कोरियाबाट फर्केका १५ जना युवालाई कोरियन खाना बनाउने तालिम

12 August, 2025

कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था कोइका र कोरियाली मानव स्रोत विकास सेवा (एचआरडी) कोरियाले कोरियाबाट फर्केका युवाहरूलाई कोरियाली खानेकुरा तयार गर्ने तालिम प्रदान गरेको छ।

साउन १९ देखि २६ गतेसम्म तालिम प्रदान गरिएको हो।

रोजगारीका लागि कोरिया पुगेर फर्केका ७ पुरूष र ८ महिला गरी कुल १५ जना युवाहरूलाई एक हप्ताको तालिम उपलब्ध गराइएको हो।

कुल ४५ घन्टाको तालिममा सहभागीहरूले किम्ची, किम्बाब, कोरियाली स्ट्यू तथा ट्टोकबोकीजस्ता व्यञ्जनहरू तयार गर्न सिकेका हुन्।

यो तालिमले फर्किएर देशमै केही गर्न खोजिरहेकाहरूलाई पुनः एकीकरणका लागि सहयोग पुग्ने विश्वास कोरियाली अधिकारीहरूको छ।

युवाहरूमा उद्यमशीलता विकास हुने विश्वास समेत लिइएको छ। नेपालका लागि कोरियाली राजदूत पार्क तेयोगले तालिममा सहभागीहरूलाई बधाई दिए।

कोइका नेपालका देशिय निर्देशक कॉङ मु-ह्योनले तालिम छोटो अवधिको भए पनि व्यवहारिक र दिगो आधार तय गर्ने भएको बताए। यस्तै आप्रवासीहरूको विकास र आत्मनिर्भरतामा सहयोग पुग्ने अन्य कार्यक्रमका लागि पनि कोरियाले सहयोग गर्ने उनले बताए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाले यस्तो तालिमले युवाहरू सीप विकास भइ आत्मनिर्भर बन्न र देशमै टिक्ने अवस्था बनाउन सहयोग पुग्ने बताए।

‘कोरियाबाट फर्कनु भएका युवाहरूको इच्छा अनुसार तालिम प्रदान गरिएको छ। यस्ता अन्य क्रियाकलापमा पनि कोरिया सरकारको सहकार्य हुनेछ। यो राम्रो कुरा हो,’ उनले भने।

तालिममा सहभागी युवाहरूले सीप सिक्न पाउँदा निकै खुसी लागेको बताएका छन्। उनीहरूले छोटो अवधिको तालिम भए पनि उपयोगी भएकाले यसले आत्मनिर्भर बन्न सहयोग पुगेको बताएका छन्।

तारकेश्वर नगरपालिकाकी मायादेवी गुरूङले रहर लागेर तालिममा सहभागी भएको बताइन्।

उनी कोरियामा पाँच वर्ष काम गरेर फर्केकी हुन्। ‘कोरियन परिकार सिक्न मन लागिरहेको थियो। त्यहाँ छँदा सिक्न पाइएन, अहिले अवसर पाउँदा सिकें। अब सानो लागनी गरेर कोरियन परिकार बनाएर बिक्री गर्न सक्छु भन्ने हिम्मत जुटेको छ,’ उनले भनिन्।

पोखराका सन्तोष तिमल्सिनाले पनि तालिम लिए। उनले अब आफूले पोखरामा चलाइरहेको क्याफेमा कोरियन फुड बनाएर पस्किने सोचेका छन्।

‘मैले पोखरामा जुम्ली नामको क्याफे चलाइरहेको छु। कफी लगायत परिकार पस्किरहेको छु। खाजामा यो कोरियन खानेकुरा थप गर्दा अझ राम्रो हुनसक्छ भन्ने लागेर म पनि सिक्न आएको हुँ,’ उनले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024