कोरियामा कोमामा रहेका कमलको मृत्यु

19 August, 2025

दक्षिण कोरियामा कोमा रहेका उदयपुरको चौदण्डीगढी-५ बेल्हा निवासी कमल चौधरीको निधन भएको छ । विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमामा अचेत अवस्थामा रहेका चौधरीको निधन भएको हो ।

एकाएक ढलेपछि अस्पताल पुर्‍याइएका उनी अचेत अवस्थामै थिए । उपचारकै क्रममा उनको निधन भएको कोरियमा रहेका उनका सालो पुरूषोत्तम चौधरीले जानकारी दिए ।

कमल चौधरी कसरी र के कारणले अचेत भए भन्नेबारे उनको परिवार अनभिज्ञ थियो । अस्पतालमा निको हुने आशमा रहेको घर परिवार निधनको खबरले स्तब्ध बनेको छ ।

अचेत हुनुभन्दा एक महिना अगाडि नै उनले काम गर्दै आएको कम्पनी छोडेका थिए । त्यसपछि कामको खोजीमा छँदा कुनै सेल्टरमा बसिरहेको बेला यो घटना भएको हो ।

कोमामा रहेका बेला उनले हातखुट्टा अलिअलि चलाउने, आँखा झिमझिम गर्ने गरेका थिए ।

दक्षिण कोरियास्थित नेपाली राजदूतावासले घटनाबारे जानकारी पाउनासाथ कमलको परिवारसँग सम्पर्क गरेको थियो ।

नेपाली दूतावासका अनुसार कम्पनी छोडेर सेल्टरमा बसिरहेको अवस्थामा बेहोस रहेका उनलाई प्रहरीले एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको थियो । उपचारको क्रममा उनको टाउकोमा रगत जमेको देखिएको थियो ।

उनको निधनपछि उनको उपचारमा लागेको १६ लाख रूपैयाँभन्दा बढी खर्च तिर्नुपर्ने देखिएको छ । त्यो रकम तिर्न सक्ने अवस्था चौधरीको परिवारसँग छैन ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024