउन आग्रह गरेको छ, भने उनीहरूलाई उपचारका क्रममा पक्राउ नगर्ने तथा स्वदेश नफर्काउने समेत दूतावासले बताएको छ।

‘कोरोनाभाइरसको संक्रमण भएको शंका लागेमा अवैधानिक रूपमा कोरियामा रहेका विदेशीहरू समेतले सार्वजनिक स्वास्थ्य संस्थामा चेकजाँच गराउन र सोको क्रममा पक्राउ नगर्ने, स्वदेश नफर्काउने तथा बिरामीको कानुनी हैसियतबारे नसोध्न अस्पतालहरूलाई निर्देशन दिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

राजदूतावासले आफ्नो वेबसाइटमार्फत् यस संक्रमणबाट बच्ने उपाय समेत प्रचार गरेको जनाएको छ।हाल दक्षिण कोरियामा कोभिड-१९ को कारण २ जानाको मृत्यु भइसकेको छ भने ४ सय ४३ जनामा संक्रमण फैलिएको छ।चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा संक्रमण पुष्टि भएको र दुई हजार ३ सय ४५ जनाको मृत्यु भइसकेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024