कोरियामा दसैं

6 Oct, 2014

दसैंपछि आउँछ अर्को चाड तिहार यसपालि नि रित्तै भो मेरो निधार ! 

विजया दशमीको दिन पर्वतका खिमप्रसाद भुसालले सामाजिक सञ्जालमार्फत यसरी निराशा व्यक्त गरे। ३ वर्षदेखि कोरियामा मजदुरी गर्दै आएका उनलाई दसैंको टीका गुमाउँदा पीडा हुन्छ। इलामकी हरिमाया पौडेलको निधारमा पनि यसपालि रातो टीका परेन। २ वर्षदेखि यहाँ कार्यरत उनले गाउँमा रहेका आमाबुबा र मान्यजनसँग ‘स्काइप’बाट आशीर्वाद लिइन्। भुसाल र पौडेलजस्तै कमाउने धुनमा यहाँ आएका धेरै नेपाली कामदारहरूको निधार हरेक दसैंमा रित्तै हुन्छ। परदेशमै भए पनि पाँचथर रानीटारका एकल यात्रीले काका पर्ने शिवप्रसाद बाँस्कोटाको हातबाट टीका थापे। संस्कृतिको जगेर्ना गर्न परदेशमै भए पनि मान्यजनबाट टीका लाउने गरेको यात्रीले बताए। मकवानपुरका रमेश उप्रेतीले बुसान क्षेत्रका करिब १५ जना नेपाली दाजुभाइलाई टीका लगाइदिए। त्यो क्षेत्रमा सबैको मामा भनेर चिनिएकाले उनले नै टीका लगाइदिने जिम्मा पाएका हुन्। उनले दक्षिणा मात्र २ लाख वन बाँडे।कोरियामा रहेका हिन्दु नेपालीहरूले बडा दसैं सामूहिक र संस्थागत रूपमा हरेक वर्ष मनाउँदै आएका छन्। नेपाली दूतावास र गैर आवासीय संघले हरेक वर्ष दसैं कार्यक्रम आयोजना गर्छ। यसपालि कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले विजया दशमीको दिन र आइतबार टीका लगाइदिए। सङबुकस्थित वाल्गोक खेल मैदानमा राजदूत लामाले विभिन्न क्षेत्रबाट आएका व्यापारी, मजदुर, समाजसेवीका साथै १७ औं एसियाड अवलोकन गर्न आएका पाँच महिला सभासदलाई समेत टीका लगाइदिए। उक्त अवसरमा गायिका समाला राई, गायक प्रकाश तिमिल्सिनाका साथै सुनाखरी सांगीतिक समूहले प्रस्तुति दिएका थिए।सधैंझैं यसपालिको दसैं किम्हे क्षेत्रमा चाहिं त्यति रमाइलो भएन। त्यहाँ ३ वर्षअघि कोरिया आएका चितवनका सेरफ गुरुङ इन्सेफ्लाइटिसका कारण अस्पतालमा छटपटाइरहेका छन्। दसैं मनाउनभन्दा पनि गुरुङ बचाउ अभियानमा त्यस क्षेत्रका नेपाली व्यस्त रहे। अभियानको नेतृत्व यज्ञराज सुवेदी, खेम कार्की र अशोक पोख्रेलले गरिरहेका छन्।प्यन्थेक सहरमा भने आइतबार दसैं भव्य भयो। प्यान्थेक प्रवासी मजदुर सहयोग केन्द्रले त्यसको चाँजो मिलाएको थियो। दोङदुचन क्षेत्रमा रहेका नेपालीहरूले काठमाडौं रेस्टुरेन्टमा कार्यक्रम आयोजना गरी शुभकामना आदानप्रदान गरे। 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024